आलोचना र प्रशंसा बिच एआरएनए अमेरिकाको अधिवेशन सम्पन्न प्रतिनिधि छनौट सहित ४ महत्त्वपूर्ण समिति गठन

दूरबिन नेपाल     २४ असार २०७६, मंगलवार ०८:३७    

अमेरिका ।

एनआरएनए अमेरिकाको जुलाई ६ र ७ तारिख सिकागोमा आयोजना गरिएको आठौँ साधारण सभा विधान संशोधन, नव निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्दै सम्पन्न भएको छ ।

प्रशंसा र आलोचनाका बिच पूर्व उपप्रधानमन्त्री विजय गच्छेदारको प्रमुख अतिथ्यतामा भएको साधारण सभामा गैर आवासीय नेपालीहरूका केही महत्त्वपूर्ण विषयमा छलफल गर्दै समापन भएको हो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री गच्छेदारले गैर आवासीय नेपालीहरूको दोहोरो नागरिकताका लागि नेपाली काँग्रेस लागि पर्ने बताए । उनले विदेशमा बस्ने नेपालीहरूलाई राजनीतिक अधिकारको समेत सुविधा दिनु पर्ने धारणा राखे ।

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, कल्याण गुरुङ र तरुण दलका अध्यक्ष जितजंग बस्नेतले दोहोरो नागरिकता दिएर नेपाल भित्र लगानी गर्न वातावरण बनाउनु आवश्यक भएको बताए । यसमा ढिलो नगर्न राज्य व्यवस्था समिति र सरकारसँग अनुरोध गरेका छन् ।

 

 

 

 

 

 

त्यस्तै ने वी सङ्घका पूर्व महामन्त्री न्यूक्लियर साइनटिष्ट डाक्टर यादव पण्डितले गैर आवासीय नेपालीहरूको अपेक्षा पहिचान गरी संस्था र नेतृत्वले काम गर्न सक्दा सफलता हासिल गर्न र धेरै विषयलाई सम्बोधन गर्न सकिने बताउँदै नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिए ।

गैर आवासीय नेपालीहरूको नागरिकता लगायत अधिकारका विषयमा काम गर्दै आएका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसीले दोहोरो नागरिकता सहितको विधेक राज्य व्यवस्था समितिबाट पारित हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । यस्ता साझा लक्षमा गैर आवासीय नेपालीहरू एक ठाउँमा आएर अगाडि जानुको विकल्प नभएको बताए ।

गैह्र आवासीय नेपाली सङ्घ उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी जोशीले एनआरएनए अमेरिकाले केही राम्रा कामको सुरुवात गरेको र केही पक्षमा अझै सुधार गर्नु पर्ने बताए । यस पटक अमेरिकाबाट आइसीसीमा दरिलो उपस्थिति हुने अपेक्षा र विश्वास पनि उनले गरे ।

कार्यक्रमका विशेष अतिथि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले एनआरएएनए अध्यक्षमा डाक्टर केशव पौडेल नेतृत्वमा आउँदा राजदूत भएर आएको स्मरण गर्दै मिलेर काम गर्न पाएकोमा खुसी लागेको बताए । आफ्नो कार्यकाल पनि डाक्टर पौडेलसँगै समाप्त हुन लागेको उल्लेख गरे । गैर आवासीय नेपालीहरूको छाता संस्था हो भने एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिले दुई लाख सदस्य बनाएर देखाउनु पर्ने चुनौती दिए ।

दुई कार्यकाल अध्यक्ष भएका डाक्टर पौडेलले सानो सङ्ख्यामा सीमित संस्थालाई आफ्नो कार्यकालमा गैर आवासीय नेपालीहरूका बिचमा संस्थालाई पुर्‍याउन गरेको मेहनत र सदस्यहरूको अपेक्षा अनुरूप संस्थालाई अगाडि बढाउन गरेका कामहरूको चर्चा गरे । उनले संस्था र आफूलाई साथ सहयोग र माया गर्नेहरूको मात्र होइन आलोचना गर्र्नेहरुको पनि प्रशंसा गरे । पौडेलले एनआरएनए अमेरिका आइसीसीमा महत्त्वपूर्ण जिम्मेवारी लिन बलियो जग बनाएर अगाडि बढेको बताए ।

 

 

 

 

 

नेपाली जन सम्पर्क समितिका पूर्व संयोजक साथै जनसम्पर्क समिति विश्व सञ्जालका संयोजक विष्णु सुवेदी, एनआरएनए आइसीसी सल्लाहकार हरिबोल भण्डारी, अग्रज पत्रकार कबिर राणा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभा संयोजक राधा पौडेल, सह संयोजक बुद्धि सुवेदी, सत्य चौधरी, बला अधिकारी लगायतले कार्यक्रमलाई व्यवस्थित ढङ्गले सफल बनाउन लागि परेको भन्दै अतिथिहरूले कार्यसमिति र उनीहरूको प्रशंसा गरेका छन् ।

नव निर्वाचित अध्यक्ष सुनिल साहले आफ्नो कार्यकालको आरभ्भ गर्दै संस्थालाई गैर आवासीय नेपालीहरूको पहुँचमा पुर्‍याउन कार्ययोजना बनाएर अगाडि बढ्ने उल्लेख गरेका छन् । साहले आफ्नो काँधमा आएको जिम्मेवारीलाई केही ठोस काम गर्ने अवसर र समस्याहरूलाई पर्गेल्दै सही मार्गमा हिँडाउने चुनौतीको रूपमा लिएको बताए । साहको अध्यक्षतामा नयाँ कार्यसमितिको सिकागोमा बसेको पहिलो बैठकले केही महत्त्वपूर्ण निर्णय समेत गरेको छ । नव निर्वाचित महासचिव पशुपति पाण्डेले एक विज्ञप्ति जारी गर्दै आइसीसीका लागि प्रतिनिधि छनौट समिति, आइटी समिति, जनगणना २०२० का लागि सहयोगी समिति र विधान समिति गठन गरिएको उल्लेख गरेका छन् ।

कार्यसमितिको पहिलो बैठकमा नै प्रतिनिधि छनौट समिति क–कसलाई राख्ने भन्ने विषयमा कार्य समिति सदस्यहरू बिचमा चर्को बहस भएको थियो । अन्ततः: वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बनजाडे, महासचिव पशुपति पाण्डे, चार जना क्षेत्रीय उपाध्यक्ष र कोषाध्यक्ष रहने गरी ७ सदसिय छनौट समिति गठन गरिएको छ ।

महासचिव पशुपति पाण्डेद्वारा जारी विज्ञप्तिको पूर्ण विवरण यसैसाथ संलग्न गरिएको छ ।

तस्बिर: तोया दाहाल/दुरबिन नेपाल

 

विज्ञप्ति

गैह्र आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिकाको पदभार सम्हालेको नयाँ कार्यसमितिले आफ्नो कार्य प्रारम्भ गरेको सहर्ष जानकारी गराउद छौ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा आइतबार नयाँ कार्यसमितिको पहिलो बैठक बस्यो । तात्कालिक आवश्यकता, दीर्घकालीन कार्ययोजना र सान्दर्भिक विषयवस्तुलाई समेटेर महासचिव पशुपति पाण्डेद्वारा राखिएका प्रस्तावहरू माथि बैठकमा छलफल भयो ।

कार्यसमितिका निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थितिमा रिजनल कोर्डिनेटर गौरी जोशी, डिआरसी नवीन लामा र आइसीसी मेम्बरहरूलाई समेत सहभागी गराएर गरिएको बैठकले  महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी गराउदछौं । बैठकको प्रारम्भमा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरू बिचमा आपसमा परिचय साथै दुई वर्षको सहयात्रा र सहकार्यका लागि आत्मीयता र आपसी सद्भाव जगाउँदै संस्थाको हितमा अगाडि बढ्ने सामूहिक प्रतिबद्धता सहित सिकागोमा उपस्थित पदाधिकारी र सदस्यहरू आमनेसामने बसेर कार्यसमितिको बैठक शुभारम्भ भयो ।

महासचिवको दुई वर्षीय कार्ययोजनाको प्रारम्भिक प्र्रारुप माथि विचार मन्थन गरियो । पदाधिकारी र सदस्यहरूको थप राय सुझाव सहित आगामी बैठक पेस गर्ने सहमति गरियो ।

एनआरएनए आइसीसीको अक्टोबर महिनामा नेपालमा हुने अधिवेशनमा अमेरिकाबाट सहभागी हुने प्रतिनिधि चयन गर्न बैठकले प्रतिनिधि चयन समिति गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष संयोजक, क्षेत्रीय उपाध्यक्षहरू, महासचिव र कोषाध्यक्ष सहितको छनौट समिति गठन गरिएको हो ।

समितिले प्रतिनिधि चयनमा संस्थाको विधान, अमेरिकाको विद्यमान कानुन, आइसीसीको गाइडलाइन र आवश्यक परेमा अरू महत्त्वपूर्ण पक्षलाई आधार बनाएर प्रतिनिधि चयन कार्यविधि बनाइ काम गर्ने छ ।

आजकै बैठकले विधान समितिका लागि उपाध्यक्ष वी आर लामा संयोजक, अमेरिकामा हुने जनगणना नेपालीहरूको सहभागिता बढाउन वरिष्ठ उपाध्यक्ष अर्जुन बनजाडे, आइटी समितिको संयोजकमा महासचिव पशुपति पाण्डे रहने गरी समिति गठन गरिएको छ । समितिमा थप सदस्य संयोजकहरूले बोर्डको सल्लाहमा चयन गर्ने छन् ।

एनआरएनए अमेरिकाका पदाधिकारी र सदस्यहरू इलोनोइ राज्यको सिकागोमा आमनेसामने बसेर गरेको यो पहिलो बैठकले आठौँ साधारण सभा र शपथ ग्रहण कार्यलाई सफल बनाउन लाग्नु हुने सम्पूर्ण सदस्यहरू, स्थानीय समिति , उपसमिति, निवर्तमान केन्द्रीय समिति तथा च्याप्टर समिति, सल्लाहकार ,स्थानीय नेपाली सङ्घ संस्था, सञ्चारकर्मी, सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरिएको जानकारी गराउदछौं ।

पशुपति पाण्डे
महासचिव
गैह्र आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका
मिति ०७-०७-२०१९


२४ असार २०७६, मंगलवार ०८:३७ मा प्रकाशित