अमेरिकाको वोस्टनमा नेपालीले चर्च किनेर बनाए मन्दिर

कृष्णराज खनाल     २२ श्रावण २०७६, बुधबार २१:५९    

कृष्णराज खनाल

वोस्टन । वोस्टनमा पशुपतिनाथ र वुद्ध स्तूपासहितको नेपाली सामुदायिक केन्द्र बनाउने चाहना पूरा भएको छ ।

बुधवार नर्थफोक काउन्टीस्थित रजिस्ट्री अफ डिड (मालपोत कार्यालय) मा आयोजित कार्यक्रममा केन्द्रका लागि आवश्यक भवन खरिद तथा लेनदेनका विषयमा हस्ताक्षर सम्पन्न भएपछि वोस्टनवासी नेपालीको चाहना पूरा हुने भएको हो ।

वोस्टनको मुख्य सहरबाट करिब २० मिनेट दक्षिणी इलाका व्रेनट्रीको वांशिटन स्ट्रिटमा सो भवन रहेको छ । उक्त भवन १७ लाख ५० हजार डलरमा पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यूइंगल्याण्डले किनेको हो । फाउन्डेसनले आजै सो भवनको चाबी पनि प्राप्त गरेको छ । करिब एक महिना अघि सम्पन्न प्याब्फोनको साधारण सभाले भवन खरिदका लागि अनुमति प्रदान गरेको थियो । सोही आधारमा बुधवार सो भवन प्याव्फोनको नाममा नाममा नामसारी भएको हो । सो भवनका लागि प्याव्फोनले आठ लाख ७५ हजार डलर डाउन पेमेन्ट गरेको छ भने यसको मासिक मोर्गेज पाँच हजार आठ सय रहेको छ ।

यस अघि सो भवन फस्ट वाप्टिस्ट चर्चका रुपमा रहेको थियो । सो भवन खरिदका लागि पशुपतिनाथ वुद्ध फाउन्डेसन अफ न्यूइंगल्याण्ड अर्थात् प्याव्फोनको तर्फबाट अध्यक्ष विष्णुमणि आचार्य र कोषाध्यक्ष सुशीलचन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको थियो भने विक्रेताका तर्फबाट जर्ज क्लिमेन्टले हस्ताक्षर गर्नुभएको थियो । त्यस अवसरमा क्रेता, विक्रेता र बैँकका वकिल एवं प्याव्फोनका पदाधिकारीको ठूलो संख्यामा उपस्थिति थियो । यो हस्ताक्षर सँगसँगै वोस्टनमा खुसीयाली छाएको छ र आज साँझ नै सो भवनमा विशेष साँगीतिक तथा शुभकामना आदान प्रदान गरिने कार्यक्रम रहेको छ ।

 

यो वोस्टनवासी नेपालीको लागि ज्यादै खुसीको कुरा हो, लामो समयदेखि हामी वोस्टनवासीले गरेको प्रयासको प्रतिफल हो अध्यक्ष विष्णुमणि आचार्यले भन्नुभयो । उहाँले आजै पशुपतिनाथ र स्वयम्भूको स्तूपाको प्रतीमा स्थापना गरिने जानकारी पनि दिनुभयो । उहाँका अनुसार, मन्दिरका लागि आवश्यक पर्ने शिवलिंग, शिव र वुद्धको मूर्तिलगायत अरु मूर्ति तथा प्रतिमा पनि केही दिनमा नै स्थापना हुनेछ ।

सन् २०१२ मा स्थापना भइ देउसी भैलो तथा अन्य कार्यबाट सानोतिनो रकम संकलन गर्दै आएको प्याव्फोनले दुइ वर्ष अघि वाचन प्रवीण पं. दीनवन्धु पोखरेललाई आमन्त्रण गरी श्रीमद्भागवत कथा महापुराण अर्थात् वोस्टन सप्ताह आयोजना सम्पन्न गरेको थियो । त्यस अवसरमा केही नगद र धेरै उधारो गरी करिब १५ लाख डलर संकलन भएको थियो । अहिले सो उधारो रकम पनि जोडतोडका साथ उठाउने अभियान प्रारम्भ गरिएको छ र यसबाट हालसम्म १० लाख ४१ हजार डलर संकलन भएको कुरा कोषाध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

४७ वटा पार्किंग र १४ हजार ४०० स्क्वायर फिट क्षेत्रफल ओगटेको सो भवन रेडलाइन रेलको अन्तिम स्टेसनसँगै रहेको छ ।


२२ श्रावण २०७६, बुधबार २१:५९ मा प्रकाशित