एनआरएनए अध्यक्षमा कुल आचार्य र कुमार पन्त भिड्ने भवन भट्ट यस पटक नेतृत्वका लागि अगाडि नबढ्ने

दूरबिन नेपाल     ९ श्रावण २०७६, बिहीबार ०६:४९    

अमेरिका, जुलाई २४

अध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि नेतृत्वमा प्रतिस्पर्धा नगर्ने बुधवार सार्वजनिक गरेका छन् । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्वका लागि अव उपाध्यक्ष द्वय कुल आचार्य र कुमार पन्त बिच प्रतिस्पर्धा हुने भएको छ ।

भवन भट्ट र कुल आचार्यलाई मिलेर नेतृत्वका लागि प्रतिस्पर्धामा अगाडि जान सल्लाह दिइरहेको समूहले अव कुल आचार्यलाई अगाडि बढाउने निश्चित प्राय छ । अध्यक्ष भट्ट सार्वजनिक रूपमा कुनै पक्षमा नदेखिए पनि कुल आचार्यलाई सहयोग गर्ने धेरैको अनुमान छ । कुल आचार्यलाई चुनावी मैदानमा जान सजिलो होस भन्नकै लागि भट्टले प्रतिस्पर्धामा नआउने सार्वजनिक गरेको एक पक्षको तर्क छ । भवन भट्ट र शेष घले समूहलाई समेत विश्वासमा लिएर कुल आचार्यले उपाध्यक्ष, महासचिव लगायतका केही महत्त्वपूर्ण पदहरूमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरूको नाम सहित आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने आचार्य पक्षको भनाइ छ ।

कुमार पन्त पक्षलाई च्यापेर काम गर्न असहज बनाउँदै भट्टलाई कमजोर देखाउने र घेराबन्दी गर्न खोजे पछि गत साधारण सभामा भट्टले चुनौती दिँदै दोस्रो कार्यकालका लागि अगाडि बढ्न सक्ने मञ्चबाटै सार्वजनिक गरेका थिए । सार्वजनिक अभिव्यक्तिसँगै भट्ट र पन्त बिचमा नेतृत्व हस्तान्तरणका लागि दुई वर्ष अघि भएको भद्र सहमतिमा बिराम लागेको थियो ।

कुमार पन्तलाई बाटो सहज गर्न केही पूर्व अध्यक्ष आगामी नेतृत्वका लागि भएको सहमतिमा आउन भट्टलाई फकाउने प्रयास गरिरहेका छन् । एक वर्ष अगाडि देखि नै चुनावी अभियानमा होमिएका उपाध्यक्ष कुमार पन्तलाई जिताउन अध्यक्ष भट्ट र शेष घले खुलेर मैदानमा नदेखिएको अवस्थामा निर्वाचन परिणाम यस पटक अहिले नै अनुमान गर्नु हतारो मात्र हुने छ ।


९ श्रावण २०७६, बिहीबार ०६:४९ मा प्रकाशित