‘नाचौँ मितिनी’ गीति क्यासेट सार्वजनिक

दूरबिन नेपाल     २ श्रावण २०७६, बिहीबार १२:५१    

काठमाडौँ, २ साउन (रासस) ः गीतकार दिनेश अधिकारीको शब्द तथा गायिका इन्दिरा भट्टराईले स्वर दिनुभएको ‘नाचौँ मितिनी’ गीति क्यासेट आज सार्वजनिक भएको छ ।
 कलाकारद्वय नितु कोइराला र सम्झना बुढाथोकीको मुख्य अभिनय रहेको उक्त क्यासेटमा घर माइतीको सम्बन्धलाई निकट बनाउन तीज पर्वको महत्व दर्साइएको छ । संस्कृतिका रुपमा महत्व रहेको हिन्दू नारीको तीजका विभिद पक्षलाई देखाउन खोजिएको छ ।
 यहाँ आज आयोजत कार्यक्रममा गीतकार अधिकारीले उक्त क्यासेटको विमोचन गर्दै महिला समुदायले स्थानीय माटोको स्मरण गर्ने, माइतीसँग मिलन हुने सांस्कृतिक पर्व तीजले विविधतामा एकता थप्ने विश्वास गर्नुभयो । दशैँ, तिहारजस्ता पर्वका बारे गीत लेखेको बताउँदै उहाँले चेलीको बालापनलाई महत्व दिएर देखाउन उक्त गीत रचना गरिएको बताउनुभयो ।
 गायिका भट्टराईले विभिन्न राजनीतिक आन्दोलनमा महिला सहभागिता भएको भए पनि उनीहरुमाथि हिंसा हुने गरेकामा चिन्ता व्यक्त गर्नुभयो । नीतिगत रुपमा निर्णायक स्थानमा पुग्न महिला समुदायलाई कठिन रहेको अहिलेको अवस्थामा नारीका ब्यथा, पीडालाई तीजका गीतमार्फत बाहिर ल्याउने गरिएको बताउनुभयो ।
 सङ्गीतकार सन्तोष श्रेष्ठले उक्त गीतमा चयन गरिएका शब्द गाउँले जनजीवनमा प्रयोग हुने भएकाले राम्रो रहेको बतउँदै त्यसमा भरिएको सङ्गीत तथा छायाङ्कन हेर्दा गाउँ घरको झझल्को पाइने मौलिकता रहेको बताउनुभयो ।


२ श्रावण २०७६, बिहीबार १२:५१ मा प्रकाशित