अनेसास, बेलायत महासम्मेलन र मेरा अनुभूतिहरू

प्रा.डा. दुर्गा दाहाल     ३२ श्रावण २०७६, शनिबार २०:२५    

प्रा.डा. दुर्गा दाहाल

 

   अन्तराष्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) विभिन्न आरोह-अवरोहलाई साक्षी बनाई क्रमश: विकसित र परिष्कृत हुँदै गई रहेको सत्य र तथ्यलाई सबैले नस्वीकारी धर छैन । यसै क्रमलाई निरन्तरता दिँदै गत अगस्त महिनाको ३, ४ र ५ मा बेलायती भूमिलाई यज्ञ बनाई अविस्मरणीय र ऐतिहासिक छैठौँ अन्तराष्ट्रीय नेपाली साहित्यिक महासम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।

अनेसासको आयोजना र बेलायत च्याप्टरको   संयोजनमा बन्धु सुमल कुमार गुरूंगलाई गुरू थापि सभ्यरूपले सम्पन्न उक्त महाधिवेशनमा दर्जनभन्दा बढ़ी राष्ट्र र  ७६ जनाभन्दा अधिक बेलायत  ईतर प्रतिनिधि साथी हरूको सकृय  सहभागिता रहेको देखियो भने बेलायतबासी साहित्यिक मनहरूको पनि उल्लेख्य उपस्थिति थियो ।

सामान्य त्रुटि र कमजोरी बाहेक समग्रमा महाधिवेशन सन्तोषजनक र उपलब्धिपूर्ण थियो । बेलायत जस्तो व्यस्त शहरमा जहाँ नेपालीहरू झन व्यस्त देखिन्छन, स्वयंसेवीहरूको संख्या न्यून छ, व्यवस्थापन समस्या र अनेसासको आर्थिक श्रोत कम भएको परिप्रेक्ष्यमा पनि सुमल बन्धु र सारा बैनीको अहोरात्र शारीरिक र मानसिक श्रमका कारणले र बेलायतवासी कतिपय उदार साहित्यिक नेपाली तन, मन, धन कर्म र वचनको  प्रभावले कार्यक्रम सुसम्पन्न भयो ।

अनेसासका वर्तमान केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीज्यूको गतिशील नेतृत्व, महासचिव गणेश घिमिरे ज्यूको कार्य- तत्परता र सिंगो केन्द्रीय समितिको योगदानको फलस्वरूप यो संभवपर भएको पाईयो । त्यसमाथि पनि बी.ओ. टी का अनुभवी अध्यक्षा तथा अनुभवी निर्देशकज्यू  हरूको मार्गनिर्देशन र सल्लाहकार मण्डलीका सुझावहरू समेत बाधा-अड़चन फुकाउन सहयोगी सिद्ध भएका थिए ।

वरिष्ठ र कनिष्ठ साहित्यकारहरूको यो जमघटमा सिक्किम, दार्जिलिंग र सिलिगुढीबाट पाल्नु हुने विद्वान र विदुषीहरूको उपस्थिति र सकृय सहभागिताले विशेष रौनक़ ल्याएको थियो भने नेपालबाट पाल्नु हुने साहित्यिक व्यक्तित्वहरूले कार्यक्रमको कान्ति बढाएका थिए ।

त्यसैगरि  अष्ट्रेलिया, जापान, बेल्जियम, पोर्चुगल, जर्मनी र अमेरिका लगायत अन्य विभिन्न राष्ट्रबाट प्रतिनिधित्व  गर्नु हुने विशिष्ट महानुभावहरूले  उक्त कार्यक्रमको महिमा, गरिमा र अस्मिता जोगाएका थिए ।
स्मरणीय रहोस, पूर्व अध्यक्ष तथा सबैभन्दा ज्येष्ठ साहित्यकार प्रा. मोहन सिटौला लगायत दर्जनभन्दा बढ़ी साहित्यकारहरू आ-आफ्ना धर्मपत्नीहरू समेत लिएर सरीक भएका थिए । क़रीब ७० प्रतिशतभन्दा बढ़ी सहभागीहरू देवी हुनु अर्को एउटा रोचक र घोचक पक्ष थियो ।

महासम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका उप-कुलपति स्वनामधन्य डा. जगमान गुरूंग, बेलायतका लागि नेपाली राजदूत डा. दुबसु क्षेत्री, त्रि.वि. वि का प्राध्यापक एवं समालोचक प्रा. डा. खगेन्द्र लुईँटेल र नेपाल गोरखापत्रका प्रबन्ध निर्देशक/ प्रधान संपादक वरिष्ठ साहित्यकार श्री ओमश्रेष्ठ “रोदन”को सकृय उपस्थिति र निष्ठापूर्ण सहभागिताले कार्यक्रमको शान, मान र ओज ह्वात्तै बढाएको थियो ।

विशेष गरि जगमान सरको शालीनता, सरलता, सहजता,इमान्दारिता  बौद्धिकता र उहाँले सिंचन गरेको सबैप्रतिको समभाव व्यवहार र दृष्टिले भीष्म पितामहलाई स्मरण गराई दिएको थियो । यस्ता एक विद्वान सगरमाथासंग संगत गर्न पाउनु, संगै बस्न र खान-पान गर्न पाउनु र उहाँलाई स्पर्श गर्न पाउनु मेरा लागि अहोभाग्य थियो । यस्का निम्ति सुमलबन्धु मेरा लागि धन्यवादको पात्र हुनुहुन्छ ।

यति धेरै विद्वान, साहित्यिक सर्जक र श्रष्टाहरूको समुपस्थितिमा मेरा दिवंगत माता- पिताको नाममा “ बासुदेव-मालती स्मृति अन्तराष्ट्रीय साहित्यिक पुरष्कार “ हरेक अन्तराष्ट्रीय साहित्यिक महासम्मेलनमा एकजना प्रख्यात साहित्यकारलाई पुरष्कृत गर्न पाउनु मेरा लागि अहोभाग्यको विषय बनेको छ ।
यस पटक यो पुरष्कारको राशि ( $ २१११ ) वरिंष्ठ साहित्यकार स्वनामधन्य लील ब. क्षेत्रीलाई ( बहुचर्चित उपन्यास “ बसाईँ “ का लेखक )  प्रदान गरिएको छ ।

“महासम्मेलनमा सबैथोक  राम्रै राम्रो र शत प्रतिशत सफल भयो” भन्नु मेरा लागि बेईमानी हुन जान्छ । त्यसो भएन तर प्रथम श्रेणीमा उतीर्ण भएको छ यो सम्मेलन । विशिष्ट श्रेणीमा उतीर्ण हुन नसकेकोमा कुनै व्यक्ति विशेष अथवा संस्था विशेष दोषी छैन । सबैले जानेसम्म, बुझे सम्म र भ्याएसम्म दिए । नपुगेको, नबुझेको, नजानेको आगामी सम्मेलन हरूमा दिँदै जाऊँ ।
सकारात्मक टीका-टिप्पणी गर्दा रमाउनु पर्छ; रिसाउनु हुन्न । नियत हेर्नु पर्छ र सिक्नु पर्छ । सबैले सबैसंग सिक्ने संस्कृति, सभ्यता र संस्कारको विकास गर्नु पर्छ । हामी सबैले जित्ने छौँ अवश्य एक दिन ।

जय अनेसास ! जय नेपाल !

( प्रा. डा. दुर्गा दाहाल ,” अनुभव “ अंग्रेज़ी  साहित्यका प्राध्यापक तथा अनेसास बोर्ड अव ट्रस्टीका सल्लाहकार हुनुहुन्छ )


३२ श्रावण २०७६, शनिबार २०:२५ मा प्रकाशित