एनआरएनए भित्रको नियन्त्रित जन्जिर तोडेर साझा संस्था बनाउने आचार्यको उद्घोष

दूरबिन नेपाल     २४ श्रावण २०७६, शुक्रबार ०२:३९    

लन्डन । चुनावमा भाग लिए पछि हारजित हुन्छ र त्यसलाई सहजै स्वीकार गर्न दृढ निश्चयी भएर अध्यक्षको लागि अगाडि बढिसकेकाले मनगडन्ते हल्लाको पछि लागेर शङ्का नगर्न केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आग्रह गरेका छन् । गैर आवासीय नेपाली सङ्घको अध्यक्षको तयारीमा रहेका आचार्यले आफ्नै कर्म थलो बेलायतमा पेसाकर्मीहरूसँग परामर्श गर्दै उम्मेदवारी कुनै स्वार्थ वा बार्गेनिङका लागि नभएको प्रस्ट समेत गरे । संस्थालाई नियन्त्रणमा राखिरहने अभीष्टले बाँधिएको स्वार्थको जन्जिरलाई तोडेर रिमोटबाट चलाउन अभ्यास गर्नेको खिलाफमा उभिने प्रण समेत गरेका छन् ।

आचार्यले बेलायतमा कार्यरत नेपाली पत्रकार र सञ्चारकर्मीहरूसँग सङ्घको नयाँ नेतृत्वमा बेलायतले कसरी दर्बिलो कदम चाल्ने भन्नेमा बुधवार लन्डनमा परामर्श गरेका हुन् ।
बेलायत एनआरएनएको जनक राष्ट्र मध्येको एक हो । तर नेतृत्वमा पुग्नबाट भने सधैँ वञ्चित छ । सन् २००३ मा युकेबाटै एनआरएन अभियानको सुरुवात भएको थियो । यस वर्ष १४ हजार नेपालीलाई समेटेर सबैभन्दा ठुलो राष्ट्रिय समन्वय समिति बनेको छ । यसले पनि सङ्घको केन्द्रीय अध्यक्षमा बेलायतबाट कुल आचार्यको दाबीलाई स्वाभाविक बनाएको छ ।

परामर्शको क्रममा आचार्यलाई नेतृत्व र एजेन्डाका विषयमा सोधिएका कतिपय प्रश्नको सहज ढङ्गले जवाफ दिए । आचार्यले भने “व्यक्ति भन्दा संस्था ठुलो हो । व्यक्ति नियन्त्रित घेरा र परिधिहरूलाई तोड्दै संस्थागत बनाउने, सवैका साझा एजेन्डालाई प्राथमिकता राख्ने, परम्परागत मान्यता र कर्मकाण्डी शैली भन्दा नयाँ र भिन्न ढङ्गले एनआरएनलाई अगाडी बढाउनु पर्छ ।” छिट्टै सार्वजनिक गर्ने आफ्नो भावी कार्यक्रम र योजनामा यसका सबै पक्ष समेटिने समेत उनले प्रस्ट गरे ।

छलफलका सहभागीहरूले चुनाव अभियानलाई आपसी आरोप, प्रत्यारोप भन्दा कार्यक्रम र एजेन्डाको आधारमा अघि बढाउन सुझाव दिए । छलफलमा नेपाल पत्रकार महासङ्घ युकेका सल्लाहकार तथा पदाधिकारीहरू सहित झन्डै २० जनाको उपस्थिति थियो ।


२४ श्रावण २०७६, शुक्रबार ०२:३९ मा प्रकाशित