ट्रम्प प्रशासनलाई असक्षम भन्ने बेलायती राजदूतद्वारा राजिनामा

दूरबिन नेपाल     २५ असार २०७६, बुधबार १४:१२    

समाचार टिप्पणी

अमेरिका, जुलाई १०/ ट्रम्प प्रशासनलाई ‘असक्षम’ कुटनैतिक रुपमा अस्तव्यस्त भनेर आफ्नो सरकारलाई पठाएको रिपोर्टको इमेल ‘लिक’ भएपछि अमेरिकी राष्ट्रपतिको लगातारको निशानामा परेका बेलायती राजदूत सर किम डारकले राजिनामा दिएको बेलायती विदेश मन्त्रालयले पुष्टि गरेको सिएनएन लगाएतका अमेरिकी समाचार माध्यमले जनाएका छन्।

इमेल प्रकरण सार्वजनिक हुने बित्तिकै आफ्नो ट्वीटर एकाउण्ट मार्फत लगातार बेलायती राजदूत र प्रधानमन्त्री टेरेजा मेको समेत आलोचना गरेका राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले राजदूत किमसंग व्यवहार नगर्ने भनेर ट्वीट गरेका थिए। आफ्नो बारेमा नकारात्मक टिप्पणी पटक्कै सुन्न नचाहने प्रवृत्ति भएका राष्ट्रपति ट्रम्पलाई साह्रै नजिकको मित्रशक्ति राष्ट्र कै भएपनि कुनै विदेशी राजदूतले आफूलाई असक्षम भन्दा सह्य हुने कुरै थिएन। आफू अनुकुल समाचार नबनाउने सबै मिडियाहरुलाई ‘फेक न्युज’ भन्न पछि नपर्ने र आफैंले अति प्रशंसा गरेर नियुक्ति गरेकै क्याबिनेटका सदस्यलाई समेत आफू अनुकुल नहुने बित्तिकै सार्वजनिक रुपमै नकारात्मक टिप्पणी गर्न पछि नपर्ने राष्ट्रपति ट्रम्पले यस मामिलामा पनि चुप लाग्लान् भन्ने सायदै कसैले अपेक्षा गरेको थियो होला।

उनले यस मामिलामा राजदूत किमलाई मात्र होइन पदबाट बाहिरिंदै गरेकी बेलायती प्रधानमन्त्री मेलाई समेत छाडेनन्। ब्रेक्जिट प्रकरणमा सही काम गर्न नसकेको र आफ्नो सुझावलाई वेवास्ता गरेकोमा पनि राष्ट्रपतिले बेलायती प्रधानमन्त्रीप्रति रोष प्रकट गर्दै ट्वीट गरेका थिए।

बेलायती कुटनैतिक सेवामा निकै सम्मानित मानिने सर किम डारकले यसै महिनाको अन्त्यसम्ममा बन्नसक्ने नयाँ सरकार आउनु अघि राजिनामा दिने अनुमान समाचारहरुमा गरिएको भएपनि अमेरिकी राष्ट्रपतिले उनीसंग व्यवहार नगर्ने भनेपछि पदमा बसिरहनु उपयुक्त देखिन्थेन। बेलायती प्रधानमंत्रीको कार्यालयले राजदूत किमलाई पूर्ण समर्थन रहेको जनाएको भएपनि सम्वन्धित देशको राष्ट्रपतिले अस्वीकार गरेको अवस्थामा राजदूत रहिरहने स्थिति बन्न पक्कै सहज हुने थिएन।

अन्तत: अमेरिका-बेलायत कुटनैतिक चिसोपनाले बिश्राम लिने स्थिति निर्माण भएको छ। राष्ट्रपति ट्रम्पले मन पराएका पूर्व अमेरिकी नागरिक बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको अबस्थामा बेला-बेला देखिने अमेरिका-बेलायत तनाव कम हुने आँकलन गर्न थालिएको छ।

लिक भएको भनिएको राजदूत किमको इमेलको भाषा यस्तो थियो भनिन्छ-

यस मामिलामा राष्ट्रपति ट्रम्पका केही ताजा ट्वीटहरु-

तस्बिर: सिएनएन


२५ असार २०७६, बुधबार १४:१२ मा प्रकाशित