मलेसियन च्याम्पियन बिरुद्दको मैत्रीपूर्ण फुटबल : सुजल श्रेष्ठको कप्तानीमा राष्ट्रिय टिम घोषणा

दूरबिन नेपाल     ६ भाद्र २०७६, शुक्रबार १३:५९    

 

काठमाडौँ, ६ भदौ  :  मलेसियन च्याम्पियन  बिरुद्दको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सुजल श्रेष्ठलाई कप्तान तोकेको छ । नियमित कप्तान विराज महर्जन टिममा पर्न असफल भए पछि नयाँ कप्तानको खोजी भइरहेको थियो । एन्फामा टिमका सिनियर खेलाडीलाई कप्तान बनाउने प्रचलन छ ।

 

गोलरक्षक किरण चेम्जोङ र डिफेन्डर रोहित चन्द विदेशी लिगमा व्यस्त छन् । मैत्रीपूर्ण खेलमा विदेशी क्लवले राष्ट्रिय टिमका लागि खेलाडी फुकुवा गर्न बाध्यकारी व्यवस्था छैन । किरण र रोहित मलेसिया बिरुद्दको मैत्री खेलमा उपलब्ध नहुने भए पछि सुजलले यस पटक राष्ट्रिय टिमको नेतृत्व गर्न पाएका हुन् ।

 

नेपाली राष्ट्रिय टिम कतारमा सन् २०२२ मा आयोजना हुने  फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटको तयारीमा छ । त्यसैका लागि मलेसियाको  सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल लागेको हो । जोहार सँग नेपालले भदौ ९ गते खेल्ने छ ।

 

फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे छन् । नेपाली टिम शुक्रवार राती मलेसया प्रस्थान गरेको छ । मलेसिया गएको नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल छन् ।

 

त्यसैगरी मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।


६ भाद्र २०७६, शुक्रबार १३:५९ मा प्रकाशित