अनेसासको आसन्न महाधिवेशन र दिशानिर्देश

प्रा.डा. दुर्गा दाहाल     ९ जेष्ठ २०७६, बिहीबार २२:०४    

प्रा.डा. दुर्गा दाहाल
                    निःसन्देह अनेसास ( अन्तराष्ट्रीय नेपाली साहित्य समाज ) विश्वका सबै मुलुकहरूमा नेपाली भाषा, साहित्य , कला र सँस्कृतिलाई विस्तार गर्न चाहन्छ । यो उद्देश्य पवित्र र महान छ तर पथ त्यति सरल र सहज छैन । यस्का निम्ति लक्ष्य, उद्देश्य, कार्यक्रम र योजना चाहिन्छ र मुख्यरूपले कार्यक्रमहरूलाई तर्जुमा गर्न सक्नु पर्छ । तर्जुमा गर्ने कार्य सबैभन्दा जटिलतम हुन्छ । पदाधिकारी र कार्यक्रमहरूको मूल्याँकन र अनुगमन पनि अत्यन्त ज़रूरी हुन्छ ।
अबको अन्तराष्ट्रीय साहित्य सम्मेलन अगस्त महिनाको ३,४,५ मा लण्डनमा हुन गई रहेको छ । अनेसासको वर्तमान कार्यसमिति सन्तुलित छ तर केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू बिच कार्यगत एकता र सहमति हुनु अत्यावश्यक छ ।
सम्माननीय सुमल  कुमार गुरूंग लण्डनमा हुने महाधिवेशनको संयोजक हुनुहुन्छ । उहाँ कुशल संयोजक र निष्ठावान साहित्यकार र समाजसेवी हुनुहुन्छ । उहाँकी सहधर्मिणी सारा गुरूंग पनि अत्यन्त मिलनसार, मृदुभाषी र कुशल आयोजक हुनुहुन्छ । अत: मित्र सुमलजी र बैनी सोनाको संयोजकत्वमा आसन्न महाधिवेशन निकै प्रभावकारी, सफल र उपलब्धिमूलक हुने आशा, अपेक्षा  र विश्वास गरिएको छ ।
विश्वका विभिन्न मुलुक र शहरहरूमा अनेसासका शाखाहरू खोलिए, खोलिंदैछन र भविष्यमा पनि खोलिनेछन । तर ती शाखाहरु कति सकृय छन, जीवन्त र कृयाशील छन कि छैनन र तिनीहरूले तत्-तत् स्थानमा के कति उदाहरणीय, उल्लेखनीय र स्वागतयोग्य कार्यहरू गरि रहेका छन भन्ने कुरा प्रमुख हुन्छ । अन्यथा शाखा र संगठनहरू खोल्नुको कुनै औचित्य र उपादेयता हुन्न । केन्द्रले शाखाहरुलाई कत्तिको उत्साहित, उत्प्रेरित र अनुप्राणित गरि रहेको छ र उनीहरूको बिचमा सहजसंवाद भई रहेको छ कि छैन भन्ने कुरा पनि खोजीको विषय हो । जन्मदिनु भन्दा पनि नवजात शिशुहरूको लालन-पालन र भरण-पोषण झन महत्वपूर्ण र प्रभावकारी हुन्छ ।
अनेसासका जन्मदाता तथा संस्थापक अध्यक्ष होमनाथ सुवेदी लगायत यस अघिका सबै अध्यक्षहरू खासगरि गीता खत्री र पदम विश्वकर्माका पालाहरूमा धेरै शाखाहरु विस्तार भएको कुरालाई नकार्न सकिन्न । उहाँहरू धन्यवादका पात्र हुनुहु्न्छ । हामी उहाँहरू प्रति कृतज्ञ हुनै पर्छ तर ती खोलिएका शाखाहरु अद्यपरिमित जीवित छन कि छैनन र तिनीहरूले सकृयतापूर्वक काम गरि रहेका छन कि छैनन भन्ने कुराको मूल्याँकन र अनुगमन हुनु ज़रूरी छ ।
अनेसासका पाँचवटा सम्मेलनहरू विश्वका विभिन्न देशहरूमा भईसकेका छन र अब हुने सम्मेलन छैठौँ हुनेछ । विगतका सम्मेलनहरुको उपलब्धि के भयो, के रह्यो र उक्त सम्मेलनहरूले  कस्तो सन्देश दियो र त्यसपछि के- कस्ता सुधारहरू भए भन्ने कुराको लेखा-जोखा पनि हामीले राख्नु पर्छ ।
हरेक दुईवर्षमा एकपटक भेला हुने, कार्यक्रम गर्ने, फुलका माला र खादा लगाउने, कतिपय पुस्तकहरू विमोचन गर्ने, भाषण-भूषण गर्ने र फ़ेसबुकमा  आकर्षक फोटाहरु राख्ने कार्यहरूले मात्रै अधिवेशन अथवा सम्मेलनको औचित्य र सार्थकता साबित हुन सक्तैन ।
यद्यपि अनेसासका अग्रज र पृष्ठपोषक हरूले अद्यपरिमित नेपाली भाषा, साहित्य, संस्कृति, कला र कौशललाई अन्तराष्ट्रीयकरण गर्ने गहन ज़िम्मेवारी र कार्यकुशलताको हामी सबैले मुक्तकण्ठले प्रशंसा गर्न किंचित पनि कंजुस्याँई गर्नु हुन्न र उहाँहरू अनेक धन्यवादका पात्र हुनुहुन्छ तर विश्व साहित्यमा हामीले अनुवाद साहित्य र खोज साहित्य मार्फ़त जसरी नेपाली साहित्यलाई स्थापित र अन्तराष्ट्रीयकरण गर्न सक्नु पर्थ्यो, त्यसमा हामी चुकि सकेको र गर्न नसकेको तीतो सत्यलाई पनि हामीले आजको दिनमा स्वीकार्दै आगामी दिनहरूमा, कार्यक्रम, सम्मेलन, अधिवेशन र महाधिवेशनहरूमा यी विषयहरूमा केन्द्रित हुनु अपरिहार्य भई सकेको छ ।
अत: अब हुन गईरहेको लण्डन  अधिवेशनलाई मध्यनजर राख्दै अनेसासको कार्यसमिति र महाधिवेशनका संयोजक सुमल गुरूंग र उहाँको समितिमा रहेका सम्बन्धित साथीहरूलाई केही सल्लाह-सुझाव र परामर्शहरू दिने धृष्टता गरेँ ।
                  * यो जोसंग सम्बन्धित छ *
महाधिवेशनमा निम्नलिखित विषयहरूमा छलफल केन्द्रित हुनु पर्छ:
१. विश्वसाहित्यको मंचमा नेपाली  साहित्य आज कहाँनिर कुन स्थितिमा छ र भोलीको दिशानिर्देश कतातिर र कसरी हुनु पर्छ ?
२. नेपाली साहित्यलाई कसरी अन्तराष्ट्रीयकरण गर्ने ?
३. नेपाली साहित्यलाई अनुवाद साहित्य मार्फ़त कसरी विश्व साहित्यमा अवतरण गराउने ?
४. नेपाली भाषा र साहित्यले स्वदेश र परदेशमा भोग्नु परेका समस्या र चुनौतीहरु के-के हुन र यिनीहरूको निराकरण कसरी गर्ने ?
५. आजको अधिवेशनले विश्वभरका नेपाली समुदायलाई कस्तो र के सन्देश दिनु ज़रूरी छ ?
६. अधिवेशनमार्फत साहित्यिक सहभागीहरूले घर फर्किंदा कुन, कस्तो र के सन्देश ( home take message ) लिएर फर्किने र सातौँ सम्मेलनमा आउँदा कुन गृहकार्य ( homework/ assignment ) पूरा गरेर फर्किने ।
७. घरदेश र परदेशमा साहित्यकारहरूले राष्ट्रनिर्माणमा कस्तो र कुन किसिमको भूमिका निर्वाह गर्नु पर्छ ? आदि-इत्यादि ।
* सुझावहरू:
१. लण्डन शाखालाई स्वतंत्रतापूर्वक काम गर्न दिनु पर्यो । केन्द्रबाट कुनै हस्तक्षेप, प्रभाव र नियंत्रण गर्नु भएन तर प्रशस्त सुझाव दिनु उपयुक्त हुन्छ ।
* उद्घाटन समारोहका दिन लण्डनमा रहेका सबै भाषा-भाषी र साहित्यका मुर्धन्य व्यक्तित्व हरूलाई बोलाउनु उपयुक्त हुनेछ । यसोगर्दा अन्तराष्ट्रीय जगत र स्थानीय सरकारलाई हाम्रो सन्देश पुग्नेछ । साधारणतया हाम्रा सम्मेलन र अधिवेशनमा हामी नेपाली हरूमात्रै एकापसमा छलफल गरि रहेका हुन्छौँ । अब अन्तराष्ट्रीय स्तर र समुदायका  साहित्यिक मंचहरूसंग पनि हाम्रो विचारको आदान-प्रदान हुनु ज़रूरी छ ।
२. त्यहाँ हुने भनिएका सत्रहरूमा ( sessions )  स्थानीय नेपाली साहित्यकार र सहभागीहरूलाई प्राथमिकता दिनु वाँछनीय हुनेछ । केन्द्रीय पदाधिकारीहरूले केवल पृष्ठपोषण र सहजीकरण मात्रै गर्नु उपयुक्त हुन्छ । हरेक समयमा मंचमुखी हुने कार्यलाई निरुत्साहित गर्नु ज़रूरी छ ।
३. यो कार्यक्रम लण्डनस्थित Greenwich  शहरको निकटवर्ती स्थानमा हुन गई रहेकोले समयको महत्वलाई मध्यनजर राख्तै हरेक कार्यक्रम समयमै शुरू गर्ने र समयमै सक्ने अनुशासनलाई क़ायम गर्नु पर्छ ।
४. अधिवेशनमा पुस्तकहरूको विमोचन, एकभन्दा बढी कार्यपत्रहरूको पट्यारलाग्दो पाठ र व्यक्तिहरूको लामो परम्परावादी सम्बोधन गर्नु  समयको बर्बादी र कृत्रिमता देखिने हुनाले यस्ता कार्यहरूलाई निरुत्साहित गर्नु उचित देखिन्छ । लेखक र रचयिताहरूले आ-आफ्नो देश र शहरहरूमा कृति विमोचित गर्नु राम्रो हो । तर अन्तराष्ट्रीय स्तरको विख्यात कृति भएको खण्डमा एउटासम्म कृति विमोचन गर्दा आपत्तिजनक नहोला ।
५. एउटै व्यक्तिले भाषणमा लामो पाण्डित्य र विद्वता देखाउने भन्दा पनि Panel discussions र Inteactions का कार्यक्रमहरू राखेर  विदेशबाट लामो दुरी, समय, शक्ति र ख़र्च गरेर आएका सबै साथीहरूलाई विचार, धारणा र  सुझाव हरू अभिव्यकत गर्ने  अवसर प्रदान गर्नु पर्छ ।
५. Participatory approach अनुसार छलफलका शीर्षकहरू छानिनु पर्छ र सबैको उपस्थिति, विचार र भावनाको क़दर गरिनु पर्छ ।
६. भाषा- साहित्यसंग असम्बन्धित विषयवस्तु हरूलाई बलपूर्वक कसैको आदेश, निर्देश र ठाडो हस्तक्षेपद्वारा समावेश गरिनु हुँदैन । यदि कसैका व्यक्तिगत रूचि-अभिरुचिका विषयहरू छन भने विहान ७ बजेभन्दा पहिले अथवा बेलुकी ७ बजे पछि आफ्नै तत्परता र तदारूकतामा राखे हुन्छ ।
स्मरण रहोस: अन्तराष्ट्रीय महाधिवेशन भनिएको हुनाले अन्तराष्ट्रीय स्तरकै मर्यादा , महिमा, कार्यक्रम र गरिमा क़ायम गर्नु पर्छ । सबैको साथ, सहयोग र समर्थनमा लण्डनको कार्यक्रमलाई सभ्य र भव्यरूपले समापन गर्नु  हामी सबैको साझा जिम्मेवारी र कर्तव्य  हो ।
केवल मूकदर्शक भएर ताली पडकाउनका लागि मात्रै साहित्यकारहरू  अन्तराष्ट्रीय सम्मेलन र अधिवेशनहरूमा सहभागी हुँदैनन । केही सुन्न र भन्न, आफना विचारहरू राख्न पनि निकै लामो दुरी तय गरेर सहभागीहरू उपस्थित हुने भएकाले हामीले सबैका कुरा सुन्ने हिसाब किताबले सहभागीतामूलक कार्यक्रमहरु (participatory approach-based  programs) राख्नु पर्छ । एउटै व्यक्ति मंचमा बारम्बार आउने, मुख देखाउने र अनावश्यक कुराहरू निरन्तर रूपमा बोलि रहने अभ्यासलाई निरुत्साहित गर्नु पर्छ ।
७. समाजसेवा र साहित्यसेवा स्वयंसेवा भएको हुनाले यो अनेसासले आगामी कार्यकालका लागि भरसक  निर्वाचनमा नगई सर्वसम्मतिबाट प्रशस्त समय भएका, नेतृत्व क्षमता भएका, कुशल संचार क्षमता भएका , रूचि र इच्छा भएका, आर्थिक  रूपले सक्षम भएका उपयुक्त पात्रहरुलाई अनेसास हाँक्ने ज़िम्मेवारी यही अधिवेशनले दिन सके उत्तम हुनेछ यद्यपि यसमा सर्वसम्मति हुनु त्यति सहज र स्वाभाविक देखिन्न तर प्रयत्न गर्दा हुनेछ ।
८. साहित्य र संगीत जुम्ल्याहा दिदी- बहिनी भएका हुनाले संध्या ७ बजे पश्चात सांगीतिक गीत- संगीत, वाद्य-वादन र नृत्यका कार्यक्रमहरू राख्ता जायज़ र मनासिव होला ।
९. मनुष्य जीवनमा योग- साधना, आयाम-व्यायाम, ध्यान र  प्रवचनका कार्यक्रमहरूले सकारात्मक  सोच र प्रभाव पार्ने भएकाले ब्रह्ममूहुर्त देखि प्रात:काल ७ बजेभन्दा पहिल्यै राख्नु हुन विशेष अनुरोध गर्दछु !
१०. लण्डन घोषणापत्र जारी गरि हाम्रा अन्तराष्ट्रीय स्तरका दिवंगत र जीवित साहित्यकार र उहाँहरूका सर्वश्रेष्ठ कृतिहरूको खोजी गरि अनुवाद साहित्य मार्फ़त उजागर गर्ने कार्यलाई प्रतिज्ञापत्रका रूपमा पारित गर्दै त्यसलाई अविलम्ब जारी गर्नु  उचित हुनेछ ।
११. उद्घाटन कार्यक्रममा चार जात छत्तीस वर्णका विविध झाँकीहरु देखाउने, दुर्लभ नेपाली सामान र वस्त्रादि देखाउने र  अनुपम किसिमका वाद्ययंत्रहरू बजाउनु निकै आकर्षक हुनेछ ।
( प्रा.डा. दुर्गा दाहाल अंग्रेज़ी  र नेपाली साहित्यका ज्ञाता र अनेसास बोर्ड अव ट्रष्टीका सल्लाहकार हुनुहुन्छ )

९ जेष्ठ २०७६, बिहीबार २२:०४ मा प्रकाशित