ह्युस्टनमा शुरु भयो नेपाली रेष्टुरेण्ट काठमाण्डु करी एण्ड बार

दूरबिन नेपाल     १९ असार २०७६, बिहीबार २२:५२    

ह्युस्टन, अमेरिका/ नेपालीहरु संसारको जुनसुकै स्थानमा पुगेपनि नेपाली खाना र परिकार भुल्न सक्दैनन्। त्यसैले जहाँ पुग्छन्, नेपाली खाना पाइने स्थान खोजी हाल्छन्। नेपाली रेष्टुरेण्ट नभेटिए मात्र इण्डियन रेष्टुरेण्ट खोज्ने बानी अधिकांस विदेशी शहरमा बस्ने वा यात्रा गर्ने नेपालीहरुको देखिन्छ। 

टेक्सस मै सबभन्दा धेरै नेपाली बस्ने शहर डालासमा करीब आधा दर्जन जति नेपाली नामका रेष्टुरेण्ट खुलिसकेको भएपनि टेक्ससकै सबभन्दा ठूलो शहर ह्युस्टनमा भने अहिलेसम्म एउटा पनि नेपाली नाम र स्वादको रेष्टुरेण्ट खुल्न सकेको थिएन। केही नेपाली व्यवसायीहरुले पहिल्यै देखि इण्डियन रेष्टुरेण्ट संचालनमा ल्याएका भएपनि गत शनिवारबाट संचालनमा आएको र हिलक्रफ्ट र हार्विनको इन्टरसेक्सनमा रहेको निकै चल्तिको व्यवसायिक कम्लेक्समा रहेको  काठमाण्डु करी एण्ड बार’ नै ह्युस्टनमा खुलेको पहिलो नेपाली रेष्टुरेण्ट भएको छ।

सामाजिक सेवा र व्यवसायलाई संगसंगै लगिरहेका ह्युस्टनका चर्चित नेपाली दिनकर अमात्य, नेप्लिज एशोसियन अफ ह्युस्टनका अध्यक्ष डा. विष्णु नेपाल तथा रेष्टुरेण्ट व्यवसायमा अनुभवी रामकृष्ण सापकोटा र बाबुराम ज्ञवाली सहित चारजना नेपालीहरुको संयुक्त लगानीमा टेक्ससको दक्षिणी शहर ह्युस्टनमा ‘टिपिकल’ नेपाली स्वाद र नामको रेष्टुरेण्ट शुरु भएको हो।

काठमाण्डू करी एण्ड बारमा परम्परागत नेपाली खाना ‘नेपाली थाली’ र नेपालीहरुको सबभन्दा प्रिय फास्टफूडको रुपमा परिचित ममका विशेष परिकार पाइन्छ। छोयला, खसीको भुटन, सेकुवा लगाएतका नेपाली स्वादका स्न्याक्स पनि पाइन्छ। यस अतिरिक्त नेपाली सांस्कृतिक र भौगोलिक परिकारहरु समेत खान पाइने संचालक मध्येका एक डा. विष्णु नेपालले दूरबिन नेपाललाई जानकारी गराएका छन्। नेपालको हिमाल, पहाड र तराईमा प्रचलित मुख्य खानाहरुका अतिरिक्त नेवारी परिकार ‘समेबजी’ पनि विशेष खानाका रुपमा उपलब्ध कराइने संचालकहरुले बताए। 

 

रेष्टुरेण्टको आन्तरिक सजावट समेत नेपाली शैलीमा गरिएको छ। संचालनको शुरुबाटै नेपालीहरुको उल्लेख्य भिड-भाड देखिन थालेको रेष्टुरेण्टमा स्थानीय अमेरिकन सहित भारतीय तथा पाकिस्तानी ग्राहकहरुलाई आकर्षण गर्ने परिकारहरु पनि समावेश गरिने संचालकहरुले जानकारी गराएका छन्। 

तस्बिर: सुजन पण्डित/दूरबिन नेपाल तथा काठमाण्डु करी


१९ असार २०७६, बिहीबार २२:५२ मा प्रकाशित