अ‍मेरिकाका राष्ट्रपतिको कुर्सी हल्लाउने यौन सम्बन्धमा सिरियल निर्माण

जाङ्बु शेर्पा – दूरबिन नेपाल     २३ श्रावण २०७६, बिहीबार १२:३२    

जाङ्बु शेर्पा – दूरबिन नेपाल

अमेरिका, अगष्ट ८ ।  विश्वका सर्वशक्तिशाली व्यक्तिसँगको चर्चित सेक्स स्क्यान्डलमा आधारित टेलिभिजन सिरियल निर्माण हुने भएको छ । विश्वको ध्यान तानेको सो घटनाकी मुख्य पात्र मोनिका लेवेन्सिकीले नै सिरियल निर्माण गर्ने भएकी हुन् । पूर्व राष्ट्रपति विल क्लिनटनसँग उनको सम्बन्धमा आधारित सिरियल निर्माण गर्न आवश्यक तयारी पुरा भइसकेको छ ।

 

विश्वका सर्व शक्तिशाली व्यक्ति तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टनको पद नै त्यो यौन काण्डले झन्डै धरापमा परेको थियो । त्यही सम्बन्धका कारण चर्चामा आएकी मोडल मोनिका लेवेन्सिकिले अहिले आएर तत्कालीन राष्ट्रपतीसगँको आफ्नो सम्बन्धमाथि सिरिज निर्माण गर्ने घोषणा गरेपछि पुन चर्चामा आएकी छन् । सन् १९९० मा ह्वाइट हाउसमा भएको यो घटना विश्वको सर्वाधिक चर्चित सेक्स स्क्यान्डलका रूपमा चिनिन्छ ।

 

पूर्व राष्ट्रपति क्लिन्टनको मोनिकासगको चक्करले उतिखेर अमेरिका भरिनै हङ्गामा मच्चिएको थियो । सिरिज सन २०२० सम्ममा प्रदर्शनमा आउने छ । सिरिजमा विल क्लिन्टन र हिलारी क्लिन्टनको भूमिकाको रूपमा अभिनय गर्ने कलकारको तय नभए पनि मोनिकाको भूमिकामा भने वेनी फेलडिस्टेनले अभिनय गर्ने तय भएको छ ।

 

लामो समय देखि शान्त रहेको उक्त घटनालाई मोनिकाले नारी आवाजको रूपमा सिरिज मार्फत बाहिर ल्याउन लागेको बताएकी छन् । हाल ४६ वर्षकी मोनिका क्लिन्टनसँग यौन सम्बन्ध गाँसिदा २२ वर्षकी कलकलउदी आकर्षक युवती थिइन् ।

 

ह्वाइट हाउसमा भएको मोनिका–क्लिन्टन सम्बन्ध माथि यति गर्मागर्मि बहस भएको की विश्व समुदायले नै यसलाई नियाल्न र कान तानेर सुन्न बाध्य भयो । यसै घटनाका कारण क्लिन्टन माथि अमेरिकी संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । तर प्रस्ताव फेल भयो ।

 

राष्ट्रपतिबाट बाहिरिए पश्चात् क्लिन्टनले प्रकाशनमा ल्याएको आत्मावृतान्त ‘माइ लाइफ’ मा भने मोनिका सँगको सम्बन्धमा केही पनि उल्लेख गरेका छैनन् । तर मोनिकाले भने यस घटनालाई बिर्सन चाहिनन् वा सकिनन् । तत्कालीन अवस्थामा राष्ट्रपति क्लिन्टनले पद दुरुपयोग गरेको आरोप लगाउँदै आएकी छन् । चर्चाको शिखरमा पुगेर पनि मोनिका क्लिन्टन सम्बन्ध अहिले भने सामसुम भइसकेको थियो । सिरियल निर्माणसँगै यसले पुन चर्चा बटुल्ने छ ।

एजेन्सीहरूको सहयोगमा


२३ श्रावण २०७६, बिहीबार १२:३२ मा प्रकाशित