टेक्सासमा भएको घटना निन्दनीय छ

प्रा.डा. दुर्गा दाहाल     २६ बैशाख २०७६, बिहीबार १७:१९    

प्रा. डा. दुर्गा दाहाल  –
              प्रसंग: डल्लास टेक्सासमा भर्खरै सम्पन्न  पत्रकार सम्मेलनको हो जहाँ एन. आर. एनका प्रत्याशी उम्मेदवारहरूको आपसी छलफल र बहसको पनि आयोजना गरिएको थियो । शुरूवात सुन्दर, शालीन र आकर्षक थियो तर अन्त्य कुरूप, भयावह र दुर्भाग्यपूर्ण भयो ।  नेजाले राम्रो गर्न खोजेको थियो तर अगाडि “न” आएर बसिदियो ।
टेक्सासमा भएको घटना निन्दनीय छ । सबै समस्या हरूको समाधान आपसी छलफल, सम्पर्क र स्वस्थ संवादबाट खोजिनु पर्छ । कसैले निर्वाचनमा जित्नलाई सर्वर डाउन गर्ने, फेक मतदाताहरू बनाउने, पैसाले मत किन्ने आदि अनैतिक, अनियमित र ग़ैर- कानुनी कार्यहरू गरेको छ भने त्यसता व्यक्ति हरूलाई कार्वाही गरि सँधैको लागि अयोग्य घोषित गर्नु पर्छ तर चुनावको मुखमा आएर कसैको अपमान, अनादर गरि वाद- विवाद गर्दै हातपात गर्ने दुष्प्रयास गर्नु हुन्न । यदि कसैमाथि आरोप लागेको छ भने त्यसको खण्डन गर्ने, सफ़ाई दिने अवसर र सुविधा सम्बन्धित व्यक्तिले पाउनु  पर्छ । यो अन्तराष्ट्रीय क़ानून र मान्यता हो । जबसम्म  आरोप लागेको कुरा प्रमाणित हुँदैन तब सम्म ऊ दोषी हुन्न र उस्लाई दण्डित गर्न मिल्दैन ।

NRN अर्थात Non-resident Nepalese (अप्रवासी नेपालीहरू जो देशभन्दा  बाहिर चर्छन, काम गर्छन, ठाऊँ सर्छन तर पनि स्वदेशकै लागि मर्छन )

यस्तो एउटा संस्था जहाँ नेपालीहरू मात्रै हुन्छन तर पनि आँफू – आँफूमै आफन्तहरू संगै लडछन र सर्वसम्मतिबाट नेपालीको हितमा केहि गर्न सक्तैनन । यस्तो विडम्बना  र दुर्भाग्य छ नेपालीहरूको: विदेशमा ।
एन. आर. एन एउटा अराजनैतिक नेपाली मात्रको हितकारी संस्था हो । यो धर्म, राजनीति, साम्प्रदायिकता र अन्य विभिन्न किसिमका संकीर्ण  घेराहरूबाट माथि रहने निष्पक्ष संस्था हो जस्ले विदेशमा रहेका समस्त नेपालीहरूको हित गर्छ तर यहाँ पनि अगाडि आएर “अ” बसिदिन्छ । कारण, हामी pre- judgmental हुन्छौँ र हामी अधिकाँशमा नकारात्मक ग्रन्थिहरू छन । हामीमा negative energy बढि छ र प्रत्येक गाऊँ र ठाऊँहरूमा हामी राजनीतिको र गुटबन्दीको होली खेल्छौँ ।
राजनीति पनि एउटा धर्म  र सेवा हो तर त्यो नीति राज्य चलाउनलाई अवलम्बन गरिन्छ । यहाँ हामी नेपालीहरूको राज्य स्थापित भएको छैन; अपितु एउटा नेपाली समाज र समुदाय मात्र छ । यहाँ राजनीति हैन; समाजनीति र अर्थनीति बलियो हुनु पर्छ । भर्खरै बसाई सरेको नेपाली समुदायलाई विदेशमा स्थापित गर्नु छ । अत: राजनैतिक रंग लिने र दिने कार्य किमार्थ उचित हुँदैन ।
हामी अमेरिकामा छौँ । अमेरिका संसारभरिकै सर्वश्रेष्ठ प्रजातांत्रिक र मानव अधिकारवादी राष्ट्र हो । यहाँ प्रजातांत्रिक मूल्य-मान्यता र परिपाटीहरूको अनुशीलन र अनुकरण गर्नु पर्छ । तर विडम्बना ! हामी अधिकाँश नेपालीहरू विदेशमा आएर पनि डलर त कमायौँ, घर- संपत्ति पनि जोडिउँ तर सभ्य र सुसंस्कृत हुन सकेनौँ । एकजुट भएर सामाजिक र सामुदायिक सेवा गर्न सकेनौँ । किनभने हामी सबैले नेपालको थोत्रो राजनीति र दरिद्र मानसिकता लिएर आएछौँ । मैले पनि पुरानो स्कूलको (thoughts of old school)  सोच, विचार, धारणा र मानसिकतालाई सम्पूर्ण रूपले त्याग्न सकि रहेको छैन तर प्रयत्नशील छु । क़रीब ९ प्रतिशत बाँकी छ सम्पूर्ण रूपले परित्याग  गर्न ।
विदेशमा हाम्रो सम्पूर्ण पहिचान “नेपाली” भन्ने प्यारो शब्दसंग छ । हाम्रो सिंगो परिचय “नेपाली” हुनु पर्छ । आफ्नो परिचय “ नेपाली” भनेर दिनु पर्छ । यो सामान्य ज्ञान र विवेकसंग सम्बन्धित छ । तर म आश्चर्यचकित हुन्छु जब एन. आर. एनको अध्यक्ष तथा पदाधिकारी हुन साथी हरूले यति धेरै मनमुटाव र वैमनस्यताको खेती गर्नु हुन्छ । समाजसेवा गर्ने यति  धेरै इच्छा
र लगनशीलता मित्र हरूलाई कहाँबाट मिल्छ ?  यो अदम्य उत्साह  र प्रेरणा कुन श्रोतबाट आऊँछ भन्ने विषयले मलाई पिरोल्छ ।
मेरो पनि कुनै राजनैतिक विचार, दर्शन र आदर्शसंग लगन छ । तर सामाजिक र सामुदायिक कार्यमा राजनीति  मिलाउन मेरो ब्रह्म र विवेकले दिंदैन । म चाहन्न र भयभीत हुन्छु ।
एन. आर. एन लाई कुनै पनि राजनैतिक समूहले प्रभावित र संचालन गर्नु हुन्न । यसो गर्नु राम्रो अभ्यास हैन । यो ग़ैर- राजनैतिक र नाफारहित पवित्र संस्थालाई प्रवासी नेपाली मंच, जन- सम्पर्क समिति अथवा अन्य कुनै राजनैतिक, धार्मिक, जातीय अथवा साम्प्रदायिक समूहले चलाउनु हुन्न । यस्लाई स्वतंत्र र निष्पक्ष रूपमा फस्टाउन दिनु पर्छ ।
नेपाली समुदायको हित चाहने साथीहरूले आँफू बसेकै सिटी (शहर) मा मनग्गे काम गरे हुन्छ । नि: स्वार्थ भावले सेवा गर्ने साथी हरूले अमेरिकाको मूल राजनीतिमा गए पनि हुन्छ । नेपालीहरूको कल्याण हुन्छ । तर, आफ्नो योग्यता, क्षमता र हैसियतै नभएका साथी हरूले पनि चन्द्रमा झारि दिन्छु भन्दा उद्देक लाग्छ ।
यहाँनिर मैले कसैको अपमान तथा मानमर्दन गर्न खोजेको हैन तर हरेक व्यक्तिले स्व-मूल्याँकन पनि गर्न  सक्नु पर्छ । त्यसो नहुँदा योग्य र सक्षम व्यक्तिलाई अवरोध उत्पन्न हुन्छ ।
* योग्यता के हुनु पर्छ त ?
१. पर्याप्त समय र सहिष्णुता २. बलियो र स्वच्छ पृष्ठभूमि ३. संचार क्षमता ४. कम्तीमा अंग्रेज़ी र नेपाली भाषाको सम्यक् ज्ञान र दक्षता ५. आर्थिक रूपले सम्पन्न ६. आधुनिक प्रविधिको ज्ञान ७. मृदुभाषी, लगनशील र प्रतिभाशाली ८. अराजनैतिक ढंगले जन- सम्पर्कमा माहिर ९. नेपाल र अमेरिकाको राजनीति, अर्थनीति, समाजनीति, भूगोल, इतिहास, संस्कृति र कुटनीतिका आधारभूत कुराहरू बुझेको आदि- इत्यादि ।
अब, हामीलाई इमान्दारीपूर्वक सोधौँ : हामी सबै प्रत्याशी हरूसंग उपर्युक्त गुणहरू छन ? छैनन भने बेपत्तामा किन उठ्नु ?  मेरो भनाईको तात्पर्य के हो भने जुन व्यक्ति हरूलाई आफ्नै बारेमा र एन. आर. एनको लक्ष्य, उद्देश्य र सिद्धान्तको बारेमा पर्याप्त ज्ञान छैन, किन उठ्नु ?
पैसा, पावर र पदको दुरूपयोग गर्न कसैले पनि उम्मेदवारी दिनु हुँदैन । लाज मान्नु पर्छ । आजसम्म निर्वाचित पदाधिकारी हरूले के- के गर्नु भो ? एउटा जाबो “परिचय पत्र” बनाउन सकि रहनु भाको छैन । द्वैध नागरिकता सम्बन्धी नियम- विनियमहरू बनाउन आवश्यकीय प्रेशर दिन सकि रहेका छैनौँ । स्थानीय संघ-संस्था र आफ्नै शाखाहरू ( local chapters ) लाई मज़बूत, जिम्मेवार र  पारदर्शी बनाउन सकि रहेका छैनौँ । एउटा भवन बालुवाटारमा बनेको छ तर विवादमा मुछियो भू- माफ़िया हरूको कारणले ।
म स्वयं पनि एन. आर. एनको आजीवन सदस्य , शुभेच्छुक र सकृय सदस्य हूँ तर प्रचारबाजी, गुटबन्दी र होडबाजी मन पर्दैन । शान्तिपूर्ण र सद्भावपूर्ण ढंगले यो संस्था हुर्केको हेर्न चाहन्छु ।
आजको मितिमा एन. आर. एन पन्ध्र वर्षको लाट्ठे भएछ तर बुद्धिबंगारो अझै पलाएको छैन ।
यो संस्थाको लक्ष्य महान तर पथ दुर्गम छ । नेतृत्व लिनु त्यति सजिलो हुन्न । यात्रा कठिन र चुनौतीपूर्ण छ ।
* किन फष्टाउन र झाँगिन सकेन यो संस्था ?
१. शुरूका वर्ष हरूमा यो हाउगुजी भएर आयो, के हो, के हो ?
२. शौख, शान र सहुलियतको विषय बन्यो
३. जन्मलग्नमै राजनीति  र गुटबन्दीमा फँस्यो
४. एन. आर. एन के हो ? सबै तह र तप्कालाई बुझाईएन
५. धनी र व्यापारीको मात्रै होला भन्ने भान भयो
६. धेरै वर्षसम्म धनाढ़्य, पूँजीपति र व्यापारी हरूको कब्जामा रह्यो
७. लक्ष्य र उद्देश्यहरू स्पस्ट भएनन
८. युवा पुस्तालाई समेट्न सकेन
९. भ्रष्टाचार, दुराचार र व्यभिचार भयो आदि- इत्यादि ।
( प्रा. डा. दुर्गा दाहाल स्वयं पनि एन.आर. एनका आजीवन सदस्य, सकृय अभियन्ता र शुभेच्छुक हुनुहुन्छ )

२६ बैशाख २०७६, बिहीबार १७:१९ मा प्रकाशित