गुठी विधेयक फिर्ता लिन सांसदको आग्रह

दूरबिन नेपाल     २ असार २०७६, सोमबार १३:०६    

काठमाडौँ, २ असार (रासस)
  ः नेकपाका वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपालले आज प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गर्नुभएको छ ।
सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेको र विधेयकका कारण जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गर्नुभएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदहरुले जोड दिनुभएको थियो ।

२ असार २०७६, सोमबार १३:०६ मा प्रकाशित