न्युयोर्कः २१ बर्ष नपुगी धुम्रपान गर्न नपाइने दुई बर्षमा दुइ गुणाले अम्मली बढे

बद्रि गौतम     १ श्रावण २०७६, बुधबार ०३:००    

 न्युयोर्क, जुलाई १६

न्युयोर्कमा अब २१ बर्ष नपुगी सूर्ती चुरोट तथा विद्युतीय चुरोट किन्न नपाइने भएको छ । न्युयोर्क राज्यका गभर्नर एंड्रयु कुमोले मंगलबार धुम्रपान सम्बन्धि विधेयकमा हस्ताक्षर गरी काुनुनी रुप दिएका हुन । सो विधेयक हस्ताक्षर गरेको एक सय २० दिनपछि कानुनको रुपमा लागु हुन्छ । यसअघि धुम्रपानजन्य वस्तु खरिद गर्न पाउने उमेर १८ बर्ष तोकिएको थियो । मंगलबार गभर्नर कुमोले बिलको बारेमा प्रेस रिलिज गर्दै युवाहरुलाई धुम्रपान गर्नबाट रोक्नु विधेयकको उद्धेश्य भएको बताएका छन । कुमोले धुम्रपान सेवन गर्न पाउने उमेर १८ बाट २१ बर्ष बनाउंदा युवाहरुको हातमा सिग्रेट पर्नबाट जोगाउन सकिन्छ भन्ने दावी गरे । यो कानुनले पुरै पुस्तालाई घातक र महंगो रोगबाट बचाउन सकिने उनको जिकिर छ । कुमोले गत जनवरीमा तम्बाकुजन्य उत्पादनको खरिदकोलागि न्युनतम आयु बढाइने घोषणा गरेका थिए ।


न्युयोर्क राज्यको स्वास्थ्य विभागका अनुसार विद्युतीय चुरोट न्युयोर्कका युवाहरुले अत्यधिक प्रयोग गर्न थालेका छन । सन २०१४ देखि १६ को विचमा विद्युतीय उत्पादन र विक्रि वितरण दुइगुणाले बढेको थियो । न्युयोर्क स्टेट डिपार्टमेन्टका अनुसार औषत १३ बर्षको उमेरमा हाइस्कुलका झण्डै ३५ हजार विद्यार्थीहरुले धुम्रपान गर्दछन । गैर नाफामुलक संस्था टोबाको फ्रि किड्सका अनुसार वासिङटन डिसी सहित १६ राज्यमा धुम्रपान जन्य उत्पादन खरिद गर्ने उमेर १८ बर्षबाट बढाएर २१ बर्ष बनाइएको छ


१ श्रावण २०७६, बुधबार ०३:०० मा प्रकाशित