बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ : ‘प्रचण्ड’

दूरबिन नेपाल     ३ जेष्ठ २०७६, शुक्रबार १३:०१    

काठमाडौँ, ३ जेठ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताउनुभएको छ ।

 

छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा आज मदननगरमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभयो ।

 

अन्तर्राष्ट्रिय रुपमा मार्क्सवाद सङ्कटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उहाँ लोकप्रिय हुनुभएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकोण दिनुभएको हो ।” नयाँ परिस्थितिअनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र हामी वैज्ञानिक सश्लेषण गर्न समर्थ हुन्छौँ”, उहाँले भन्नुभयो ।

 

मुलुकमा सामाजिक न्याय, सामाजिक सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष दाहालले एकता भाँड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकोणका कारण कसैको केही नलागेको बताउनुभयो ।

 

उहाँले एक वर्ष अगाडि दुई पाटी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिएको भए पनि प्राविधिक कारणले ढिलो भएको जानकारी गराउँदै जनवर्गीय सङ्गठनको एकता हालै गरिएकाले अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महीनाभित्र महाधिवेशन सम्पन्न गरिने योजना रहेको बताउनुभयो ।

 

सङ्गठनको तल्लो तहसम्म जनतालाई जोड्ने र उत्पदनशील क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने, उनीहरुलाई विकास र समृद्धिको यात्रामा सहभागी गराउने अध्यक्ष दाहालको भनाइ थियो ।
रासस


३ जेष्ठ २०७६, शुक्रबार १३:०१ मा प्रकाशित