एन्फामा बरिष्ठ उपाध्यक्ष पद  ‘काउसाे’, पंकजको पदाेन्नती, वीरबहादुरको विद्राेह

बिष्णुहरि घिमिरे - दूरबिन नेपाल      ३१ बैशाख २०७६, मंगलवार १३:३४    

बिष्णुहरि घिमिरे – दूरबिन नेपाल 

अमेरिका, मे १४ ।  अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष पंकज विक्रम नेम्वाङ बरिष्ठ उपाध्यक्षमा पदाेन्नती भएका छन् ।  म‌ंगलवार बसेको कार्यसमितिको बैठकले  नेम्वाङलाई बरिष्ठ उपाध्यक्षमा सर्वसम्वत चयन गरेको एन्फाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यद्यपी बरिष्ठ उपाध्यक्षको ‘लाइनमा’ रहेका वीरबहादुर खड्का र उनी पक्षीय दुई केन्द्रीय सदस्यले कार्यसमिति बैठक बहिस्कार गरेको जनाएका छन् ।

एन्फाको विधानमा चार उपाध्यक्ष मध्ये एकलाई बरिष्ठमा मनाेनित गर्ने व्यवस्था छ । पंकज नेम्वाङ ‘एन्फा शुद्दिकरण अभियानका’ संस्थापक मध्येका हुन् । एन्फाका तत्कालिन अध्यक्ष गणेश थापाको आर्थिक अनियमिता विरुद्दको आन्दाेलनलाई मुर्तरुप दिन तत्कालिन समयमा ‘एन्फा शुद्दिकरण अभियान’ चलाईएको थियाे ।  जसको नेतृत्व एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए । शुरुवाती दिनमा सानाे समुहमा रहेकाे अभियानले अन्तत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन पाएको थियाे । साेही क्रममा एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा आर्थिक अनियमिताको आराेमा विश्व फुटवलको सर्वाेच्च निकाय फिफा र एशियाली फुटबल महासंघ एफसीबाट दश बर्ष सम्ममा फुटबल सम्वन्धी कुनै पनि गतिविधिमा लाग्न नपाउने गरि प्रतिवन्धीत भएका थिए ।

वीरबहादुर एन्फाको पछिल्लाे निर्वाचनको मुखमा मात्र कर्मा शेर्पा समुहमा भित्रिएका हुन् । ‘एन्फा शुद्दिकरण अभियानका’ समयमा वीर बहादुर गणेश थापाको रक्षाकवच नै बनेका थिए । गणेश थापा ‘कारवाहीमा’ परेपछि बाँकी कार्यकालका लागि भएको एन्फा अध्यक्षको  निर्वाचनमा कर्मा शेर्पा, नरेन्द्र श्रेष्ठ सँग पराजित भएका थिए । नरेन्द्र, गणेश थापाको समर्थनमा उमेदवार बनेका थिए । साे  निर्वाचनमा वीरबहादुर नरेन्द्रकै पक्षमा थिए । एन्फाको नियमित निर्वाचनको अन्तिम समयमा वीरबहादुरले मणि कुँवरलाई त्यागेर कर्मा समुहलाई साथ दिएका हुन् । मणि गणेश थापाका साला हुन् । चुनाव हार्ने निश्चित भए पछि मणिले मनाेनयन दर्ता गरि सके पछि पनि निर्वाचन बहिस्कार गरेका  थिए ।

‘जता काफल पाक्याे उतै चरी नाच्याे’ शैलीमा अन्तिम समयमा क्याम्प परिवर्तन गरेका वीरबहादुरलाई आफ्नाे समुहमा भित्राएकोमा साेही समयमा कर्मा समुह भित्र नै असन्तुष्टि देखिएको थियाे । एन्फाले म‌ंगलवार जारी गरेको विज्ञप्तीमा ‘  विधानको धारा ३५(१) बमोजिम रिक्त रहेको  पदमा संघका उपाध्यक्षहरुमध्येबाट पंकजविक्रम नेम्वाइलाई बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रुपले चयन गर्ने निर्णय पारित गरियो।’ भनिएको छ ।

 

तर आफु बरिष्ठ उपाध्यक्षमा पदाेन्नती नहुने भए पछि, वीरबहादुर समुहले विधानको कारण देखाउदै बैठक बहिस्कार गरेको जनाएकाे छ । वीरबहादुर समुहले एन्फाको नयाँ विधान वैधानीक नभएको आराेप लगाएको छ । गत साउन २९ गते चितवनको विशेष साधारण सभाबाट विधान परिमार्जन गरी पारित गरिएको थियो ।

उपाध्यक्ष वीरबहादुरले  लामोसमय बित्दा पनि विधानमा राष्ट्रिय खेलकुद परिषद्‍को छाप नरहेकाले त्याे विधान बैधानीक हुन नसक्ने जिकिर गरेका हुन् । वीरबहादुरलाई केन्द्रीय सदस्य पुर्णमान चित्रकार र रत्नकुमार श्रेष्ठले साथ दिइएको जनाइएको छ ।

उपाध्यक्ष पद ‘काउसो’ ? 

‘ बरिष्ठ उपाध्यक्ष पद’ एन्फाका लागि विवादको जड बन्दै गएको छ । एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा विरुद्दको आन्दाेलन ‘एन्फा शुद्दिकरण अभियानको’ कारक  पनि अघाेषित रुपमा ‘बरिष्ठ उपाध्यक्ष’ पद नै थियाे ।  तत्कालिन समयमा गणेश थापा र कर्मा छिरिङ एकै समुहमा थिए । गणेश थापाले ललितकृष्ण श्रेष्ठलाई ‘बरिष्ठ उपाध्यक्षमा’ पदाेन्नती गरे पछि कर्मा छिरिङ बिच्किए । साेही बिच्काइले, एन्फा शुद्दिकरण अभियानले ठाेस रुप पायाे ।

 

यस पटक कर्मालाई बरिष्ठमा पंकज र वीरबहादुर मध्ये कसलाई पदाेन्नती गर्ने भन्नेमा ठूलाे दवाव दियाे । चितवन साधरण सभामा नै वीरबहादुर झण्डै झण्डै बरिष्ठ बनेका थिए । साेही समयमा पंकज र उनको समुहले बिद्राेह गर्ने सुइको पाए पछि कर्मा पछि हटेका थिए । त्यस पछिका समयमा  एन्फा शुद्दिकरण अभियानका सहयात्रीहरुले सार्वजनीक रुपमा नै कर्माको आलाेचना गर्न थालेका थिए ।

 

अन्तिम समयमा मणि कुँवर समुहबाट कर्मा समुहमा आएका वीरबहादुरलाई फुटबलको विकास भन्दा पनि पदको लाेभले क्याम्प चेन्ज गरेको आराेप लागेको थियाे । अहिले वीरबहादुरले ‘खुलेर’ बरिष्ठ नपाएकाेमा आफ्नाे असन्तुष्टि भनेका छैनन् । उनले पनि एन्फाको विधान, आर्थिक अनियमिताको आराेप लगाएका छन् । जुन आराेप पाँच बर्ष अगाडि कर्मा छिरिङ समुहले गणेश थापालाई लगाएको थियाे ।

 

कर्मा छिरिङ समुहले गणेश थापा समुहलाई लगाएको आराेप प्रमाणित भइनै सकेको छ । अब वीरबहादुरको कपिपेष्ट आराेप प्रमाणित हुन्छ कि ‘रिसको झाेक मात्र’ त्याे समयले देखाउला । तर एउटा कुरा चै के पक्का भएको छ भने एन्फाको ‘बरिष्ठ उपाध्यक्ष’ पद फुटबल विवादलाई मलजल गर्नका लागि मुख्य कारण बन्ने पक्का भएको छ ।


३१ बैशाख २०७६, मंगलवार १३:३४ मा प्रकाशित