निर्वाचनबाट सञ्जय थापालाई फाइदै फाइदा

दूरबिन नेपाल     १८ जेष्ठ २०७६, शनिबार १४:००    

समाचार टिप्पणी

 

         अमेरिका ।

यस पटकको निर्वाचन परिणामलाई आलोचनात्मक समर्थन गरेका अध्यक्षका पराजित उम्मेदवार सञ्जय थापा एनआरएनए अमेरिकामा चतुर खेलाडीको रूपमा उदाएका छन् । हुन त उनी नेपालमा हुँदा पनि तत्कालीन एमालेको एउटा समूहका चल्तापुर्ता खेलाडी नै थिए । ७ हजार भन्दा बढी सदस्यले मतदान गरेको एनआरएनए अमेरिकाको यो निर्वाचनमा प्रवासी मञ्चले तेस्रो स्थानमा करिब १५ सय मतमा प्रभाव पारेको देखिन्छ । जनसम्पर्क समिति निकटको प्रभावमा झन्डै दुई तिहाइ मत रहँदा पनि थापा निकट ५ जना सदस्य निर्वाचित भए । थापा समूहले सोचे भन्दा यो अप्रत्याशित जित निस्कियो ।

आफ्नो हार निश्चित हुँदा हुँदै पनि कसैको दावाव र प्रलोभनमा नपरी सन्जाय थापाले निर्वाचनको सामना गरेकै कारण यो परिणाम सम्भव भएको हो । आफ्नो समूहलाई नै निर्वाचनमा हेल्दा प्रवासी मञ्चको सङ्गठन र शक्ति बिस्तार त भयो नै त्यो भन्दा पनि थापा एउटा धारको नेताको रूपमा अमेरिकामा स्थापित भए । एनआरएनए अमेरिका भित्र र बाहिर दुवै ठाउँमा दह्रो प्रतिपक्षको भूमिकामा पनि छन् अहिले थापा ।

सस्तो लोकप्रियताका लागि अरूलाई खुइल्याउनलाई मात्र सामाजिक सञ्जालतिर पोतिने आधारहीन हल्काफुल्का मुद्दालाई उचाल्ने वा आम प्रवासी नेपालीको हितमा उपयोगी वजनदार मुद्दा अगाडि लिएर एनआरएनए अमेरिकालाई सही मार्गमा हिँडाउन जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने थापाको हातमा छ । आफूले निर्वाचन हारेर पनि साङ्गठनिक र राजनीतिक जित निकालेर फाइदै फाइदाको व्यापार गरेका थापाले अमेरिका भित्र शक्तिशाली देखाउन खोज्नेहरूलाई यस पटक राम्रै पाठ सिकाइदिएका छन् ।

रोचक पक्ष के छ भने सबैलाई थाङ्नामा सुताएर आफ्नो पकेटका पात्रलाई मात्र जिताउने चण्डालहरूको साइज हेरेर थापाले हैसियत नापि दिए । साथीभाइहरूसँग गफगाफमा थापाले भन्ने गरेका छन् “चण्डालहरूको जालमा पर्नेहरू घर न घाटको भएका छन् । उनीहरूले निस्कन नसक्ने गरी दलदलमा फसाउँछन् भन्ने मलाई थाहा थियो । मैले समयमा नै यो कुरा बुझे । म पनि एक समयको एउटा गुटको राम्रै खेलाडी हुँ नि ।”

चुनाव हुनै नदिने वा लम्ब्याएर एनआरएनए अमेरिकाको अस्तित्व नै समाप्त गर्ने आरसी गौरी जोशी र हरिबोल भण्डारी पक्षको योजनालाई कहिलेकाहीँ साथ दिए झैँ गरे । जसरी पनि निर्वाचन गरेरै छोड्ने संस्थापन पक्षसँग पनि मिले झैँ गरेर निर्वाचनबाट नभाग्ने र परिणामलाई स्वीकार गर्ने भन्दै थापाले दुवै पक्षलाई ढाडस दिँदै आपसमा भिडाएर हुर्मत लिए । आफ्नो काँधमा चढेर सफलताको शिखर चुम्न खोज्नेहरूको थापा टाउकोमा चढ्न भ्याए । यही रणनीति उनको समूहका लागि सफलताको कडी बन्यो । एनआरएनए अमेरिकामा सानो सङ्ख्यामा रहेको प्रवासी मञ्चले पाँच जनालाई निर्वाचित गर्न सफल भयो । अर्का तर्फ दुई तिहाइ बढी प्रभाव भएको नेपाली जन सम्पर्क समिति निकट पराजित सदस्यहरू भने अहिले एकले अर्कोलाई सहयोग नगरेको आरोप लगाउँदै आपसमा भिडिरहेका छन् ।

नवनिर्वाचित कार्यसमिति भित्र अर्थपूर्ण उपस्थिति र बाहिर पनि प्रतिपक्षमा उभिएर थापाले कतिपयलाई भूमिका विहीन बनाइदिएका छन् । त्यसैका लागि केही दिन पहिला निर्वाचनका समयमा उठेका केही हल्का फुल्का मुद्दालाई बजारमा फालेर आफू प्रतिपक्षमा उभिएको सन्देश पनि थापाले दिइसकेका छन् ।

तस्बिर: फेसबुकबाट


१८ जेष्ठ २०७६, शनिबार १४:०० मा प्रकाशित