तनहुँमा घाँसकाे भारी देखि अमेरिकामा डाक्टरकाे जिम्मेवारी: डा. केशव पाैडेल एनआरएनए अमेरिकाको दुई कार्यकाल  सफल कि असफल ?

दूरबिन नेपाल     २२ असार २०७६, आईतवार ०१:५९    

बिष्णुहरि घिमिरे,दूरबिन नेपाल

 

जुलाई,६ । पछिल्लो चार बर्ष अमेरिकामा रहेको नेपाली समाजमा लिइने नाममा अग्रस्थानमा नै आउने व्यक्ति हुन डाक्टर केशव पौडेल । समाजिक सन्जाल देखि विभिन्न फोरमहरुमा चाहे समर्थनमा होस या विरोधमा । केहीले ताली बजाए उनका लागि, केहीले गाली समेत गरे ।

 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको दुई कार्यकाल नेतृत्व गरेर विदा हुदै गरेका पौडेल पेशाले चिकित्सक हुन, त्यो पनि अमेरिकामा । त्यति मात्र होइन मेडिकल डाइरेक्टर पनि हुन उनी न्यूमेक्सिको राज्यको ।

 

‘डाक्टरले विरामि जाच्ने हो त्यसको साथ साथै म्यानेजेरियल रोल पनि हुन्छ । अमेरिकामा आएर पनि मेडिकलको क्षेत्रमा लिडरसिप लिन खोज्यो भने गर्न सकिन्छ भन्ने लाग्यो । एमबीए पछि एमडी पनि गरेर काम गरे । अहिले आफु जस्तै धेरै डाक्टरहरुको सुपरभाइज गर्ने उनीहरुको म्यानेज गर्ने गर्नु पर्छ ।’ आफ्नो काम बारे पौडेल बताउछन् ।

 

उनको टिममा ५० जना चिकित्सक छन् । अमेरिकि चिकित्शाक्षेत्रमा त्यो ओहोदामा पुगेको अर्को नेपाली अहिले सम्म सार्वजनीक भएको छैन । त्यसो त अमेरिकामा पुगेर मुलधारको पेशामा लागेका अधिकांश नेपाली समाजबाट टाडै बस्न रुचाउछन् । ‘आइ हेट नेपाली डट्टि पोलिटिक्स’ कालगतिले भेटिएकाहरुको भनाई त्यस्तै त्यस्तै रहन्छ । उनीहरु नेपाल र नेपालीको सम्पर्क भन्दा बाहिर नै रमाउन चाहान्छन् । पक्का अमेरिकन लाईफ । हु केयर हु । कस्लाई कस्को के मतलव ।

 

मुलधारको पेशामा जमेका डाक्टर पौडेल गाली खान किन एनआरएनमा आए । कौतुहता पहिले देखि नै थियो । पछिल्लो पटक उनी सँग न्युयोर्कमा जम्काभेट भयो । एनआरएनए अमेरिकाको फिजिकल बैठक पारेर । त्यही सयम उनको जीवन खोतल्न लागे । जीवनलाई पहिलो पटक सम्झदा उनी घरमा रुदै गरेको दृश्यबाट शुरु हुन्छ । गाँउतीर बुढापाका भन्ने गर्छन सानोमा धेरै रुने मान्छेलाई पछि रुनु पर्दैन । त्यो साचो पनि भयो ।

 

‘साढे दुई बर्षको उमेर हुदो हो । दिउसो निद्राबाट बिउझदा घरमा कोहि थिएन । रुदै पल्लोघरमा पुगे आमा हुनु हुदो रहेछ, त्यसपछि बल्ल ढुक्क भए ।’ जीवनलाई फर्कदा उनले सम्झने पहिलो घटना हो यो । अर्ध निन्द्रामा आमाको अंगालो र धाप । अघिभर्खर झोलुग्गामा एक्लै भए भनेर चिच्चाएको बालक अहिले संसार म सँग छ जस्तो गरि शान्त भयो ।

 

तनहुँ जिल्ला व्यासनगरपालिका ९ सिस्नेरी हो डाक्टर पौडेलको जन्म घर । स्कूल जादा कलेस्ती खोलाको जागर तर्नु पर्ने, बर्खामा कहिले काही खोलो बहुलाउथ्यो । बगाउछ कि भन्ने डर हुने ।  ६ बर्षको नभइ स्कूल भर्ना नहुने । उमेर नपुगे पनि उनी दाइ सँग पछि लागेर जाने गर्दथे । स्कूल गएको बालखा घर फर्कन्छ कि फर्कदैन भन्ने पिर परिवारमा हुने । स्कूल नजिकै खोलो भएका कारण केही ठूला विद्यार्थी, कहिले काहि शिक्षकहरुले पनि खोलो तारिदिने गर्दथे । त्यसो त त्यो खोलामा अझै पनि पुल छैन । अहिले पनि मान्छे त्यसै गरि तर्छन जसरी त्यो बेलमा तरिन्थो ।

 

हजुरबा हजुरआमाका बारेमा सुनेका मात्र हुन उनले । बुबाहरुको तीन भाई, माहिलो भाईका छोरा हुन ।  समग्रमा भन्नु पर्दा गरिखान पुग्ने परिवार । जमिन्दार वा जिम्वाल भन्ने चै होइन तैपनि बर्षमा तीस चालिस मुरि धान बेच्थे बाको पालामा । काम गर्ने मान्छे राख्ने चलन थियो । तीन कक्षा सम्म घरबाट पूर्वतीरको ठाँटि चौरमा रहेको स्कूलमा पढे । तीन कक्षा पछि पश्चिमतीर झिनुवाटारमा रहेको हाईस्कूलमा पुगे ।

 

‘पहिलो बर्ष भर्ना नै लिइदिएनन, उमेर नपुगेको भनेर । तर अर्को बर्ष एकै पटक दुई कक्षामा भर्ना लिए । सँगै गएको साथी एक कक्षामा म दुई कक्षामा भए ।’ एकएक गलाअबरुद्द जस्तो भयो उनको त्यो साथी सम्झदा।

 

‘अहिले पनि सम्झन्छु त्यो साथी । हुन त अहिले उसको दुर्घटनामा परि निधन भयो । तर पनि म अझै सम्झन्छु । स्कूल गएको पहिलो बर्ष हामी दुई जना दिनभर गुच्चा खेलेर विताउथौ ।’

 

म कथा सुने जस्तोमा थिए । मैले चिनेको नेपाली मुलका अमेरिकी डाक्टर आफ्नो जीवन खोतल्दै थिए, धाराप्रवाह ।  ‘जव हाई स्कूल गए, काम गर्ने सक्ने भए, घरमा दुई वटा भैसी थियो, एकभारी घाँस काटेर मात्र स्कूल जानु पर्ने हुन्थो, सात बजे बारीमा गएर घाँस काटेर नौ बजे स्कूल जान तयार भइन्थो । यो दैनीक नै भयो ।’

 

उनले प्रवेसिका परिक्षा (एसएलसी) झिनुवाटारकै महिन्द्री माविबाट दिए, २०४६ सालमा । देश जनआन्दोलनको तयारीमा थियो । गणेशमान सिंह नजरबन्दमा थिए । एसएलसी रोकिन्छ भन्ने हल्ला पनि थियो, तर भयो । तीस बर्षे पन्चायतको अन्तिम बर्षको एसएलसी । उनी एसएलसीको तयारी गर्दै थिए । घरमा बज्रपात भयो । निष्ठुरी दैवले आमालाई लग्यो ।

 

‘आकास्मात । ठूलो विमारि नपरी । त्यो समयमा आफ्नो अस्तित्व नै नभएको हो कि भने जस्तो भयो ।’ यो पटक पौडेलका आँखा रसिला देखिए ।

साँढे दुई बर्षको उमेरमा झोलुङ्गामा झल्यास्य बिउझिदा, एक्लै भए भनेर चिच्चाएर रुदै पल्लो घरमा पुग्दा भेटिएकी आमाले अंगालोमा लिएर धाप मार्दा संसार मेरै साथ छ भनेर चुप लागेका थिए उनी । तर अहिले जीवनको फलामे ढोकाको मुखैमा पुग्दा उनी एक्लो भए, शुन्य जीवन । ‘ अब किन पढ्नु पर्यो भन्ने पनि लाग्ने । डिप्रेसनकै विरामी हुन्छु कि भन्ने जस्तो ।’ जीवनकै त्यो दुखद क्षणबारे उनी सम्झन्छन ।

 

दमौली र पोखराका अस्पतालका डाक्टरले उनलाई निको बनाउन सकेनन । गोरखा आँपपिपलमा दिदिको घर थियो । १२ घण्टा हिडेर बाउ छोरा पुगे ‘मिशन अस्पताल’ । १५ दिन जती औषधी खाएपछि बल्ल एसएलसी दिन सक्ने भए । परिक्षा ठिकठिकै । मध्य बर्खामा एक दिन रेडियो नेपालले फुक्यो एसएलसीको नतिजा भयो भनेर । हतारहतार दमौली बजार पुगे । पत्रिका हेर्न लुछाचुड । बल्ल बल्ल हात लागेको पत्रिकामा नम्वर हेरे ‘छैन’ ।

 

काठमाडौमा बस्ने  बैनी (ठूलो बुबाको छोरी) ले पनि एसएलसी दिएकी थिइन ।  मन नलागि नलागि काठमाडौमा फोन गरे, उता बाट पास भइस भनेर बदाई पाए । चित्त बुझेन । फेरि आफैले पत्रिका हेरे । फस्ट डिभिजनमा ।

 

आमाको वियोग भुल्न डाक्टरी तर्फ

 

बुबा शिक्षक, गाँउमा शिक्षक पाउनै गाह्रो, छोरो अंग्रेजी शिक्षक भएर गाँउ फर्कियोस भन्ने बाबुको चाहाना थियो ।  नातामा काका पर्ने अग्रेजी शिक्षक थिए रामचन्द्र पौडेल, प्राय स्कूल जादा आउदा सँग सँगै हुने,  उनी सहित अन्य साथीले डाक्टर नै बन्नु पर्छ भनेर हौस्याउथे । ‘म आफैलाई पनि आमाको अकाल निधनले गर्दा मेडिकल लाइनमा नै जानु पर्छ भन्ने थियो ।’ त्रिचन्द्रमा बयोलोजीमा भर्ना हुनुको कारण पौडेलले खोले ।

 

दुई बर्ष पछि जीवनकै सबै भन्दा खुसीको क्षण आत्मसाथ गरे । महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा नाम निश्कियो । पाँच हजार मध्ये चालिस जनामा पर्नुपर्ने । नयाँ बजारमा बस्थे । साइकल चढेर महाराजगन्जमा पुगे नाम हेर्न । फर्किएर साथीहरुलाई भने । तर मनमा कस्तो कस्तो लाग्यो । ‘नाम निश्किएकै त हो ? मेरो नाम गरेको अरु नै पो पर्यो कि । तनहुँ त हेरिन नी भन्ने भयो फेरि नयाँबजारबाट महाराजगन्ज पुगे ।’ उनको शंका गर्ने बानीले दोहोरो यात्रा गरायो ।

 

डाक्टरी पढाइ, विद्यार्थी राजनीति र आफ्नो पढाइ खर्च आफै जुटाउने तेहोरो जिम्मेवारी उनले एकै पटक पुरा गरे ।  ‘घरबाट बुबाले कति चाहिन्छ लैजा भन्नु हुन्थो, तर मलाई बुबाको पैसा खर्च नगर्ने भन्ने लाग्थो, साँझ विहान कोचिङ् – ट्युशन पढाउथे ।’ विद्यार्थी राजनीतिमा पनि उनी सफल नै भए नेपाल विद्यार्थी संघको तर्फबाट दुई कार्यकाल स्ववियु सभापति बनेर ।

 

रेष्टुरेन्टमा घण्टा हानेर शुरु भएको अमेरिकी जीवन

 

टिचिङ्गमा अध्ययन पुरा गरे पछि तीन बर्ष नेपालमा नै काम गरे । तत्कालिन माओवादीको विद्रोहले गाँउ जान असहज हुदै थियो । २०६० मा संगिता सँग मागि विवाह भयो । क्यामेस्ट्रीमा मास्टर गरेकी धर्मपत्ती र एमविविएस  सकेका पौडेल बीच अमेरिकामा भविश्य खोज्ने सहमति भयो । त्यही बेला  संगिताको न्युमेक्सिमा छात्रबृद्दिमा पिएचडी गर्ने अवसर आयो । उनले पनि चिकित्सा लाइसेन्सका लागि परिक्षा दिए र  पास भए । त्यस पछि सन् २००५ जुलाई २६ मा अमेरिकामा  दुबै  जनाले पाइला टेके ।

 

अमेरिकाका लागि नेपालबाट सँगै जहाज चढेका दम्पति उत्रदा भिन्ना भन्नै ठाँउमा पुगे । धर्मपत्ति न्युमेक्सिको, उनी सिकागो । संगिताको पढाइ शुरु भइहाल्यो,उनी बेरोजगार, नेपालबाट ल्याएको पाँचहजार डलर पनि सकियो, त्यसपछि शुरु भयो रेष्टुरेन्ट र लिक्वरसपमा घण्टा हान्न ।

 

‘उनको पढाइ शुरु भइहाल्यो मेरो चै केहि पनि छैन, म रिजल्ड कुरेको,न्युयोर्क गए रिजउडमा मोहन ज्ञावलीले कोठा मिलाउनु भयो, एक ढेड महिना रेष्टुरेन्टमा काम गरे, त्यसले फेरि अन्तर्वाता दिन, आफ्नो काम खोज्नका लागि केही पैसा भयो । न्युमेक्सिको जाने आउने भयो । त्यो बीचमा लिक्वरसपमा पनि काम गरे ।’

 

शुरुवाती एक बर्ष भेटेको काम गरेर गुजरा चलाएका पौडेललाई त्यस पछि पछाडि फर्कनु परेको छैन । त्यसो त नेपालमा डाक्टर तथा विद्यार्थी नेता भनेर चिनिएका उनलाई अमेरिकामा रेष्टुरेन्टको कामले मनोवल नखस्काएको भने होइन । ‘जीवनमा कहिल्यै दोस्रो नभएको मान्छे अमेरिका आएर सफल हुने हो कि होइन भन्ने तनाव चै थियो, तर सकारात्मक सोच लिएर हिडेको कोशिष चै गर्नु पर्छ भन्ने भयो । एक बर्ष केही दुख भयो तर त्यस पछि राम्रै भयो ।’

 

एनआरएनमा प्रवेस

 

उनी जीवन खोतल्दै थिए तर फोनको घण्टी बज्दै थियो । उनको हाउभाउले प्रष्ट हुन्थो अब कुराकानीको बिट मार्नै पर्छ । जुन प्रश्न म शुरु देखिनै सोध्न चाहान्थे त्यसमा ढिलाइ गरिन । चार बर्षमा उनले मुस्किलले शनिवार र आइतवार परिवारलाई दिएका छन् । मगन्य आम्दानी भएको व्यक्ति अमेरिकन जीवन विताउन छोडेर यो गाली खान किन एनआरएनमा ?

 

‘गाँस बास कपासको समस्या सल्टाए पछि मान्छेलाई अरु अगाडि रिकनाइज हुन्छु भन्ने लाग्दो रहेछ, समाजको लागि केहि गरौ भन्ने हुने ।’ उनी प्रष्टाउदै थिए । ‘पहिला एक दुई बर्ष पढेर नेपाल फर्किहाल्ने भन्ने सोच थियो तर अमेरिका आए पछि फर्किहाल्ने भन्ने नहुदो रहेछ, सोचे जस्तो नहुने, यतै समाजका लागि केही गरौ भन्ने भयो ।’

 

दुई कार्यकालको समिक्षा

 

उनी सत प्रतिशतलाई सन्तुष्टि असम्भव मान्छन्,’ यो यस्तै ठाँउ हो एक सय  जनामा ८० जनालाई राम्रो लागे पनि २० जनालाई चित्त नबुझेको हुन सक्छ ।’ उनी थप्छन ‘म आफुले कसरी लिन्छु भने एनआरएनमा लागेर हजारौ हजार मान्छे सँग चिनजान हुने मौका मिल्यो, सकेको सहयोग गरे ।’

 

परिवारका लागि दिनु पर्ने सयम समाजलाई दिदा पनि जस नपाउदा उनलाई पनि झोक नचलेको त होइन । ‘कहिले काहि हुन्छ बेकार लागिएछ भन्ने तर सकारात्मक रुपमा सोच्ने हो भने हामीले नगरे कस्ले गर्छ भन्ने  पनि हो । अहिले नगरे कहिले गर्ने भन्ने हो । सबैले त्यसै भनेर घरमा बस्ने हो भने समाजका लागि कस्ले गर्ने त । मेरो दायित्व थियो समाजका प्रति मैले गरे र मलाई कुनै यो अवसर पाएकोमा म आफुलाई गौरवान्भित सम्झन्छु ।’

 

‘साना तिना आलोचनाले विचित हुनु हुदैन र समाजसेवामा लाग्ने मान्छे त्यो खप्न सक्नु पर्छ गाली गरे पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नु पर्छ । त्यो छुट्याउन पर्छ र राम्रो गर्नु पर्छ त्यो गरि रहेको छु ।’

 

गर्न चाहेर पनि नसकेको काम

 

‘अमेरिकामा रहेका नेपालीमा सकारात्मक सोचको विकास गराउन पर्छ भन्ने हो । शुरु देखि त्यही भनेर लागेको हो तर सबैलाई सकिदो रहेनछ । मलाई शुरुमा म जत्तिको मान्छे लाग्दा सबैले सकारात्मक रुपमा नै सहयोग गर्नु हुन्छ होला भन्ने लागेको थियो । त्यो चै पाइएन । केही मान्छेले त्यस्ता निश्कदा रहेछन ।’

 

‘अघि पनि भने एक सय जनामा ८० जना खुसी नै भए पनि २० जना विरोधमा लाग्ने सामाजिक सन्जालमा छरपष्ट पार्ने । फुटपातमा हिड्दा पनि त्यस्तो भन्दै हिड्ने काम गर्ने मान्छेलाई हतोत्साहित बनाउने चै छ । तर म आफु त्यो कुरामा तयार भएर नै आएको हो मलाई अप्ठेरो लागेन ।’

 

‘तर दुई चार कुरा चै के गर्न सकिन्थो । के के गर्न पाएको भए हुन्थो भन्ने चै छन केही कुरा गर्न सकिन भन्ने पनि छन। एनआरएन सदस्यता सजिलो बनाउन पाएको भए हुन्थो भन्ने पनि छन । सदस्यता कडा बनाउदा खर्चिलो छ । अरु सामान्य सस्थाको जस्तो पनि भएन । अर्को फेरि नेपालको सबैको स्वार्थ हुने राजनीतिक जातीय क्षेत्रिय स्वार्थ पनि प्ले हुने भएकाले यसलाई जति कडा बनाउन खोजे पनि सकिदैन,तर पनि ९० प्रतिशत शुधार गरेका छौ । अब एक दुई बर्षमा सबै सुधार हुन्छ होला भन्ने लागेको छ ।’

 

चिकित्सा क्षेत्रमा पौडेल सफल व्यक्ति हुन, तर एनआरएनए राजनीतिमा उनी विवादमुक्त हुन सकेनन् । उनी आफै विवाधित भने वा बनाइए यो बहसकै विषय हो । तर एउटा कुरा सत्य के हो भने डाक्टर पौडेलको विदाई भब्य भएको भए अमेरिकी मुलधारमा जमेका नेपालीलाई एनआरएन मुभमेन्टमा लाग्न उत्प्रेरणा हुने थियो । तर त्यसो हुन सकेन ।

 

शैक्षिक क्षमता नभएका, अमेरिकि मुलधारमा जान नसक्ने र  काम गरि खाने जागर नभएकाहरुको एउटा जमात छ अमेरिकामा उनीहरुको धेय भनेकै नेपाली माथि शोषण गर्नु  रहन्छ । त्यही समुह गतिला व्यक्ति एनआरएनमा नआओस भन्ने चाहान्छ ।

 

समय ढल्कि सकेको थियो, कुराकानी छोट्याउने नाममा एउटा प्रश्न थाती नै रह्यो । मनले अहिले पनि त्यो प्रश्न सोध नै भन्छ । कलेस्ती खोलामा तपाईले बेहोरेको त्रासदी तपाईका भाइ छोराहरुले कहिले सम्म बेहोर्ने ?

 

फोटो : डा. पौडेलको फेसबुकबाट 


२२ असार २०७६, आईतवार ०१:५९ मा प्रकाशित