अध्यक्षमा पराजित सूर्य सम्साल असन्तुष्ट

दूरबिन नेपाल     १३ जेष्ठ २०७६, सोमबार ०५:३२    

 

अमेरिका ।

एनआरएनए अमेरिकामा भर्खरै सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी सूर्य सम्सालले निर्वाचनको परिणाममा असन्तुष्टि जनाउँदै अदालतसम्मै जान सक्ने चेतावनी दिएका छन् । न्युयोर्कमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्षका प्रत्यासी लम्सालले २ हजार ९३ मतदाताको बारेमा पुनः छानबिन हुनुपर्ने माग निर्वाचन अगावै गरेको दाबी गरे ।

उनले आफ्नो असन्तुष्टिका बारे गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय परिषद् आइसीसीमा उजुरी दिएको बताए । लम्सालले पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै निर्वाचनकै समयमा मतदाताको गोप्य विवरण सार्वजनिक भएको जस्ता विषयमा पनि आफूले आवाज उठाएको दाबी गरे ।

आफ्नो उजुरीबारे निष्पक्ष छानबिन नभए आफू अदालत सम्मै जानसक्ने चेतावनी दिए । लम्सालले सम्पन्न निर्वाचनको पूर्णतामाथि नै आशङ्का गर्दै आफूले निर्वाचन परिणाम सार्वजनिक पछिपनि आयोगसँग सम्पर्कको प्रयास गर्दा पनि त्यो सफल नभएको गुनासो गर्दै आइसीसीले आफ्नो मागको सुनुवाइ गर्ने आश्वासन दिएको र अब त्यसको जवाफ मात्र पर्खिएको बताए । तर एनआरएनए अमेरिकाको सदस्यता विवाद निरूपण गर्न आइसीसीको निर्देशनमा अध्यक्षका प्रत्यासीका प्रतिनिधि सम्मिलित डाटा भेरिभिकेशन समितिले दिएको रिपोटमा पनि कुनै पनि सदस्य गलत ढङ्गले प्रवेश गरेको नदेखिएको उल्लेख छ । तर २०९३ सदस्य कसले भेरिफाई ग¥यो भन्ने स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ । भेरिफिकेशन समिति गठन हुनु अगाडि सदस्य बनिसकेका सदस्य समितिले छानबिन गरेको भए पनि पछि बनेको सिस्टममा कसले भेरिफाइ ग¥यो भन्ने नदेखिएको संस्थापन पक्षले दाबी गर्दै आएको छ । यही मुद्दा उठाएर निर्वाचन सार्न गरेको प्रयास असफल भएपछि लम्साल एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टसँग पनि रुष्ट देखिएका छन् । आवश्यक छानबिन पनि गर्दै गरौँ र निर्वाचन नरोकौं भन्ने भट्टको अडान पछि एनआरएनए अमेरिकाको निर्वाचन सम्भव भएको लम्सालले प्रस्ट गरे । पत्रकार सम्मेलनमा लम्सालले भने “उहाँले बोलेको रेकर्ड र माइनुट माग गरेको छु ।”

तर निर्वाचन परिणामलाई अध्यक्षका अर्का प्रत्यासी सञ्जय थापाले भने स्वीकार गरी मतदातालाई धन्यवाद समेत दिइसकेका छन् । निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा एनआरउनए उत्तर अमेरिका संयोजक (आरसी) गौरी जोशीले निर्वाचन आयोगलाई धन्यवाद पनि दिइसकेका छन् । डिआरसी नवीन शेरचनले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा मतदातालाई धन्यवाद दिएका छन्  । एनआरएनए अमेरिकाको मे १८ र १९ तारिखमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा सुनिल शाह, वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडे तथा महासचिवमा पशुपति पाण्डे सहित २४ जना निर्वाचित भएका छन्   ।


१३ जेष्ठ २०७६, सोमबार ०५:३२ मा प्रकाशित