अध्यक्ष डाक्टर पौडेलले मैदानमा आउन दिए चुनौती

दूरबिन नेपाल     १८ असार २०७६, बुधबार १६:०३    

अमेरिका ।

एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले आफ्नो दुई कार्यकाल सकिन केही दिन मात्र बाकी रहँदा एक विज्ञप्ति जारी गर्दै साधारण सभामा आएर चाहाना बमोजिमको सुधार गर्न सबैलाई आह्वान गरेका छन् । केही व्यक्तिहरू संस्था र नेतृत्वलाई वद्नाम गर्न मात्र लागिपरेको उल्लेख गर्दै डाक्टर पौडेलले साधारण सभामा उपस्थित भएर संस्थाको विधि विधान र प्रक्रियालाई कहाँ मिचियो पुष्टि गर्न चुनौती दिएका छन् । पौडेलले आफ्नो नेतृत्वमा भएका दुई दर्जन भन्दा बढी कामको फेहरिस्त समेत विज्ञप्तिमा समेटेका छन् ।
पौडेलद्वारा जारी विज्ञप्ति यसै साथ संलग्न गरिएको छ ।

 

आदरणीय गैर आवासीय नेपाली सङ्घ अमेरिकाका सदस्य ज्यूहरू , 
अमेरिका निवासी गैर आवासीय नेपाली आमा बुबा, दाजु भाइ तथा दिदी बहिनी 
एवं सञ्चारकर्मी मित्रहरू सम्पूर्णमा नमस्कार । 
हामी सबै प्रवासी नेपालीको प्रतिनिधिमूलक साझा संस्था गैर आवासीय नेपाली सङ्घ अमेरिकाको आठौँ वार्षिक साधारण सभा तथा २०१९- २१ कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम यही जुलाई ६ र ७ तारिख शनिवार र आइतबारका दिन इलिनोइ राज्यको सिकागो सहरमा हुन लागेको यहाँहरू सबैलाई जानकारी नै छ । सो साधारणसभामा उपस्थितिका लागि पुन: अनुरोध गर्दछु ।  
संस्थाको हितमा नीतिगत छलफल गरी आगामी यात्राका लागि मार्ग निर्माण गर्ने थलोको रूपमा साधारण सभा रहेको हुन्छ । सदस्यहरूले सबै खालका ज्ञान, अनुसन्धान, अनुभव, सोच र आफ्ना बिचारहरूमा मन्थन गर्न पाउने संस्थाको सबैभन्दा शक्तिशाली मञ्च हो साधारण सभा । संस्थाको हितका लागि प्रत्यक्ष सहभागी भएर आफ्ना ओजपुर्ण धारणाहरू राख्न समेत म सबै सदस्यहरूमा अनुरोध गर्न चाहन्छु । 
यो विधान सभा समेत भएकाले संस्थालाई अझ गतिशील, गैह्रआवासिय नेपालीहरू प्रति उत्तरदायी, पारदर्शी र जबाफदेही बनाउन तपाइहरूको प्रत्यक्ष सहभागिता अर्थपूर्ण हुने छ । गतिशील समाजमा संस्थालाई जीवन्त र प्रभावकारी बनाइ राख्न समय समयमा विधानमा संशोधन वा परिमार्जनआवश्यक हुने गर्छ । परिमार्जन गर्नु पर्ने विषयमा घनिभुत छलफल गरी त्यसको निर्कियोल तपाइहरूले नै गर्ने हो । आफ्नो जिम्मेदारी र महत्त्वलाई बोध गर्दै साधारणसभामा उपस्थिति भएर आफ्ना बिचारहरू राख्ने स्वर्णिम अवसरलाई तपाइहरूले सदुपयोग गर्नु हुने छ भन्ने मैले विश्वास लिएको छु । तपाइहरूकै इच्छा र चाहाना अनुरूप साधारणसभाले लिने नीतिको अधीनमा रही संस्था अगाडि बढ्ने छ । 
सबैले जाने बुझेको यो विषयलाई मैले किन यति जोड दिएर भनिरहेको छु भने तपाइहरूलाई लागिरहेको होला । केही समय यता साधारणसभामा भाग नलिने, आफ्ना बिचारहरू व्यक्त नगर्ने, आफ्नो विचार सही भए त्यसलाई साधारणसभामा राखेर त्यहावाट पारित गराउन नसक्ने तर बाहिर संस्थाको विरुद्व अनर्गल प्रचार गर्ने र संस्थालाई अहित हुने खालका गतिविधिहरु गर्ने क्रम बढेको छ । 
अमेरिकाको खुला र प्रजातान्त्रिक समाजका आधारभूत मान्यतालाई आत्मसाथ गर्न नसकिरहेका आफ्ना विचार र चाहनालाई खुलस्त गर्न नसक्ने परिवन्धमा रहेका केहीले दुर्नियत राखेर संस्था प्रतिको आकर्षण घटाउने, नेतृत्व प्रति वितृष्णा जन्माउने काम गरिरहेका छन् भन्ने टिका टिप्पणी र विश्लेषणहरू तपाइहरू बिचबाटै आइरहेका छन् । वहुसंख्यक सदस्यको सहभागितालाई खुम्च्याउदै सानु समूहमा सीमित गर्न सक्दा अभिष्ट पुरा हुने उद्देश्यले संस्था र नेतृत्व प्रति भ्रम सिर्जना गरिएको बुझ्न गाह्रो छैन । सम्मानित अदालतको निर्णय, छानबिन समिति र साधारणसभाले धेरै हल्ला र दाबीहरूमा सत्यता नभएको प्रस्ट गरिसकेका छन् । 
यद्यपि यो वा त्यो बहानामा संस्थालाई बदनाम गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न हामी एक भएर लाग्न आवश्यक छ । कालन्तरमा सबै यथार्थ प्रस्ट हुने नै छ । 
संस्था सबैको साझा हो । संस्थाको विधि विधानले निर्धारण गरेको मापदण्ड र प्रक्रिया पुरा गरेर आउने सबैलाई सदस्य बन्ने ढोका खुला हुन्छ । यस पटक सबै खालका आशङ्का र हल्लाको निरूपण गर्न उदार भएर प्रक्रिया पुरा गरेर आएकाहरूको पनि छानबिन र अनुगमन गर्न संस्थाले समिति बनाएर जिम्मा दियो । समय अवधि भित्र सदस्यस्यताको छानबिन र अनुगमन गर्न बसेकाहरूले आफ्नो काम पुरा गरेर कार्यसमिति र निर्वाचन समितिलाई विवरण दिए । समितिमै बसेका केहीले आफैले गरेको काम र दिएको रिपोर्टको खिलाफमा बोल्दै भ्रम सिर्जना गर्न प्रयास गर्नु दुखद पक्ष हो । 
समयमा निर्वाचन गरेर कार्यसमिति चयन गर्नु एउटा प्रजातान्त्रिक पद्धतिको सुन्दर अभ्यास हो । यसलाई अवलम्बन गर्नु भनेको प्राप्त नतिजालाई स्वीकार गर्न सक्नु पनि हो । 
तथापि आफ्नो अनुकूल निर्वाचनको परिणाम नआउँदा त्यसलाई इगो बनाउने र संस्थालाई घाटा पुग्ने खालका गतिविधि गर्न पनि पछि नपर्ने मानसिकता यदा कदा बढेको देखिन्छ । संस्थामा सबैको उत्तिकै भूमिका र अस्तित्व रहेको छ । हार वा जीत भन्ने यसमा केही छैन । सबै यहाँ केही दिनका लागि आउने हो लिनका लागि होईन। दिनका लागि आउने हातहरू संस्थालाई सधैँ चाहिन्छ । त्यसैले हामी सबै संस्थालाई अहित हुने खालका गतिविधिबाट टाढा बस्नु पर्दछ । निर्वाचनको परिणामलाई एउटा प्रक्रियाको रूपमा लिएर अनुकूलको परिणाम नआउनेहरूले पनि त्यसलाई प्रतिकुल परिणामको रूपमा नलिई सहयोगी हात बनेर अगाडि आउनुपर्दछ ।
संस्थालाई अदालतको ढोकासम्म किन लग्यौँ ? र त्यसले प्रवासी नेपालीहरूको हक हितका लागि काम गर्न उत्साहित भएर जुर्मुराएकाहरुलाई उत्साहित बनायो वा निरुत्साहित ? संस्थाको साख बढायो वा घटायो ? त्यसो गर्दा के भयो भन्ने कुरा झन् हामीले बुझ्यौँ वा बुझेनौँ ? या बुझेर पनि नबुझे जस्तो गर्यौ। आत्म मूल्याङ्कन गर्दै अव हामी कोही कसैबाट पनि संस्थालाई अहित हुने त्यस्ता कार्य नगर्ने प्रतिबद्धता जाहेर गरौँ । 
परिणाम कार्यसमितिमा बस्न अनुकूल नआएपनि सबैले संस्थाको हितका लागि संस्थाको साधारण सभा जस्तो फोरममा आएर हामीले आफ्नो कुराहरू राख्नेछौँ । फेरि पनि एनआरएनए हामी सबैको हो, हामीले हाम्रा कुरा गर्ने संस्था हो यसलाई अगाडि बढाउने जिम्मेवारी हामी सबैको हो । संस्थाठुलो भएको छ, सबैले आशा गर्ने संस्था बनेको छ । यसको निर्वाचन आउँदा हामीहरू बिचमा अलि अलि चुनाव लाग्नुलाई अन्यथा लिइहाल्नुपर्ने पनि छैन । यसलाई संस्थाप्रतिको आकर्षणको रूपमा लिनुपर्दछ, तर चुनाव सकिएपछि परिणाम जे आएपनि हामी सबै एनआरएनए अमेरिकाका सहयात्री हौँ भन्ने सबैले बुझ्नुपर्ने हुन्छ ।  
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका संस्थागत हुने दिशामा अगाडि बढेको छ । मेरो २ कार्यकालसहित संस्थाले ४ वटा नेतृत्व जन्माइसकेको छ । स्थापनादेखि अहिलेसम्म संस्था दिनदिनै फराकिलो र बलियो बन्दै गएको छ । २ कार्यकाल गरी ४ वर्ष नेतृत्वमा रहँदा संस्थाको संस्थागत विकासमा ध्यान केन्द्रित गरेर काम गरेको छु । छरिएका केही भ्रमबाट बाहिर निस्किएर तथष्ट भएर हेर्ने सबैले प्रवासी नेपाली र नेपालको हितमा यो संस्थाबाट थुप्रै काम भएको देख्न र बुझ्न सक्छन् । 
केही सहरमा सीमित रहेको संस्थालाई अमेरिकाका अधिकांश राज्य र सहरसम्म पुर्‍याएर प्रवासी नेपाली समुदायलाई जोड्न र संस्थाको आवश्यकता अनुभूति गराउन दुई कार्यकालमा धेरै कामहरू भएका छन् । संस्थागत विकास, नेपाली समुदाय बिच संस्थाको छविमा बढोत्तरी गराउन र आईसीसी समक्ष संस्थाको गरिमालाई माथि उठाउदैं महत्त्वपूर्ण एनसिसीको रूपमा चिनाउन हाम्रो समिति सफल भएको तपाइहरूले समेत मुल्याकंन गर्नुभएकैं होला भन्ने हाम्रो विश्वास रहेको छ । 
प्रवासी नेपालीका लागि आवश्यक रहेको दोहोरो नागरिकताको मुद्दालाई अगाडि बढाउन एनआरएनए अमेरिका आइसीसीसँग मिलेर काम गर्ने सबै भन्दा सक्रिय एनसीसीको भूमिकामा रह्यो । देशको भूगोल बाहिर भावनाको देशमा हुर्कँदै गरेका हाम्रा सन्ततिलाई आवश्यक पर्ने नेपाली भाषा पाठ्यक्रम निर्माणमा ठोस काम भएका छन् । अमेरिकाका विभिन्न राज्यमा नेपाली भाषामै चालक अनुमति पत्रको लागि लिखित परीक्षाको व्यवस्था गराउन एनआरएनए अमेरिकाले काम गरेको छ । मातृभूमि नेपालमा भूकम्पले निम्त्याएको महाविपत्तिमा प्रभावितलाई धेरै सहयोग पुर्‍याउने एनसीसी पनि अमेरिका नै हो । नेपालमा बाढीपिडितलाई सहयोग गर्ने कुरामा पनि एनआरएनए अमेरिका नै अग्रपक्तिमा रहेको छ । नेपालमा आवश्यक पर्ने सहयोग उपलब्ध गराउने दिशामा हामी निरन्तर जुट्यौँ । 
विभिन्न सहरमा स्थानीय नेपाली सङ्घसंस्थाहरू सँग मिलेर समुदायको हितमा काम गर्ने देखि हेल्प डेस्क निर्माण गर्ने काम पनि ४ वर्षको अवधिमै भएका छन् । पुजिगत सहयोग मात्र होइन विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सिप, सोध, अनुसन्धान र क्षमतालाई नेपालसँग जोड्न प्रथम विज्ञ सम्मेलनको आयोजना हामीले गर्‍यौँ । युवा जनशक्तिलाई आकर्षित र उत्साहित बनाउन युथ स्कलरसीपको स्थापना हाम्रै थालनी हो । 
एनआरएनए मेम्वरसिप कार्डको व्यवस्था गर्ने कामको प्रारम्भ भइसकेको छ । मेम्वरसिप आइडी कार्डको माध्यमबाट व्यावसायिक प्रतिष्ठानहरूमा केही प्रतिशत भए पनि सहुलियत प्राप्त गर्न सक्ने अवस्थाको थालनी गरेका छौँ । यसका साथै अमेरिकन मेन स्ट्रीममा नेपालीहरूको प्रतिनिधित्व गराउन भरमग्दुर सहयोग पनि गर्‍यौ र सफल पनि भयौ । यस बाहेक टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) का लागि हामीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा काम गर्‍यौँ । यो बिचमा अरू थुप्रै कामहरू भएका छन् । 
संस्थाको ऐना भनेको वेभ साइट भएकाले त्यसलाई साजसज्जा देखि अन्य आवश्यक पर्ने टुल्सहरु समेत समावेश गरेर आकर्षक बनायौँ । एनआरएनए अमेरिकालाई संस्थागत विकासको अभियानमा अगाडि बढायौँ । न्यु योर्क सहरको एउटा सडकको नामाकरण माउण्ट एभरेष्ट राख्न पहल गर्‍यौँ , नेपालमा प्रदूषण न्यूनिकरणका लागि भइरहेका कामहरुमा सहयोग गरेका छौँ । इनभाइरोमेण्ट एकेडेमीको परिकल्पना यसै समयमा भएको हो ।
यी यस्ता धेरै कार्यहरू यो बिचमा तपाईँ सम्पूर्णको सहयोगले मात्र सम्भव रह्यो । यसले केही भए पनि सन्तुष्ट र गौरव गराएको छ तर पनि हामी त केवल ती कार्य गर्न निमित्त पात्र मात्र थियौँ यो सबै कामहरू तपाईहरुकैं सहयोग, सहकार्य र साथले मात्र हुन सकेको हो । यस ४ बर्षको अवधिमा एनआरएनए अमेरिकालाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने तपाईहरु सम्पूर्णमा हार्दिक कृतज्ञता,आभार र धन्यबाद ज्ञापन गर्दछु। र आगामी दिनमा नवनिर्वाचित कार्यसमितिले संस्थाको संस्थागत विकासमा अझ धेरै सफलताका पाइलाहरू अगाडि बढाउने विश्वास व्यक्त गर्दै त्यसका निम्ति शुभकामना समेत दिन चाहन्छु । 
अन्त्यमा तपाइहरू सबैलाई साधारणसभामा उपस्थितिका लागि सादर निमन्त्रणा समेत गर्दछु । 
धन्यवाद । जय एनआरएनए । जय एनआरएनए अमेरिका ।
डा. केशव पौडेल 
अध्यक्ष 
गैर आवासीय नेपाली सङ्घ, अमेरिका

१८ असार २०७६, बुधबार १६:०३ मा प्रकाशित