गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्छ : अध्यक्ष बिजुक्छे

दूरबिन नेपाल     ३१ जेष्ठ २०७६, शुक्रबार १३:५४    

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजदेखि शुरु भएको ‘नेशनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सरकारले गुठी जग्गामा मोही किसानले नै पाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष बिजुक्छेले जग्गाबाट उठेको कर जनताकै लागि खर्च गर्नुपर्ने बताउनुभयो । आर्थिक समृद्धिको नाराले मात्र देशको विकास नहुने उहाँको भनाइ थियो । ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक व्यवस्था राजनीतिक व्यवस्थाद्वारा निर्देशित हुने भएकाले देशको राजनीतिक, आर्थिक र भौतिक शक्ति समाज केन्द्रित गर्दै लैजानुपर्ने बताउनुभयो । सरकारले आर्थिक ऐन संशोधन गरी कालो सूचीमा परेकालाई बोलपत्रमा भाग लिन नपाउने, काम सकिएको पाँच वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने, मुद्दा खेपिरहेका ठेकेदारले टेन्डरमा भाग लिन नपाउनेलगायत व्यवस्थालाई महिना नबित्दै खारेज गर्दा बेइमान ठेकेदारको मनोबल बढेको उहाँको भनाइ थियो ।

भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीले नगरपालिकाले भक्तपुरको कला–संस्कृति संरक्षण तथा सम्पदा पुनःनिर्माण तीव्ररुपमा अगाडि बढिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी उपरीक्षक सविन प्रधान, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सम्मेलनमा प्राडा पुष्कर बज्राचार्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँंडेल, डा निर्मल रावत, नेपाल राष्ट्र बंैकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायतले ३६ कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।


३१ जेष्ठ २०७६, शुक्रबार १३:५४ मा प्रकाशित