भारतका भूतपूर्व अर्थमन्त्री अरुण जेटलीको निधन

दूरबिन नेपाल     ७ भाद्र २०७६, शनिबार २०:५८    

 लामो समयदेखि बिरामी परेका भारतका भूतपूर्व अर्थमन्त्री अरुण जेटलीको शनिवार निधन भएको बिबिसीले जनाएको छ। उनलाई सास फेर्न अप्ठेरो भएपछि अगस्ट ९ तारिखमा दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका सहयोगी रहेका ६६ वर्षीय जेटली सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका वरिष्ठ सदस्य थिए। जेटली भारतको अर्थमन्त्रीका हैसियतमा दुई वर्षअघि नेपालमा लगानी सम्मेलनमा भाग लिन आएका थिए।

त्यति बेला उनले नेपालको आर्थिक विकासका लागि विविध क्षेत्रमा लगानी गर्न भारत सरकार प्रतिबद्ध रहेको बताएका थिए। बीजेपीको पहिलो कार्यकालमा अर्थमन्त्रीको पद सम्हालेका जेटलीले भारत स्वतन्त्र भएपछि पहिलो पटक ल्याइएको वस्तु तथा सेवा कर लागु गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

यसै वर्ष पुन चुनाव जितेपछि बनेको नयाँ सरकारमा भने उनी स्वास्थ्य स्थितिका कारण सहभागी भएनन्। गत वर्ष उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

जेटली अर्थमन्त्री भएकै बेलामा प्रधानमन्त्री मोदीले रातारात ५०० र १,००० दरका भारतीय रुपैयाँका नोट वित्तीय प्रणालीबाट हटाउने निर्णय गरिदिएका थिए।

प्रधानमन्त्रि मोदीको अघिल्लो सरकारवाट निधन हुने जेट्ली दोस्रो मन्त्रि हुन । एक महिना अघि मात्र पूर्व विदेश मन्त्री सुष्मा स्वराजको पनि उपचारको क्रममा निधन भएको थियो । दुवैले स्वास्थ्यको कारण देखाउदै निवाचनमा भाग नलिने वताएका थिए ।


७ भाद्र २०७६, शनिबार २०:५८ मा प्रकाशित