एनआरएनए हेर्न काँग्रेसले उच्चस्तरीय समिति बनाउने पार्टी र जनसम्पर्कलाई सहयोग गर्न समिति गठन

दूरबिन नेपाल     १७ असार २०७६, मंगलवार १४:४५    

अमेरिका ।

सङ्गठनका हिसाबले हरेक पक्षमा कमजोर र एनआरएनएको विषयमा त चासो सम्म नदिने नेपाली काँग्रेसले यस पटक भने पार्टीका शुभेच्छुक र सहयोगीहरू मिलेर आएमा एनआरएनए आइसीसीको निर्वाचनमा आवश्यक सहयोग गर्ने जनाएको छ ।

उपाध्यक्ष विमलेन्द्र निधी, महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता विश्व प्रकाश शर्मा, लगायत ९ जना काँग्रेस केन्द्रीय सदस्यहरूको उपस्थितिमा गत साता डेनमार्कमा भएको बैठकले यस्तो निर्णय गरेको हो । एनआरएनएको आसन्न निर्वाचनलाई लक्षित गरेर पार्टीले केही पदाधिकारी सम्मिलित हाइलेभलको समिति निर्माण गर्ने उनीहरूले बताएका छन् ।

यसका लागि विश्वभर रहेका आफ्ना जनसम्पर्क समितिलाई परिचालन गर्न, नेशनल कोर्डिनेशन काउन्सिल एनसीसीमा अगाडि बढ्न चाहनेलाई सहयोग गर्न, विवाद मिलाउँदै साझा उम्मेदवार बनाउन र पार्टीसँग समन्वय गर्ने जिम्मेवारी सहित एनआरएनए हेर्न तीन सदस्य समिति बनेको छ । समितिको संयोजकमा दिल बहादुर गुरुङ, सदस्यमा बेलायतबाट विश्व आदर्श पण्डित र अमेरिकाबाट विष्णु सुवेदी रहेका छन् ।

विष्णु सुवेदीले दूरबिन नेपालसँग कुरा गर्दै भने “एनआरएनए आइसीसीमा रहेका फरक विचार धाराका केही पदाधिकारीहरूले नेपाली जन सम्पर्क निकटका उम्मेदवारहरूलाई एनआरएनएमा उचाल्ने, भिडाउने र फुटाएर कमजोर बनाउन प्रयास गरिरहेको जानकारी पार्टीका नेताहरूलाई अवगत गरायौं । सबै कुरा बुझेपछि नेपाली काँग्रेस यस पटक मौन नबस्ने भएको हो । त्यसैले जनसम्पर्क समितिको तर्फबाट एनआरएनए हेर्न पार्टीले हामी तीन जनालाई जिम्मेवारी पनि दिएको छ ।”

नेपाली काँग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा डेनमार्कमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ९ जना केन्द्रीय नेता र २४ देशका २ सय ५ प्रतिनिधि सहभागी भएका थिए । सबै देशका प्रतिनिधिले एनआरएनएको आसन्न निर्वाचनमा जन सम्पर्क समिति र पार्टी रमिते मात्र भएर बस्न नहुने सुझाव दिए ।

त्यस पछि उपाध्यक्ष विमलेन्द्र निधी र महामन्त्री शशाङ्क कोइरालाको समान खालको निर्देशनात्मक अभिव्यक्ति आयो । “आफ्ना निकट उम्मेदवारलाई मिलाएर एनसीसीमा निर्वाचित गराउने प्रयास गर्नुस् । आइसीसीमा पनि मिलाएर अगाडि बढाउनुस् र मिलाउन सक्नु भएन भने पार्टीले खटाएको समितिले गरेको निर्णयलाई स्वीकार गर्नुस् ।” निधी, कोइराला लगायतका केन्द्रीय नेताहरूको सुझाव र निर्देशन पछि नेपाली जन सम्पर्क समितिले एनआरएनएको निर्वाचनमा आफ्नो सक्रियता बढाउने जनाएको छ ।

त्यसै समयमा डेनमार्क पुगेका एनआरएनए आइसीसीका उपाध्यक्ष कुल आचार्य लगायतका केहीलाई भने काँग्रेस र जनसम्पर्क समितिको यो भेलाले थप उत्साहित बनाएको छ ।

 


१७ असार २०७६, मंगलवार १४:४५ मा प्रकाशित