दुइ तिहाइको सरकार अधिनायक :  गौतम

दूरबिन नेपाल     २६ असार २०७६, बिहीबार १४:४५    

कृष्णराज खनाल

वोस्टन, अमेरिका । नेपाली काँग्रेसका युवा नेता तथा सांसद सञ्जय गौतमले वर्तमान नेकपाको दुइ तिहाइको सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको आरोप लगाउनुभएको छ ।

नेपाली जनसम्पर्क समिति, वोस्टन च्याप्टरले उहाँको सम्मानमा वुधवार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आरोप लगाउनुभएको हो । वर्तमान सरकारले चालेका हरेक कदमले यो कुराको पुष्टि गरेको छ भन्दै उहाँले भन्नुभयो वर्तमान सरकारले नवधनाढ्य वर्गलाई जन्माएको छ, यो देशका लागि अभिषाप हो ।

वर्दिया क्षेत्रबाट नेकपाका एक प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई अत्यधिक मतले पराजित गरेर चर्चामा आउनुभएका नेता गौतमले वर्तमान सरकारका क्रियाकलाप सह्य नभएको बताउँदै वर्तमान लोकतान्त्रिक संघीय गणतन्त्रको विकल्प नरहेको खुलासा पनि गर्नुभयो । उहाँले भन्नुभयो निराश नबनौँ, सकारात्मक सोचको विकास गरौँ, ठूलो दुखले आर्जेको यो उपलब्धि गुम्यो भने हामीले प्राप्त गरेको यो मूल्य र मान्यता पनि गुम्छ र देश अँधेरो गुफातिर जान्छ भन्नुभयो ।

 

नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आफूले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउँदै उहाँले भन्नुभयो नेपाली काँग्रेसको महाधिवेशन समयमा नै सम्पन्न गर्न सबैजना लागिपरेका छौँ र यो समयमा नै हुन्छ । एक प्रश्नको उत्तरमा उहाँले थप्नुभयो नेपाली काँग्रेसले संसदमा रचनात्मक भूमिका निर्वाह गरेको जानकारी दिँदै भन्नुभयो यो सरकारलाई मनपरि गर्न हामीहरुले रोकेका छौँ ।

नेपाली काँग्रेसको घर मजबुत बनाउनुपर्ने कुरामा जोड दिँदै सांसद गौतमले भन्नुभयो पहिला बिग्रिएको हाम्रो घर मजबुत बनाएर पार्टीलाई सुदृढीकरण गरौँ, महाधिवेशन सकेसम्म चाँडो गरौँ र एक ढिक्का भएर गयौँ भने आगामी निर्वाचन हाम्रा लागि सहज हुन्छ । श्री गौतमले थप्नुभयो यो महाधिवेशनमा पार्टीलाई पुनर्जीवन दिन सकिएन भने हाम्रो भविष्य पनि छैन भन्दै सांसद गौतमले आफूले संसदमा खेल्नुपर्ने भूमिका निर्वाह गर्न नसकेकोमा स्वीकारोक्ति भने जनाउनुभयो । उहाँले चेतावनीपूर्वक भन्नुभयो गुट र उपगुटले नेका अगाडि बढ्न सक्दैन, अनुशासन र मर्यादामा रहेर सबै जना अगाडि बढेमा नेकाको भविष्य उज्ज्वल रहेको विश्वास पनि उहाँले दिनुभयो ।

विदेशमा बस्ने नेपालीहरुको दोहोरो नागरिकताको कुरा राज्य व्यवस्था समितिमा अड्केको प्रसंग उठाउँदै उहाँले भन्नुभयो समयानुकल यो कानुन बन्छ र जहाँसम्म बाहिर बस्नेहरुलाई मतदानको अधिकारको कुरा छ, सर्वोच्चले त्यो पनि पारित गरिसकेको छ र नेपाली काँग्रेसका धेरै साथीहरु यो विषयमा सहमत रहेको पनि जानकारी दिनुभयो ।

अमेरिकाको छोटो समयको बसाइका क्रममा नेपाललाई माया गर्ने थुप्रै युवालाई भेटेको जनाउँदै सांसद गौतमले भन्नुभयो तपाईहरुले व्यक्त गरेको चासो र चिन्ता नेपालसम्म पुर्याउने वचनवद्धता जनाउँछु ।

अमेरिकाको सिकागोमा सम्पन्न एनआरएनको नवनियुक्त पदाधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित भएर उहाँ वोस्टन आउनुभएको हो । यस अघि मंगलवार उहाँले न्यूह्याम्पसायरमा पनि यस किसिमको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।


२६ असार २०७६, बिहीबार १४:४५ मा प्रकाशित