एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरशिप अवार्ड २०१८’ स्थापना

दूरबिन नेपाल     १८ माघ २०७४, बिहीबार १४:२८ | ७२८ पटक पढिएको

अमेरिका, फेब्रुअरी १
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाले अमेरिकामा अध्ययनरत जेहेन्दार र नेतृत्व क्षमता भएका नेपाली विद्यार्थीहरूलाई लक्षित गरी  लिडरशिप अवार्ड स्थापनाको घोषणा गरेको छ ।

युथ लिडरशिप अवार्ड २०१८’ नाम दिइएको सो अवार्ड स्नातक तहमा (अन्डरग्रयाड) अध्ययनरत चार जना नेपाली विद्यार्थीहरुलाई प्रदान गरिने एनआरएनए अमेरिकाका युवा संयोजक तथा स्कलरशिप परियोजनाका टिम लिडर स्वराज खातीले बताए। संयोजक खातीका अनुसार सो अवार्डका लागि मनोनयनमा पर्न कम्तिमा अमेरिकी विश्वविद्यालय/कलेजहरुको चारबर्षे स्नातक कार्यक्रम अन्तर्गत भर्ना भएर कम्तिमा ३० क्रेडिट पुरा गरेको र ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ३.० वा सो भन्दा बढी भएका नियमित अध्ययनरत नेपाली वा नेपाली-अमेरिकन विद्यार्थी हुनुपर्ने छ। यस अतिरिक्त अवार्डका लागि आवेदन गर्न अमेरिकामा बस्न कानूनी हैसियत भएका, जस्तै-अमेरिकी नागरिकता भएका, स्थायी बसोवास अनुमति भएका वा एफ-१ भिसा भएका  विद्यार्थी हुनुपर्ने छ। 

नेपाली-अमेरिकन समुदायका युवाहरूको नेतृत्व विकास तथा उनीहरु मार्फत नेपाली भाषा, संस्कृति, कला एवं साहित्यको प्रबर्द्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको युथ लिडरशिप अवार्डको लागि फ्रेब्रुअरी १ देखि मार्च ३१, २०१८ सम्म आवेदन दिन सकिने व्यवस्था एनआरएनए अमेरिकाको  स्कलरशिप परियोजनाले गरेको छ। पाइलट परियोजनाका रुपमा शुरु गर्न लागिएको एक हजार डलरको नगद पुरस्कार सहितको युथ लिडरशिप अवार्डबाट अमेरिकाको चारवटै भौगोलिक क्षेत्र समेटिने गरी प्रत्येक क्षेत्रबाट एकजना नेतृत्व क्षमता भएको, विश्वविद्यालय वा कलेजमा नेपाली विद्यार्थी एशोसियशन वा अन्य संगठित संस्थामा रहेर नेपाल र नेपाली समुदायको लागि काम गरिरहेका जेहेन्दार विद्यार्थीलाई सम्मानित गरिने कार्यक्रम रहेको संयोजक खातीले दूरबिन नेपाललाई बताए। खाती सहितको आठजना युवा नेपालीहरु सम्मिलित स्कलरशिप कमिटीले आवेदन दिएका विद्यार्थीहरुको योग्यता परीक्षण गरेर योग्यता पुगेकाहरुको विवरण छनौट समितिमा पठाउने छ। छनौट समितिले जुन १, २०१८ मा अवार्ड बिजेता चार विद्यार्थीहरुको नाम घोषणा गर्ने व्यवस्था स्कलरशिप कमिटीले मिलाएको छ।

एनआरएनए अमेरिकाले पहिलोपटक शुरु गर्न लागेको युवा लक्षित यो कार्यक्रमले अमेरिकामा नै जन्मे-हुर्केका युवाहरुलाई समेत एनआरएनए अभियान लगाएत नेपाली-अमेरिकन समुदायका विविध गतिविधिहरु प्रति आकर्षित गर्ने संभावना बढाएको छ भने उनीहरुको नेतृत्व विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


१८ माघ २०७४, बिहीबार १४:२८ मा प्रकाशित