अमेरिका-चीन व्यापार युद्धको नकारात्मक प्रभाव अमेरिकी शेयर बजारमा अमेरिकी किसानहरुले राष्ट्रपति ट्रम्पलाई भनेका छन्- ‘राष्ट्रपति महोदय अब यसरी अगाडि जान सकिन्न’

दूरबिन नेपाल     ३१ बैशाख २०७६, मंगलवार १२:५१    

अमेरिका, मे १४/ गतसाता अमेरिकामा भएको व्यापारवार्ता बिफल भएसंगै अमेरिका-चीन व्यापार युद्धले नयाँ मोड लिएको छ। राष्ट्रपति ट्रम्पले वार्ता जारी रहेकै बेला करीब २०० अर्ब अमेरिकी डलर बराबरको चीनियाँ सामानमा आयातकर बढाउने घोषणा गरेर चीन माथि दबाव सृजना गर्न खोजेका थिए। तर चीन यो मामिलामा टस-मस हुनेवाला देखिएको छैन। उसले आज ६० अर्ब डलरका करीब ४,००० प्रकारका अमेरिकी वस्तुहरुमा आयातकर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत वा बढी बनाउने घोषणा गरेर अमेरिकासंग जारी व्यापार युद्धबाट पछि नहट्ने संकेत गरेको अमेरिकी संचार माध्यम सिएनएनले जनाएको छ।

चिनीयाँ घोषणाको प्रभाव तत्काल अमेरिकी शेयर बजारमा एकै पटक ६१७ अंकले गिरावट आएर शुरु भएको छ। राष्ट्रपति ट्रम्पले अमेरिकी उपभोक्तालाई बढेको कर नतिरीकन अमेरिकी उत्पादन बजारबाट उठाउन भनेपनि यसले न्यूयोर्क स्थित वालस्ट्रिट स्टक मार्केट सूचकांकमा तत्काल गिरावट आउनबाट रोक्न सकेन। चीनको ताजा घोषणाको असर विशेषत अमेरिकी किसानहरुलाई पर्ने देखिन्छ। चीनले अमेरिकी कृषि उत्पादनहरुमा कर बढाउने बित्तिकै कैयन अमेरिकी किसानहरु हतोत्साही देखिएका छन् र उनीहरुले राष्ट्रपति ट्रम्पलाई भनेका छन्- ‘राष्ट्रपति महोदय अब यसरी अगाडि जान सकिन्न।’

तर ‘अमेरिका पहिले’ भन्ने नीतिको अगुवाई गर्ने राष्ट्रपति ट्रम्प चीनसंग जारी व्यापारिक असमझदारी चीनलाई दबावमा राखेरै कमगर्ने रणनीतिमा देखिन्छन् भन्ने उनका ताजा ट्वीटहरुले संकेत गरिरहेका छन्। उनले आज बिहान मात्र सामाजिक संजाल ट्वीटरमा भनेका छन्- ‘सही समय आएपछि चीनसंग व्यापार ‘डील’ हुनेछ। चिनीयाँ राष्ट्रपतिप्रति ठूलो सम्मान छ उनीसंग मेरो राम्रो मित्रता पनि छ, तर उनलाई मैले धेरैपटक यसबारेमा भनेको छु व्यापार डिल संभव हुन त्यो अमेरिकी हितमा पनि हुनु पर्छ, नत्र केही हुँदैन।’

राष्ट्रपतिको ट्वीटबाट साभार

तस्बिर: सिएनएन


३१ बैशाख २०७६, मंगलवार १२:५१ मा प्रकाशित