‘नयाँ विधेयक अमान्य’

दूरबिन नेपाल     २७ बैशाख २०७६, शुक्रबार १३:३३    

बेत्रावती, २७ वैशाख  : नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन पुर्याउने गरेर निर्माण गर्न लागिएको नयाँ विधेयक मान्य नहुने बताउनुभएको छ ।

 

नेपाल प्रेस युनियन नुवाकोट शाखाको आयोजनामा आज विदुरमा आयोजित पत्रकार सम्मेलनमा डा महतले प्रेस र अभिव्यक्ति स्वन्तन्त्रता नागरिकको नैसर्गिक अधिकार भएकाले यसलाई कमजोर बनाउने गरेर सरकारले नयाँ व्यवस्था गर्न लागेकोप्रति असहमति जनाउनुभयो ।

 

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका महतले ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ समयसापेक्ष नभएको टिप्पणी गर्नुभयो । “विधेयक हुबहु कार्यान्वयनमा आए लोकतन्त्रको अनुभूति दिलाउने होइन कि पञ्चायत तथा राणाकालीन झल्को दिन्छ ।” उहाँले भन्नुभयो, “पत्रकार आबद्ध संस्थाले विरोध जनाउनुपर्छ र त्यसमा सबै पक्षले साथ दिएर विधेयकलाई असफल बनाउनुपर्छ ।”

(रासस)


२७ बैशाख २०७६, शुक्रबार १३:३३ मा प्रकाशित