गाउँका सबै घरमा नीलो छाना र कलेजी भित्ता

हिमलाल पराजुली     ३० असार २०७६, सोमबार १४:४३    

गाउँका सबै घरमा नीलो छाना र कलेजी भित्ता
स्याङ्जा, ३० असार (रासस) ः  जिल्लाको पूर्वी भागमा पर्ने हरिनाश गाउँपालिका सुविधाका हिसाबले कम पहुँच भएको पालिका भए पनि यहाँको विकासनिर्माण, सामाजिक एकरुपता तथा मेलमिलापमा निकै परिवर्तन आएको अनुभूति भएको छ । समाजमा एकरुपता ल्याउने उद्देश्यले सिङ्गो चित्रे गाउँका सबै घर एउटै रङले सजाउन थालिएको छ  । यहाँका १०२ घरधुरीका छानामा नीलो टिनको जस्ता पाता  लगाइएको छ  भने घरका भित्ता कलेजी र हरियो रङले चिटिक्क पारिएको छ ।
मगर जातिको बाहुल्य रहेको सो गाउँका सबै घरमा गाउँपालिकाको ७० प्रतिशत र स्थानीयवासीको ३० प्रतिशत लगानीमा गाउँभरिका घरमा एउटै रङ लगाइएको हो ।  गाउँपालिकाभित्र एकरुपता ल्याउनका लागि सो अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख खिमनारायण मानन्धरले बताउनुभयो । मानन्धरले भन्नुभयो “हरिनाश समृद्धिको लक्ष्यमा छ, अहिले चेतना र एकताको सन्देश फैलाएका छौंँ ।” चित्रेसँंगै पुरकोट गाउँमा पनि खरको छाना भएको घरमा जस्तापाता लगाउने काम भइरहेको मानन्धरले जानकारी दिनुभयो ।
गाउँपालिकाको छुट्टै पहिचान स्थापना गर्नका लागि पालिकाका सबै घरधुरीमा एउटै रङ लगाउने अभियान पालिकाले अगाडि सारेको गाउँपालिकाका उपाध्यक्ष झममाया पराजुलीले बताउनुभयो । सबै स्थानीयवासीले एकका आँखामा अर्कालाई समान देख्ने वातावरणको विकास नभएसम्म समाजको विकासमा कठिनाइ हुने भएकाले एकरुपताको सन्देश दिन सो अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । पालिकाभित्र तीन हजार ३९४ घरधुरी छन् । जनगणना २०६८ अनुसार २१ हजार सर्वसाधारण यहाँ बसोबास गर्दै आएका छन् ।
यातायातको पूर्वाधारविना विकास सम्भव नहुने भन्दै विकासको मेरुदण्डसडक सञ्जाललाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ । सात वटा वडा रहेको गाउँपालिकाले  गाउँगाउँमा कच्ची सडक पु¥याउने योजनाका साथ सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
जिल्ला सदरमुकामभन्दा कास्कीका पोखरा र तनहुँको भिमाद पायक पर्ने भएकाले पनि सो गाउँपालिकाका बासिन्दाको किनमेल एवं दैनिक कामकाज छिमेकी जिल्लाका बजारमा हुने गरेको छ । गाउँपालिकादेखि नजीकको दूरीमा रहेको तनहुँको भिमाद बजारसम्म जाने सडक कालोपत्रे भएमा किसानले उत्पादन गरेका अदुवा, सुन्तला, पशुपक्षीलगायत कृषकले उत्पादन गरेका वस्तुको बिक्रीवितरणमा सहज हुने र कृषि पेशामा युवा पुस्ताको आकर्षण बढाउन सकिने वडा नम्बर ३ का  नैनदत्त सिग्देलले बताउनुभयो ।


३० असार २०७६, सोमबार १४:४३ मा प्रकाशित