कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर सहित)

दूरबिन नेपाल     ६ भाद्र २०७६, शुक्रबार १२:१६    

ललितपुर, ६ भदौ : भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो ।

 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ ।

 

यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनको भीड लागेको छ । आज राति १ बजेदेखि भगवान् श्रीकष्णको पूजा आराधना गर्न आउने श्रद्धालु भक्तजनको भीड लागेको हो ।

 

राति १ बजे पाटनमा भगवान् श्रीकृष्णको नित्य पूजा समाप्त भएपछि भक्तजनलाई दर्शन गर्न दिएको मङ्गल टोल सुधार सङ्घका सचिव रविदर्शन धारीले बताउनुभयो । धारीले भन्नुभयो, “कृष्ण मन्दिरमा सहजतापूर्वक भक्तजनले दर्शन गर्न पाऊन् भनी राम्रो व्यवस्था मिलाएका छौँ ।”

 

मन्दिर दर्शन गर्न आउने भक्तजनको व्यवस्थापनका लागि मङ्गल टोल सुधार सङ्घले करीब ६०० सदस्य, ज्यापू समाजले पिउनेपानी र विभिन्न सङ्घसंस्थाले स्वयंसेवक खटाएका छन् । यसैगरी नेपाल प्रहरी, स्थानीय बासिन्दा, ट्राफिक प्रहरी, नेपाल स्काउट, रेडक्रस तथा स्थानीय क्लबले भक्तजनलाई दर्शनमा सहज बनाउने काम गरिरहेका छन् ।

 

सो मन्दिर वि.सं १६९३ मा राजा सिद्धिनरसिंह मल्लले बनाएका हुन् । ढुङगाबाट बनेको २१ गजूरको सो मन्दिरमा रामायणका पूरा कथा अङ्कित रहेको बताइन्छ । उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजन ‘व्रत’ बसी श्रीकृष्णको पूजा लगाउने र रातभर जाग्राम बसेर बिताउँछन् ।

 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

 

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ विश्वका धेरै भाषामा अनुवाद भइसकेको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।
रासस

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परिसरमा शुक्रबार काठमाडौँमा रहेको भगवान श्रीकृष्णको मूर्तिमा पूजा गर्दै सर्वसाधारण महिला । तस्बिर : प्रदीपराज वन्त
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परिसरमा शुक्रबार काठमाडौँमा रहेको भगवान श्रीकृष्णको मूर्तिमा पूजा गर्दै सर्वसाधारण महिला । तस्बिर : प्रदीपराज वन्त
भाद्र कृष्ण अष्टमीको अवसरमा चितवनका १७ वटा धार्मिक र आध्यात्मिक संस्थाले शुक्रबार नारायणगढमा आयोजना गरेको शोभायात्रामा सहभागी । तस्वीर : नारायण अधिकारी
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार तनहुँको दमौलीमा भगवान श्री कृष्णको भेषमा सजिएका बालबालिका । तस्वीर : कृष्ण न्यौपाने
भाद्र कृष्ण अष्टमीको अवसरमा चितवनका १७ वटा धार्मिक र आध्यात्मिक संस्थाले शुक्रबार नारायणगढमा आयोजना गरेको शोभायात्रामा सहभागी । तस्वीर : नारायण अधिकारी
कैलाली धनगढीस्थित बनदेवी मन्दिर परिसरमा श्रीकृष्णजन्माष्टमी शुक्रबार गौरा (भगवती) देवीको प्रतिमामा पूजा आर्चना गर्दै भक्तालु महिला । महिलाहरु पञ्च बनस्पति प्रयोग गरी ‘फाग’ गीत गाउँदै गौरा देवीको प्रतिमा तयार पारी भित्रयाउने परम्परा रही आएको छ । । तस्वीर : तिलकराज ओझा कैलाली,
श्रीकृष्णजन्माष्टमीको अवसरमा काभ्रेपलाञ्चोकको बनेपास्थित तीनधारा चोकमा शुक्रवार कन्या पूजाका लागि अभिभावकहरुसंग बसेका कन्या । तस्वीर : पेमा लामा बनेपा,६ भदौ (रासस)
काभ्रेपलाञ्चोकको बनेपामा शुक्रवार कन्या पूजा गरिँदै । श्रीकृष्णजन्माष्टमीको दिन यहाँको परम्परा अनुसार कन्याहरुको पूजा गरिएको छ । तस्वीर : पेमा लामा
शुक्रवार श्रीकृष्णजन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको पाटन दरवारमा रहेको श्रीकृष्णको मन्दिर प्रसाद ग्रहण गर्नुहुर्दै । तस्वीर : प्रदीपराज वन्त,रासस
शुक्रवार श्रीकृष्णजन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको पाटन दरवारमा रहेको श्रीकृष्णको मन्दिर प्रसाद ग्रहण गर्नुहुर्दै । तस्वीर : प्रदीपराज वन्त,रासस
शुक्रवार श्रीकृष्णजन्माष्टमीको अवसरमा ललितपुरको पाटन दरवारमा रहेको श्रीकृष्णको मन्दिरमा दर्शनलागि आएका भक्तजनहरुको भिड । तस्वीर : प्रदीपराज वन्त,रासस


६ भाद्र २०७६, शुक्रबार १२:१६ मा प्रकाशित