गलबन्दी पछि अन्जली अधिकारी अमेरिकामा नयाँ रूप र लुक्समा

अमृतजंग कुँवर     २१ जेष्ठ २०७६, मंगलवार ०६:२०    

अमृतजंग कुँवर

 

अमेरिका ।
दोहोरी गीत गलबन्दीको म्युजिक भिडियोबाट चर्चाको शिखर चुमेकी मोडल अन्जली अधिकारीले अमेरिकामा वस्ने नेपालीद्वारा निर्मित अर्को म्युजिक भिडियो ‘अलि अलि काली’मा अभिनय गरेकी छन् ।

गलबन्दीमा लजालु स्वभावको अभिनयले अनगिन्ती फ्यान फलोअर्स बनाएकी अन्जलीको अलि अलि कालीमा ठिक विपरीत धारको आधुनिक नृत्य गरेकी छन् ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएकी गायिका इशा कार्कीले आफ्नो नयाँ गीत अलिअलि काली सार्वजनिक गरेपछि अन्जली नयाँ रूप र लुक्समा दर्शक माझ छाएकी छन् । इशाको आफ्नै रचना, सङ्गीत र स्वर रहेको उक्त गीतमा सङ्गीतकार आमोश तामाङले सङ्गीत संयोजन गरेका छन् ।

गलबन्दीको अप्रत्याशित सफलताले साङ्गीतिक दुनियाँमा नयाँ तरङ्ग ल्याइरहेको बेला त्यसैमा अभिनय गरेकी मोडेल अन्जली अधिकारी तथा रविन विष्टको अभिनय रहेको अलि अलि काली गीतले पनि माइलेज पाउने अनुमान गरिएको छ । म्युजिक भिडियोलाई मनोज विष्टले निर्देशन गरेका छन् ।

इशा कार्कीले अमेरिकामा विभिन्न स्टेज प्रोग्रामहरू गर्दै आएपनि यो उनको पहिलो अफ़िसिअल म्युजिक भिडियो हो । गीत सङ्गीतलाई मानव जीवनमा ऊर्जा र उत्साह थप्ने साथै आनन्दको सञ्चार भर्ने माध्यम ठान्छिन् इशा । आर्जनको माध्यम भन्दा पनि दर्शक र श्रोतालाई मनोरञ्जन दिएर मन जित्न सकेमा मात्र आफू सफल हुने इशाको विश्वास छ ।


२१ जेष्ठ २०७६, मंगलवार ०६:२० मा प्रकाशित