अमेरिकी सीमामा एक महिनामा एक लाख ३० हजार आप्रवासी पक्राउ

दूरबिन नेपाल     २३ जेष्ठ २०७६, बिहीबार १४:००    


वासिङ्टन, २३ जेठ – अमेरिकी सीमा सुरक्षा अधिकारीहरूले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा 
पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार ५४२ जना, बालबालिका ११ हजार ५०७ जना र एकल वयस्क व्यक्ति ३६ हजार ८३८ जना रहेका छन् ।

यो संख्या अप्रिल महिनाको तुलनामा ३४ प्रतिशत बढी हो । अप्रिलमा ९९ हजार ३०४ जना पक्राउ परेका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी प्रवेशमाथि कडाई गरे पनि त्यो रोकिएको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिकाली सरकारमाथि पनि अवैध आप्रवासीलाई नियन्त्रण गर्न दबाब दिइरहनुभएको छ । अध्ययनहरुले अधिकाँश आप्रवासीहरु मेक्सिको समेत मध्य–अमेरिकी राष्ट्रबाट आउने गरेको देखिएको छ । 

मेक्सिको सरकारमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पले आगामी जुन १० देखि लागू हुनेगरी अमेरिका प्रवेश गर्ने मेक्सिकाली सामानमा ५ प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइसक्नु भएको छ । 

अमेरिकी दबाबपछि मेक्सिकाली विदेश मन्त्री मार्सेलो एब्रार्डले अमेरिकी उपराष्ट्रपति माइक पेन्स समेतका उच्च पदाधिकारीसँग भेटवार्ता गर्नु भएको छ । 

मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि प्रयास जारी राखेको र हजारौं मध्यअमेरिकीलाई उनीहरुकै देश फर्काएको जनाएको छ ।
(रासस-सिन्ह्वा)

२३ जेष्ठ २०७६, बिहीबार १४:०० मा प्रकाशित