सुर्खेत पुगेर काँग्रेस सभापति देउवाको गुनासो : अन्तरघातीलाई कारवाही गर्न दिइएन अनुशासन नभए पार्टी चल्दैन

दूरबिन नेपाल     ६ भाद्र २०७६, शुक्रबार १२:५१    

काठमाडौं भदौं ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावको बेलामा पार्टीलाई हराउन खुलेर लाग्नेलाई कारवाही गर्न नदिएको गुनासो गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रशिक्षणका लागि शुक्रवार सुर्खेत पुगेर देउवाले  त्यस्तो गुनासो गरेका हुन् । उनले पार्टी एकताका लागि सबैले सहयाेग गर्ने पर्नेमा जाेड् समेत दिए ।

 

सभापति देउवाले सहमतिका लागि काम गर्न पनि नदिने र बाहिर कामै भएन भनेर पनि हुन्छ भन्दै प्रतिप्रश्न गरे । ‘ सहमतिका लागि काम गर्न नदिने अनि  काम भएन पनि भन्ने ?’

 

आफुले एकता चाहेको बताउदै देउवाले सबैले सहयोग गरे मात्र पार्टी एक हुने प्रष्ट पारे । उनले सहमतिको नाममा अन्तर्घातीहरुलाई समेत कारवाही गर्न नपाएको दुखेसो पोखे ।  ‘हिजो चुनावमा हराउन लागि परेका कार्यकर्तालाई कारवाही गर्न पाउनु पर्‍यो नी, खुलेआम हराउन लागि परेकालाई कारवाही पनि गर्न पाईदैँन।’ उनले पार्टीमा बेतिथि बढेको समेत बताए, ‘अनुशासन नभए सम्म पार्टी चल्दैन ।’ अन्तघातीलाई कसले र कसरी कारवाही गर्न दिएनन भन्ने कुरा देउवाले खुलाएनन् ।

 

सभापति देउवाले  प्रधानमन्त्री केपी शर्मा ओली नसुध्रिए आफुहरु अझै लड्नुपर्ने बताए । सरकार सर्वसत्तावाद भएको भन्दै देउवाले विगतमा  राणा शासन , पञ्चायत ,  र राजा फालेर गणतन्त्र स्थापना गरेको स्मरण गर्दै  फेरि पनि कम्युनिष्ट शासन हटाएर देखाउन सकिने दावी गरे ।


६ भाद्र २०७६, शुक्रबार १२:५१ मा प्रकाशित