पत्रकार आत्महत्या प्रकरण : रवी लामिछाने पक्राउ 

दूरबिन नेपाल     ३० श्रावण २०७६, बिहीबार १४:१५    

 

 

काठमाडौँ, ३० साउन ।  पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवी लामिछानेलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

 

चितवन प्रहरीको अनुरोधमा  आवश्यक अनुसन्धानको लागि काठमाडौं प्रहरीले लामिछानेलाई पक्राउ गरेको जनाईएको छ ।  लामिछाने सहित सोही प्रकरणमा मुछिएका युवराज कँडेल र रुकु भनिने नर्स अस्मिता कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारु होटेलको २०२ नम्बर कोठमा माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिग्राम पुडासैनी मृत अवस्था फेला परेका थिए। कोठाबाट लामो समय सम्म बाहिर ननिस्किए पछि होटलका कर्मचारीले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले ढोका फोरेर हेर्दा पडासैनी  पङखामा डोरी लगाइ मृत भएको अवस्था  फेला परेका थिए ।

 

घटनास्थलमा भेटिएको भनिएको पुढासैनीको मोवाइलमा रहेको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफु आत्महत्या गर्न बाध्य भएको भनिएको  थियो । सो भिडियो बुधवार बाहिरिए पछि प्रहरीले आरोपि तीनै जनालाई पक्राउ गरेको हो ।

 

न्यज २४ बाट प्रशारण हुने ‘जनतासँग सीधा कुरा’मा कार्यरत पुढासैनी दुई महिना अगाडि मात्र माउण्टेन टेलिभिजमा गएका थिए । त्यहा उनले मिसन न्युज कार्यक्रम सन्चालन गर्दै आएका थिए ।

 

बुधवार सार्वजनिक भएको भिडियोमा मृत पुडासैनीले रुँदै भनेका छन्’रवि दाई, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ।’

 

नुवाकोटको बेलकोटगढी नगरपालिका ३ घर भएका २७ वर्षीय पुडासैनीको मृत्यु रहस्य मय बनेको छ । मृत बुडासैनीले आरोप लगाएका पूर्व सहकर्मी लामिछाने र कँडेलले सो आरोप अस्वीकार गरेका छन् ।

 

गत वर्ष भदौ १ गतेदेखि लागू भएको कानुनमा आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासहितको मुलुकी अपराध संहिता ऐन, २०७४  ले गरेको छ।


३० श्रावण २०७६, बिहीबार १४:१५ मा प्रकाशित