गुल्मीका बाढी-पहिरो प्रभावितहरुलाई गुल्मी समाज ह्युस्टनको सहयोग

दूरबिन नेपाल     ७ भाद्र २०७६, शनिबार १२:११    

ह्युस्टन टेक्सस, अगष्ट २३ / गुल्मी समाज ह्युस्टन टेक्ससको पहलमा हालै गुल्मी जिल्ला स्थित सत्यवती गाउँपालिकामा गएको बाढी-पहिरोबाट प्रभावित परिवारहरुको सहयोगार्थ संकलित ४,७८४ डलर अर्थात नेपाली रुपैयाँ ५ लाख ३० हज़ार ३ सय २७ बराबरको रकम हालै समाजका कोषाध्यक्ष विश्व श्रेष्ठले गाउँपालिका प्रमुख पारेश्वर ढकाललाई एक कार्यक्रमकाबीच गाऊँपालिकाको कार्यालय जोहांग खैरेनिमा हस्तान्तरण गरेका छन्।
कार्यक्रममा पहिरोमा परेर परिवारका सदस्य गुमाएका सरस्वती गाउँपालिकाका सात परिवार र नजिकैको काली गण्डकी गाउँपालिका भुर्तुंग (छापचौर)का एक परिवार समेत आठ परिवारलाई प्रत्येक परिवार २५  हजारका दरले राहत उपलब्ध गराइएको  छ। प्रत्यक्ष राहत बाँडेर बाँकी रहेको ३ लाख ३० हजार तीनसय सत्ताइस रुपैयाँ गाँपालिकाको अापत्कालीन कोषमा रहने गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको गुल्मी समाज ह्युस्टनका सचिव लक्ष्मण भण्डारीले जानकारी गराएका छन्।
आफ्नो जन्मभूमीमा प्राकृतिक बिपत्तीमा परेकाहरुको सहयोगार्थ गुल्मी समाजले ह्युस्टन, टेक्ससमा चलाएको सहयोग संकलन अभियानमा ह्युस्टन वरपर बसोवास गर्ने ६६ जना महानुभावहरुले सहयोग दिएका थिए। सहयोग गर्नेहरुमा अधिकाँस नेपालमा गुल्मी जिल्ला घर भै अमेरिकाको दक्षिणी राज्यस्थित ह्युस्टनमा बसोवास गर्नेहरु रहेका छन्।

तस्बिर:गुल्मी समाज ह्युस्टन

७ भाद्र २०७६, शनिबार १२:११ मा प्रकाशित