अमेरिकामा श्रमिक दिवसः एक युगान्तकारी कथा

बद्रि गौतम     १६ भाद्र २०७६, सोमबार १७:५५    

 

बद्रि गौतम, न्युयोर्क
अमेरिका र क्यानाडामा सेप्टेम्बरको पहिलो सोमबार लेवर डे अर्थात मजदुर दिवस मनाउने चलन छ । मजदुरहरुका विचमा भाइचाराको विकास, हक अधिकारको सचेतनाको रुपमा मनाइने लेवर डेमा अमेरिका र क्यानाडामा सार्वजनिक विदा दिइन्छ । अहिले मजदुरमात्र होइन अधिकांश मानिसहरु लेवर डे मनाउन उत्साहित हुने गर्दछन ।

लेवर डेको गाथा
१९ औं शताब्दिमा अमेरिकामा मजदुरहरुको अक अधिकारका विभिन्न आन्दोलनहरु भए । त्यसैविचमा धेरै ट्रेड यनियन अर्थात मजदुरका हक हितका संघसंगठनहरुको निर्माण भयो । यतिबेला मजदुरहरुले पाइरहेका आठ घण्टा काम, ओभर टाइम, आवस्यक विदा तथा अन्य सेवा सुविधाकालागि कैयनको बलिदानी र त्याग छ । विभिन्न आन्दोलनले हक अधिकारलाई स्थापित गर्दै लगेपनि मजदुरहरुकै संघ संस्थाहरुका विचमा प्रभावकारी सामञ्जस्यता थिएन एक किसिमको कटुताको सम्बन्ध थियो । कतिपय मजदुरहरुमाथी शोषण र दमन जारी नै थियो भने कति त आफ्नो अधिकारबारेपनि वेखवर थिए । मजदुर आन्दोलनपछिपनि कैयन बर्ष यसरी नै बिते । मजदुर दिवस मनाउने चलन पनि थिएन । तर १८८० को दशक तिर भने मजदुर आन्दोलनले फरक रुप धारणा ग¥यो । अमेरिकामा लेवर डे मनाउन कुुनै एक दिन तोक्नुपर्छ भन्ने प्रस्ताव आउन थाल्यो । सन १८८२ सेप्टेम्बर पाँच तारिखमा न्युयोर्कमा एउटा ठुलो मजदुर परेडको आयोजना भयो जसमा हजारौं मजदुरहरुको सहभागिता थियो भने कैयन संघसंगठनहरुले सक्रिय सहभागिता जनाए । सो परेडमा सेन्टर लेवर युनियनका सेक्रेटरी मेथ्यु मग्युरेले सेप्टेम्बर महिनाको पहिलो सोमबारलाई राष्ट्रिय विदाको रुपमा लेवर डे मनाउनुपर्ने प्रस्ताव गरे । कतिपयले मेथ्यु मग्युरेलाई नै लेवर डेको श्रेय दिनुपर्ने बताउंछन ।
तर यसमा अर्को तर्कपनि छ । अमेरिकामा लेवर डेमा सार्वजनिक विदा दिन थालिएको श्रेय पिटर जे म्याक्ग्युरेलाई दिनपर्ने कतिपयको धारणा छ । अमेरिकन फेडरेसन अफ लेवरका उपाध्यक्ष पिटर जे म्याक्ग्युरेले मे ८, १८८२ मा न्युयोर्कको लेवर युनियनलाई जुलाई चार र थ्याङ्स गिभिङको विचमा लेवर डेको एउटा सार्वजनिक विदा पार्नुपर्ने प्रस्ताव लगेका थिए । जुन दिन मजदुरहरुको परेड गर्ने, पिकनिक गर्ने तथा मजदुरहरुका विभिन्न संघ संस्थाहरुको सहभागिता गराउने र आपसी भाइचाराको विकास गराउने प्रस्ताव गरेका थिए । उनैले सेप्टेम्बरको पहिलो सोमबारलाई लेवर डेको रुपमा मनाउनुपर्ने उल्लेख गरेका थिए । पिटर जे म्याक्ग्युरेको सोही प्रस्ताव मुताविक सेन्टर लेवर युनियनका सेक्रेटरी मेथ्यु मग्युरेले सेप्टेम्बर महिनाको पहिलो सोमबारलाई राष्ट्रिय विदाको रुपमा लेवर डे मनाउनुपर्ने प्रस्तावलाई सार्वजनिक गरेको बताइन्छ ।
तरपनि लेवर डेमा सार्वजनिक विदा दिने आधिकारिक निर्णय संघीय सरकारको त परको कुरा राज्य सरकारलेपनि गर्न सकेका थिएनन । लेवर डे परेड र सार्वजनिक विदा दिनुपर्ने माग गरिएपछिको पाँच बर्षपछि बल्ल अमेरिकाको ओरिजन राज्यले पहिलो पटक लेवर डेमा सार्वजनिक विदा दिने क्रान्तिकारी काम गर्यो । त्यसपछि १८९४ मा ३० राज्यले लेवर डेलाई आधिकारिक रुपमा केन्द्रिय सार्वजनिक विदाको रुपमा मनाउन थाले । त्यसपछि व्यापक दवाव आएपछि तात्कालिन अमेरिकी राष्ट्रपति ग्रोभर क्लेभल्याण्डले कंग्रेसमा लेवर डे होलिडेको प्रस्ताव पेश गरे सोही बर्ष अर्थात सन १८९४ को जुन महिनामा पारित भयो । तर मे एक तारिखलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रुपमा अन्य मुलकहरुले मनाउछन भने संयुक्त राष्ट्रसंघलेपनि मे एक तारिखलाई मई दिवसको रुपमा मनाउंछ । अमेरिकामा लेवर डे सेप्टेम्बरको पहिलो सोमबार बनाउन थाल्नुको कारण मौसमलाईपनि दिइन्छ । किनकी सेप्टेम्बर भनेको अमेरिकामा समर सिजनको अन्त र फल सिजनको शूरुवात हुने महिना हो । अर्का तर्फ सेप्टेम्बरको दोस्रो हप्तादेखि अमेरिकाका अधिकांश विद्यालयहरु खुल्ने र नयाँ शैक्षिक शत्र शुरु हुने भएकोलेपनि सार्वजनिक विदा यहि समयमा पार्न उपयुक्त हुने कारण सेप्टेम्बरको पहिलो सातालाई लेवर डेको रुपमा मनाउन थालिएको तर्कपनि छ ।


क्यानाडामा अमेरिका भन्दा पहिला ?
क्यानाडामा पहिलोपटक सन १८७२ मा लेवर परेडको आयोजना भयो । जुन अमेरिकामा भन्दा २० बर्ष अघि हो । क्यानाडाका ओट्टोवा र टोरन्टोमा ती परेडको आयोजना भएको थियो । तर सन १८९४ मा नै क्यानाडाको संसदले सेप्टेम्बर पहिलो सोमबारलाई लेवर डे मानेर राष्ट्रिय विदाको रुपमा बनाउने आधिकारिक कानुन पास गर्यो ।
अमेरिकाको श्रम तथ्यांक विभागका अनुसार सन २०१७ मा १४ दशमलव ८ मिलियन मजदुरहरु युनियन सदस्य रहेका छन । तर सन १९८३ मा अमेरिकामा युनियन सदस्यहरुको संख्या १७ दशमलव ७ मिलियन थियो ।
एजेन्सीको सहयोगमा


१६ भाद्र २०७६, सोमबार १७:५५ मा प्रकाशित