ट्रम्पको ट्वीटः “हामी कम्युनिष्ट बन्दैनौं, मननपरे फर्के हुन्छ” समाजवादी र कम्युनिष्ट बन्न पुरानै मुलुक फर्किन चुनौती

दूरबिन नेपाल     १ श्रावण २०७६, बुधबार ००:३१    

दूरबिन नेपाल, जुलाई १६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका कहिल्यै कम्युनिष्ट र समाजवादी राष्ट्र बन्न नसक्ने अभिव्यक्ति दिएका छन । जुलाई १५ मा ट्वीटमार्फत आफ्नो धारणा राख्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको नीति प्रति चित्त नबुझे वा यो विचारधारमा सहमत नहुनेलाई अमेरिका छोड्न चुनौती दिएका छन । केही व्यक्ति अमेरिकामा रहेरपनि अमेरिका र अमेरिकीहरुलाई घृणा गरेको भन्दै सो ट्वीटमा उल्लेख गरेका छन ।

जुलाई १४ मा अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेको ट्वीट रंगभेदी र जातीय विभेदकारी भएको भन्दै निकै आलोचना भएपछि त्यसको जवाफ स्वरुप पछिल्लो ट्वीट सार्वजनिक भएको हो । जुलाई १४ मा जारी गरेको ट्वीटमा ट्रम्पले ड्मोेक्रयाटीक पार्टीका केहि महिला सांसदहरुलाई लक्षित गर्दै महिला सांसदहरुलाई प्रगतिशिल डेमोक्रयाट भन्दै उनीहरु पुर्णतः असफल मुलुकबाट अमेरिका आएको आरोप लगाएका थिए । डेमोक्रयाटहरुप्रति आक्रोशित हुंदै राष्ट्रपति ट्रम्पले केही डेमोक्रयाटहरुले समाजवादी र कम्युनिष्टको वकालत गरेको, अमेरिकाकोे इजरायल नीतिको विरोधी भएको, आतंकवादी संगठन अल कायदाको समर्थन गरेको तथा सिमा सुरक्षा नचाहेको आरोप लगाउंदै लगातार ट्वीट गरीरहेका छन । राष्ट्रपतिको सो ट्वीट रंगभेदी भएको भन्दै तिब्र आलोचना भएपछि राष्ट्रपति ट्रम्पले फेरी अर्को ट्वीट गर्दै आफ्नो धारणा रंगभेदी नभएको र आफ्नो हड्डीमा नै रंगभेद नरहेको दावी गरेका छन ।

आप्रवासीहरुलाई हिरासतमा लिएर राख्न बनाइएको डिटेन्सन क्याम्पलाई हिटलरको कन्सन्ट्रेसन क्याम्पसंग तुलना गरेकोमा तिव्र आपत्ति  जनाउंदै राष्ट्रपति ट्रम्पले त्यो अवैध आप्रवासीहरुलाई दिइएको सुविधा भएको जिकीर गर्दै यतिबेला अमेरिका इतिहासकै सबैभन्दा बलियो भएको दावी गरेका छन । आफ्नो ट्वीटको गलत अर्थ लगाई राजनीतिक फाइदा लिन खोजेको आरोपपनि राष्ट्रपति ट्रम्पले डेमोक्रयाटहरुलाई लगाएका छन । पछिल्लो समय राष्ट्रपति ट्रम्पले ट्वीटर मार्फत आक्रामक अभिव्यक्ति दिंदै आएका छन ।

 


१ श्रावण २०७६, बुधबार ००:३१ मा प्रकाशित