एआरएनए अमेरिकाको प्रवक्तामा ओम भट्टराई नियुक्त

दूरबिन नेपाल     २७ श्रावण २०७६, सोमबार १४:२३    

अमेरिका ।

ओम भट्टराईलाई एनआरएनए अमेरिका अध्यक्ष सुनिल साहले प्रवक्तामा नियुक्त गरेका छन् । आइतबार बसेको एनआरएनए अमेरिकाको बैठकमा अध्यक्ष साहले प्रवक्तामा ओम भट्टराईलाई नियुक्त गरेको जानकारी गराएका हुन् । एनआरएनए अमेरिकाको विधानले प्रवक्ता नियुक्त गर्ने सम्पूर्ण अधिकार अध्यक्षलाई प्रदान गरेको छ ।

एनआरएनए अमेरिकाको निर्वाचनको समयमा अध्यक्ष साहको क्याम्पेनिङ म्यानेजरको रूपमा उनले कुशलता पूर्वक भूमिका निर्वाह गरेका थिए । यस अघि भट्टराई तरुण दल नेपाल अमेरिका शाखाका अध्यक्ष थिए । आइतबार नै भट्टराईले तरुण दल अमेरिकाको जिम्मेवारीबाट अलग भएको सार्वजनिक गरेका छन् ।

तरुण दल अमेरिका शाखाको अध्यक्षमा रहदा भट्टराईले संस्थालाई सक्रिय राख्नुको साथै चर्चाको शिखरमा पु¥याएका थिए । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अमेरिका आउँदा कालो झन्डा देखाउँदै उनको सार्वजनिक कार्यक्रम बहिष्कार गर्न भट्टराईले अमेरिकामा बस्ने नेपालीहरूलाई अनुरोध गरेका थिए । त्यस्तै पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल र प्रधानमन्त्री के पी ओली अमेरिका आउँदा पनि तरुण दल अमेरिका शाखाले विरोधको कार्यक्रम राखेको थियो । राजनीतिक आवरणमा नेपालमा भएका हत्या, हिंसा र अधिकार हननको विपक्षमा तरुण दल अमेरिका शाखा अध्यक्ष रहँदा ओम भट्टराईले आवाज बुलन्द गर्दै आएका थिए । भट्टराई अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका छन् ।

सन्नी सरगरमाथा समाजका पूर्व अध्यक्ष साथै नेपाली जन सम्पर्क समिति अमेरिकाका सचिव ईश्वर सापकोटालाई एनआरएनए अमेरिकाको हिजो बसेको बैठकले सल्लाहकारमा नियुक्त गरेको छ । मिजासिलो स्वभावका सापकोटा सामाजिक सेवामा लामो समय देखि सक्रिय छन् । सापकोटा क्यालिफोर्नियाको सन्निभेलमा बस्दै आएका छन् ।


२७ श्रावण २०७६, सोमबार १४:२३ मा प्रकाशित