गोपाल श्रेष्ठले चुमे सगरमाथाको चुचुरो, एचआइभी संक्रमण बाधक हुन सकेन स्टेप-अप क्याम्पेन: भिक्ट्रि एगेन्ष्ट एचआइभी अभियान अन्तर्गत श्रेष्ठको सगरमाथा आरोहण

सुजन पण्डित/दूरबिन नेपाल     ११ जेष्ठ २०७६, शनिबार २३:३३    

गोपाल श्रेष्ठले चुमे सगरमाथाको चुचुरो, एचआइभी संक्रमण बाधक हुन सकेन

सुजन पण्डित/ दूरबिन नेपाल

केही बर्ष पहिलेसम्म मान्छेहरु सोच्थे, एचआइभी संक्रमण भएपछि जीवन सकियो, उसले सक्रिय जीवन जिउन पनि सक्दैन भन्नेहरु थुप्रै भेटिन्थे। तर, सत्य त्यो होइन, एचआईभी संक्रमण हुँदैमा उसले सामान्य मानिसले झैं कुनै साहसिक काम गर्न सक्दैन भन्ने भ्रमलाई पोखराका गोपाल श्रेष्ठले असत्य साबित गरिदिएका छन्। 

PlutonicTech

२५ वर्ष अघि एचआइभी संक्रमित भएका ५६ बर्षीय श्रेष्ठले गत बुधबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेक्दै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।एचआइभी संक्रमितहरुले निकै गर्वका साथ भन्ने भनाई- ‘एचआइभी संक्रमण जीवनको अन्त्य होइन, यो त नयाँ जीवनको शुरुवात हो’ लाई साँच्चै गोपाल श्रेष्ठले चरितार्थ गरेर देखाई दिएका छन्। संभवत श्रेष्ठ नै पहिलो व्यक्ति हुन्, जसले एचआइभी संक्रमितका हैसियतमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सकेका छन्। 

आत्मबल दरो भयो भने जस्तो सुकै संक्रमणले पनि केही गर्न सक्दैन भन्ने राम्रो उदाहरण हुन्  पोखरेली गोपाल श्रेष्ठ। १९९४ (विसं२०५०/५१) तिर एचआइभी संक्रमण भएको खुलासा गर्न सहज थिएन। सामाजिक लान्च्छना र भेदभाव यति चरम थियो कि  एचआइभी संक्रमण/एड्स भएको थाहा भएमा उनीहरुलाई घर/समाजबाटै बहिष्कृत हुनुपर्ने अवस्था थियो। पंक्तिकार आफैं कैयन यस्ता घटनाको साक्षी थियो कि जुन सभ्य समाजमा कल्पना सम्म गर्न सकिंदैनथ्यो। एचआइभी संक्रमण हुने बित्तिकै एड्स हुन्छ र मान्छे तुरुन्तै मर्छ, साधारण मानवीय व्यवहारबाट रोग सरिहाल्छ भन्ने गलत बुझाइका कारण कैयन एचआइभी संक्रमितहरुले चरम सामाजिक अवहेलना र लान्च्छना भोगेका छन्। लास जलाएको धुवाँबाट समेत एचआइभी सर्छ भनेर एड्सका कारण मृत्यु भएकाहरुलाई हिन्दु संस्कार अनुरूप जलाउन नदिएर लास गाड्न बाध्य पारिएको घटना आँखै अघि देखेको यो पंक्तिकारले करीब १५ बर्ष एचआइभी रोकथाम तथा उपचार परियोजनाहरुमा काम गर्दा देखे भोगेका ह्रदय बिदारक घटनाहरु धेरै छन्। 

मान्छेलाई रोगले होइन अज्ञनताले मार्छ’ भन्ने भनाई एचआइभी संक्रमण भएकाहरुप्रति सभ्य, शिक्षित र ज्ञानी भनिएकाहरुबाट गरिएको छिछी-दूरदूरबाट सहजै अनुमान लगाउन सकिन्छ। 

Bhatta Law & Associate

असल परामर्श, सही उपचार, हेरचाह अनि माया र सद्भावपूर्ण सामाजिक एवं पारीवारिक व्यवहारले कैयन एचआइभी संक्रमितहरुले सहज र सक्रिय जीवन जिइरहेका छन्। राजिव काफ्ले (जसले पहिलो पटक सार्वजनिक रुपमा आफूलाई एचआइभी भएको घोषणा गरेका थिए), दिक्षा रिमाल, निर्मला पौडेल, गोपाल श्रेष्ठ, सुरेश लामा, अच्युत सिटौला जस्ता कैयन एचआइभी संक्रमित अगुवाहरुको आत्मविश्वास र उनीहरुले समाज र एचआइभी/एड्सको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ/संस्था र मिडियाबाट पाएको रोकथाम र उपचार सहयोग  एवं हौसलाका कारण नेपालमा धेरै एचआइभी संक्रमितहरुले दीर्घ जीवन पाएका छन्। 

अन्तराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग ( यूएसएआइडी) को सहयोगमा फेमिली हेल्थ इन्टरनेशनल (एफएचआई ३६०) अन्तरगतको एचआइभी तथा यौनजन्य रोग रोकथाम तथा उपचार कार्क्रममा काम गर्दा निकै नजिकबाट चिनिएका सामाजिक कार्यकर्ता हुन् गोपाल श्रेष्ठ। नेशनल एशोसियसन अफ पिपल लिभिंग विथ एचआइभी एण्ड एड्स (NAPN+), कम्यूनिटी सपोर्ट ग्रुप, नौलो घुम्ती, आइएनएफ, एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) लगाएत संस्थासंग प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले आबद्ध रहेका श्रेष्ठको दरिलो आत्मविश्वास र निरन्तर प्रयासले गर्दा नै उनलाई सर्वोच्च शिखर आरोहणको सफलता मिलेको हो। यस अघि २०१५ मा पनि सगरमाथा आरोहणका लागि बेसक्याम्पसम्म पुगेका श्रेष्ठ त्यो बेला आएको महाभूकम्पका कारण सामान्य घाइते भएर आरोहण परित्याग गरेर फर्कन बाध्य भएका थिए। यसअघि ६ हजार मिटर आसपासका हिमालको सफल आरोहण गरेर अनुभव बटुलेका श्रेष्ठले दोश्रो प्रयासमा सगरमाथाको चुचुरो चुमेका छन्। 

समग्र एचआइभी संक्रमितहरु र एचआइभी र एड्सका क्षेत्रमा काम गर्नेहरुको हौसला बुलन्द पार्न सफल र अदम्य साहस भएका गोपाल श्रेष्ठलाई  स्टेप-अप क्याम्पेन: भिक्ट्रि एगेन्ष्ट एचआइभी अभियान अन्तर्गत ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका फुर्वा तेन्जिङ शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकोमा हार्दिक बधाई। 

    

तस्बिर: गोपाल श्रेष्ठ, संचारकर्मी विमला भण्डारी तथा सामाजिक अभियन्ता पदम पहारीको फेसबुकबाट


११ जेष्ठ २०७६, शनिबार २३:३३ मा प्रकाशित