एनआरएनएमा चुलिँदै मोर्चावन्दि यस पटक नेपाली काँग्रेसले मौनता तोड्न सक्ने

दूरबिन नेपाल     १८ श्रावण २०७६, शनिबार १५:०५    

अमेरिका ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने अधिवेशन र नेतृत्व चयनको विषयले प्रवासी नेपालीहरूमा आरोप प्रत्यारोप र धुर्बिकरण चुलिँदै गएको छ । अमेरिका लगायत विश्वभरका ७९ एनसीसीहरुमा आफ्नो प्रभाव जमाउन र नेतृत्व हत्याउन मोर्चा खोलेर प्रयासहरू भइरहेका छन् । युरोप क्षेत्रको भेला पछि त्यहाँ जम्मा भएका एनआरएनहरूले धुर्विकरण र तालमेलको एउटा प्रारूप तयार गर्ने सम्भावना छ । यसपछि प्रतिनिधि चयनको टुङ्गो नलाग्दासम्म स्वार्थगत समूहको लडाइ उत्कर्ष तर्फ जाने निश्चित छ ।

अमेरिका, अस्ट्रेलिया लगायत केही मुलुकमा मात्र एनसीसीको निर्वाचन सम्पन्न भएता पनि नेतृत्वका लागि दौडधुपले भने तीव्रता लिएको छ । अध्यक्ष भवन भट्टले यस पटक नेतृत्वका लागि दौडमा नरहने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । भट्टले आफू नउठ्ने उद्घोष सहित दिएको अभिव्यक्तिमा रहेका केही चर्चित साथै अर्थपूर्ण र पेचिला वाक्यले एनआरएनएलाई तताएको छ । भट्टले भनेका छन्  “भाइरसहरूले हामीलाई कमजोर बनाउने प्रयास गर्न छोडेका छैनन् । यहाँ एनआरएनएको छाला ओढेर बसेका लोभी स्लाको बुई चढेर स्वार्थको रडाको मच्चाउने बुँवासाहरुको कुनै कमी छैन । विगतमा झैँ तिनीहरूको प्रयास सकिएको छैन ।”

यसमा भट्टको जे आशय भए पनि आ–आफ्नै ढङ्गले अथ्र्याउने र आफ्नो पक्षमा देखाउने प्रयास सबैले गरिरहेका छन् । पूर्व अध्यक्ष जिबा लामिछाने र उनको साथ पाएका उपाध्यक्ष कुमार पन्त प्रति लक्षित भएको धेरैले बुझाइ रहेको छ । एक वर्ष अगाडिसम्म एउटै मोर्चामा रहेका भट्ट र लामिछाने एनआरएनएको साधारण सभामा मञ्चबाटै आरोप प्रत्यारोप र छेड छाडमा उत्रिए पछि भित्री मनमुटाब छताछुल्ल भएको थियो । त्यही जगमा एनआरएनए भित्र यसलाई अथ्र्याउन प्रयास गरिएको देखिन्छ ।

अध्यक्ष भट्टको पछिल्लो लामो र पेचिलो अभिव्यक्ति आएको केही दिनमा नै शांकेतिक तस्बिर राख्दै “गफाष्टक र कुरौटे भएकाले जीब्रोमै काँटी ठोकी दिएको रे ।”  भन्दै पूर्व अध्यक्ष जिबा लामिछाने आफ्नो फेसबुकवालमा पोस्ट गरे पछि यो विषयमा झनै घनिभूत बहस भइरहेको छ । कतिपयले अध्यक्ष भवन भट्टलाई पूर्व अध्यक्ष जिबा लामिछानेले दिएको चोटिलो जवाफका रूपमा लिएका छन् । पूर्व अध्यक्ष जिबा लामिछाने र उपाध्यक्ष कुमार पन्तको विपक्षमा उभिने मोर्चामा अव भवन भट्टको साथ रहने केही पत्रपत्रिकामा समाचार विश्लेषण आइरहेको छ ।

भट्ट र लामिछानेको लडाइ मात्र होइन राजनीतिक कोणबाट पनि यस पटक एनआरएनएमा मोर्चाबन्दि हुने समाचारहरू आइरहेका छन् । केही दिन पहिला कान्तिपुर दैनिक, अनलाइन खबर, बाह्रखरी लगायतका प्रभावशाली मिडियाहरूमा प्रकाशित समाचारमा अध्यक्षका प्रमुख दाबेदार कुमार पन्तलाई वामपन्थी धारको र कुल आचार्यलाई प्रजातान्त्रिक समूहको साथ रहेन उल्लेख छ । देश भित्र सबै ठाउँमा कब्जा जमाइरहेको सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपा र अन्तरघातले सबै ठाउँमा पराजित र कमजोर भएको नेपाली काँग्रेसले यस पटक अन्तर्राष्ट्रिय ग्राउण्डलाई पनि आफ्नो पक्षमा पार्न कसरत गर्ने निश्चित प्राय छ । एनआरएनएको विषयमा सधैँ नै मौन र तथष्ट बस्ने नेपाली काँग्रेसले यस पटक चासो बढाएको छ ।

आफू निकट समूहलाई दुई ठुला पार्टीले एनआरएनमा साथ दिने र सहयोग गर्ने सम्भावना अधिक भए पनि व्यक्तिगत स्वार्थ र अन्तरकलहका कारण वैचारिक राजनीतिक मोर्चा र धार भन्दा फरक समूहमा केही व्यक्तिहरू उभिन सक्ने सम्भावना भने रहिरहन्छ । यद्यपि युरोपको १२ औँ क्षेत्रीय भेलामा विश्वभरबाट जम्मा भएका एनआरएनए अभियान्ताहरुको साइड लाइन बैठकले आ–आफ्नो समूहलाई वैचारिक रूपमा एउटै शृङ्खलामा उभ्याउन प्रयास समेत गर्ने छन् ।

सबै भन्दा ठुलो एनसीसी र सहयोगी शक्ति भएर पनि अमेरिकाले गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदमा कहिले पनि महत्त्वपूर्ण जिम्मेवारी पाएको छैन । पूर्व स्वभियत सङ्घ रुसका केही व्यापारीहरूको पहलमा स्थापना भएको एनआरएनएमा अहिलेसम्म उनीहरूको तजबिजमा इच्छाएका व्यक्तिले मात्र महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । एनआरएनए अमेरिकाको अन्तरकलहमा कमजोर पक्षलाई मलजल गर्दै कहिले पनि माथि उठ्न नदिने उनीहरूको रणनीति रहेको देखिन्छ । यस पटक त आफ्नो इसारामा चल्नेहरूलाई प्रयोग गरेर एनआरएनए अमेरिकामा विग्रह गराउँदै खारेज नै गराउने प्रयास समेत उनीहरूबाट भएको जगजाहेर छ ।

एनआरएनए अमेरिकाबाट प्रभावशाली व्यक्ति भन्दा पनि आफ्ना इसारामा चल्ने कमजोर व्यक्तिलाई प्रभावहीन ठाउँमा उभ्याएर नाम मात्रको उपस्थितिमा सीमित गर्ने प्रयास यस पटक पनि उनीहरूले गर्ने देखिन्छ । एनआरएनए भित्र यस पटक दुई बलिया धार तयार भइसकेका कारण विगतमा जस्तो रसियन ब्लकको एकतर्फी प्रभाव कमजोर हुने सम्भावना बढेर गएको छ । अन्तरकलहका कारण अहिले दुई धारमा जो जता उभिएपनि कालन्तरमा अमेरिकालाई नेतृत्वसम्म पुग्ने ढोका खोल्न सोभियत सङ्घ प्रभावित राज्यहरूको घट्दो प्रभाव सुखद सङ्केत हुनसक्छ ।


१८ श्रावण २०७६, शनिबार १५:०५ मा प्रकाशित