कसले जिते ? किन हारे ? एनआरएनए निर्वाचन एक दृष्टी जोड घटाउ, तिगडमबाजी र घात प्रतिघातको चर्चा

बन्धु पोख्रेल     २६ जेष्ठ २०७६, आईतवार १९:२८    

बन्धु पोख्रेल

         एनआरएन अमेरिकाको निर्वाचन भरखर सम्पन्न भएको छ तर त्यसा भएका जोड घटाउ, तिगडमबाजी र घात प्रतिघातको चर्चा भने अझै सेलाएका छैनन । अमेरिका सदस्य संख्याका हिसाबले संसारको सबभन्दा ठूलो एनआरएन भएर पनि एनआरएनको नेतृत्वमा यसको पहुँचको हिसावले यो उलेख्य भूमिकामा रहन नसकेको यथार्थ हामी बाट छिपेको छैन । अमेरिकामा कति नेपाली बसोबास गर्छन भन्ने यकिन तथ्यांक नभए पनि तीन लाख भन्दा बढी नेपाली अमेरिकामा छन भन्ने अनुमान गरिएको छ । सो संख्यालाई मध्य नजर गर्ने हो भने अहिलेको सदस्य संख्यामा सन्तोष मान्न सकिने अबस्था छैन । किन अमेरिकामा बसेका अधिकॉस नेपाली एनआरएनए प्रति आकर्षित हुन सकेनन र ठूलो एनआरएनए भएर पनि आइसिसीमा बलियो उपस्थिति जनाउन सकेन अमेरिकाले भन्ने बिषयमा गहन छलफल र बहस हुनु आबस्यक छ ।

अमेरिकी एनआरएनएलाई नेपालका राजनैतिक दलका भातृ संगठनहरुले आफ्नो अनुकुल बनाउन खोज्दा यस्तो भएको ठान्नेहरु धेरै छन तर कुरा त्यतिमा सिमित छैन । हुनत प्रवासी नेपाली मन्चले शुरुमै प्यानल बनाएको थियो ( सबै पदमा उमेदवारी थिएन) तर अध्यक्षका प्रत्याशीले त्यसलाई प्यानल नभई बिचार मिल्नेको समूह भन्ने गरेका थिए । जन सम्पर्क समितिले पनि प्यानल बनाएको चर्चा त चल्यो तर ब्यबहारमा त्यस्तो स्थिति देखिएन । जन सम्पर्क समितिका सभापति र पूर्व संयोजकको समर्थन एकातर्फ थियो भने बरिष्ठ उपाध्यक्ष र महासचिवको समर्थन अर्को तर्फ । जन सम्पर्क समितिमा सभापति कुनै उमेदबारको पक्षमा नदेखिउन्जेल अहिले आधिकारिक जन सम्पर्क समिति नै छैन भन्नेहरु पनि पछि जन सम्पर्क समितिका सभापति बोली सकेपछि त्यहि आधिकारिक भनाई हो भन्न पछि परेनन । अर्को पक्षले भने आधिकारिक निर्णय भएको छैन भनेर बक्तब्य नै निकाल्यो ।

जन सम्पर्कका हामी नै हौं भन्नेहरुले पनि सदस्यका उमेदबारहरुमात्र होइन पदाधिकारीहरुमा पनि आफ्नो अनुकुलका उमेदवारको पक्षमा मात्र वकालत गर्दै हिंडेको देख्दा संगठनमा आश्था राख्नेहरुमा अन्यौलता सिर्जना भएको थियो जसको कारण छ जना सदस्यहरु विजयी अध्यक्षका भन्दा अन्य प्रत्याशीका प्यानलबाट आउन वातावरण बन्यो । सदस्यका प्रत्याशीहरुले समूहलाई जिताउने भन्दा बाह्र जनालाई दिनु पर्ने दिन मिल्ने मत आफूलाई मात्र वा आफ्नो निकटका दुइ चार जनालाई मात्र दिने गरेकाले अनुमान गरिएको भन्दा फरक परिणाम आयो भन्नेहरुको कुरा पनि केहि हद सम्म सत्यको नजिक छ । केही अग्रणी हुँ भन्नेहरुले भाषणमा हाम्रा आधिकारिक उमेदवार भनेर प्रचार गरेकै उमेदवारको बिपक्षमा मत दिन मतदाताहरुलाई दबाब दिएको कुराले नैतिकताको सबालमा ठूलै चर्चा पायो । त्यसो त प्रबासी नेपाली मन्च भित्रको बिबाद पनि जन सम्पर्क समिति कै जस्तो खुला रुपमा बाहिर नआए पनि आफ्नै उमेदबारलाई हराउन नेतृत्व तहकै व्यक्तिहरु लागेको बिषयले पनि राम्रै चर्चा बटुल्यो ।

यस भन्दा पहिले अरुले जय नेपालको अभिवादन टक्र्याउँदा नमस्कार भनि फर्काउने व्यक्तित्वहरु यस पटक “जय नेपाल” भन्ने लेख्ने गरेको देख्दा जन सम्पर्क समितिका केहि व्यक्तिहरुले अाफूले अमुक उमेदवारलाई बोकी रहँदा गल्ति नगरेको देखाउन नेपालका कुनै राजनैतिक दल वा भातृ संगठनसंग नजोडिएका व्यक्तिहरुलाई पनि जन सम्पर्कको मान्छे भनाउनको खातिर “जय नेपाल” लेख्न बोल्न बाध्य पारेको हो वा चुनाव जित्न आफै त्यसो गरेको हो वा वास्तब मै अव जन सम्पर्क समितिको समर्थक बनेको हो सो भविष्यमा खुल्दै जानेछ । हुनत कतिपय उमेदवारले जय नेपाल नभनी यहॉ चुनाब नजितिने रहेछ त्यसैले मैले पनि जय नेपाल भन्न शुरु गरें भनेको पनि सुनिए कै हो ।

अर्को तर्फ जसरी पनि चुनाब रोक्नु पर्छ भन्ने पनि जन सम्पर्क कै नेता अहोरात्र खटेर चुनाव हुने वातावरण तयार गर्ने पनि जन सम्पर्क कै नेता, यी सबै कुराले जन सम्पर्क समिति पहिले भन्दा झन बढी यस निर्वाचनमा चर्चाको शिखरमा रह्यो । आफू हारेर पनि पॉच जना सदस्यलाई चुनाब जिताउन सफल हुनु र बिभिन्न परिस्थितिको बाबजुद उमेदवारीमा अडिग रहनुले प्रवासी नेपाली मंचको नेतृत्वको पनि उच्च मुल्यांकन भएको छ ।

आखिर एनआरएनए अमेरिकाको बिबाद यस्तो चरम बढी किन त ? आइसिसीको निर्वाचनमा अमुक व्यक्तिलाई विजयी बनाउन अधिकॉस प्रतिनिधि मैले आफ्नो अनुकुलका बनाएर ल्यॉउँछु भनेर कसैले सौदाबाजी गरेका कारण यस्तो भएको हो भनेर अड्कल काट्नेहरु धेरै छन । कसै कसैले त यस पटकको मात्र होइन आगामी दुइ तिन अवधि पनि आफ्नो अनुकुल बनाइ राख्ने व्यक्ति वा समूहको दाउ पेचका कारण यस्तो स्थिति आयो भनी टिप्पणी गरेको पाइयो । तर स्वस्थ प्रतिस्प्रधा गराएर आशालाग्दा व्यक्तिहरुलाई ल्याउनु पर्छ भनेर निस्वार्थ रुपले लागि परेका नेतृत्व तहका साथीहरुको भूमिकालाई पनि एनआरएन अमेरिकाको चुनावमा कम ऑक्न मिल्दैन ।

आइसिसीका पदाधिकारीमा अमेरिकाको उपस्थिति २०१५ मै सुनिश्चित ठानिएको थियो तर आन्तरिक कलह कै प्रतिफल दुइ जना उमेदवार अमेरिका बाटै हुँदा रित्तो हात फर्किनु पर्यो । २०१७ मा त अझै अँघि बढेर एउटै पदमा ३ जना उमेदबार अमेरिका बाटै कसरी कल्पना गर्नु विजयको ।

एनआरएन अमेरिका नै एक यस्तो संस्था हो जसले ४ बर्षमा चारवटै मुद्दा झेली सकेको छ । अहिले एनआरएनलाई मायॉ गर्ने अमेरिकी नेपालीहरुमा जिज्ञास छाएको छ कसरी सकिएला एनआरएनमा भएको चरम बिबादलाई कम गर्न ? कसरी नेपालको प्रजातान्त्रिक/ सामाजिक आन्दोलनमा अहम भूमिका निर्वाह गरेका व्यक्तिगरु जो अमेरिकामा

छन उनिहरुलाई एनआरएन अभियानमा सरिक गराउन सकिएला ? एनआरएनएलाई आम अमेरिकी नेपाली बीच पुर्याउन सकिएला ? यी प्रश्नहरुलाई केन्द्र बिन्दुमा राखेर नव निर्वाचित समितिले काम गर्न सक्नु पर्छ र त्यसो हुन सक्यो भने भोलीका दिनमा एनआरएन प्रतिको आकर्षण बढेर सबैको संस्था बनाउन सकिने कुरामा आशा गर्न सकिन्छ ।

आइसिसीको निर्वाचनमा कसरी जाने सो संबन्धमा पनि यहीं छलफल हुनु जरुरी छ । हुन त कसैलाई उमेदबार हुन वा नहुन, कसैलाई समर्थन गर्न वा नगर्न बाध्य पार्न त सकिंदैन तर पनि अमेरिकाबाट थोरै उमेदवार बनाउँ अनि जितेर ल्याउँ भने रणनीति उपयुक्त हुन सक्छ । बिना सल्लाह धेरै जना उमेदवार हुँदा फलानो पनि उमेदवार भनेर प्रचार त हुन्छ तर त्यो क्षणिकता मै चित्त बुझाउने स्थिति निश्चित प्राय हो । उमेदवार हुनेले उमेदवार भै सके पछि त्यसमा हुने प्रत्यक्ष्य अप्रतक्ष्य लगानीको पनि पर्वानुमान गरेकै हुन्छ तर हार निश्चित नै छ भने किन त्यसो गर्ने र त्यो उर्जा अन्य फलदायी बनाउन सकिने कुरामा लगानी किन नगर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्व पूर्ण छ । यावत कुराहरुमा एक पटक घोत्लिएर सोंचौं र गहन छलफल गरौं । सिमित उमेदवार उठाएर सबैजना लाग्यौ भने यस पटक आइसिसीका महत्वपूर्ण पदमा अमेरिकाको दह्रो उपस्थिति हुने कुरामा द्विविधा छैन ।


२६ जेष्ठ २०७६, आईतवार १९:२८ मा प्रकाशित