खुट्टा ढोग्ने कुरा र लीला विचार ।

नारायण अधिकारी     १९ भाद्र २०७६, बिहीबार ०३:१०    

अहिले पत्नीले पतिको खुट्टा ढोगेको चर्चा छ बजारमा । खुट्टा बाबुआमाको पनि ढोगिन्छ । छोराहरूले बाबुआमाको खुट्टा ढोग्छन् भने बाबुआमाले छोरीको खुट्टा ढोग्छन् । भाइले दाजुको खुट्टा ढोग्दछन् । दाजुभाइले दिदीबहिनीको खुट्टा ढोग्दछन् । दिदीले बहिनीको खुट्टा ढोग्छिन् । ससुराले ज्वाइँछोरीको खुट्टा ढोग्छन् । शिष्यले गुरूको खुट्टा ढोग्दछन् । हिजोआज कुनै सांगितिक कार्यक्रम होस्, त्यसमा कनिष्ठ कलाकारले वरिष्ठ कलाकारको खुट्टा हातले छोएर ढोग्दछन्, यो पनि खुट्टा ढोगाइभित्र पर्दछ भन्ने मेरो बुझाइ छ । खुट्टा ढोगाइको यो क्रममा पत्नीले पतिको खुट्टा ढोग्छिन्, जुन कुराले सामाजिक बजार गर्माएको छ ।
तीजको सन्दर्भसँगै उठेको सवाल हो यो । खुट्टा ढोगाइको यी विविध प्रक्रियामा अहिले हाम्रो समाजमा श्रीमतीले लोग्नेको खुट्टा ढोगेको कुराको मात्र यति लामो चर्चा छ र यो चर्चासँगै श्रीमतीले लोग्नेको खुट्टा धुनु वा ढोग्नु दास र मालिकको परम्परा हो, गलत हो भन्ने आवाज प्रबल रूपमा उठेको छ तथापि यो सम्मान वा श्रद्धा हो भन्ने आवाज गौण रूपमा उठेकोले मत विभाजन भएको छ भनेर मान्नुपर्छ । मलाई लागेको कुरा नि, यो खुट्टा ढोगाइको श्रृंखलाले लामो समयदेखि कुनै न कुनै परम्परा त पक्कै बोकेर आएको छ तर त्यो के हो ? यसको शोध भएको छ ? शोध भएको छ भने पक्कै पनि हरेक शोधको निष्कर्ष एउटै छैन । शोध भएको छैन भने स्वाभाविक रूपमा प्रश्न उठेको छ कि खुट्टा ढोगाइका माथिको सबै प्रक्रिया मालिक र दास हुनुको परम्परासँग जोडिएका विषयवस्तु हुन् कि पत्नीले पतिको खुट्टा ढोगाइ मात्र ? 
यो खुट्टा ढोगाइको प्रक्रिया पनि कतिपय जातजाति अनुसार फरक पर्दछ; जस्तो– राजवंशीहरूमा ज्वाइँले ससुराको खुट्टा ढोग्ने चलन छ । अन्य जातजातिमा के कस्तो चलन छ, त्यसको शोधार्थी म होइन र यसको जानकारी मलाई छैन पनि । खुट्टा ढोगाइको परम्परामा राजवंशीहरूको यो चलन उदाहरणस्वरूप मात्र मैले पेश गरेको हो ।
पत्नीले पतिको खुट्टा ढोगेको विषयमा हरेकको आ–आफ्नै किसिमको तर्क छ । कसैले यसलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेको छन् त कसैले यसलाई परम्परा र संस्कारसँग जोडेको छन् । कसैका निम्ति यो दास मनोवृत्ति भएको छ भने कसैका लागि पत्नीले पतिका लागि गरेको सम्मानसँग जोडेका छन् । अहिले चर्चा छ पत्नी एलिजाले पति ऋषि धमलाको खुट्टा धोएको तस्वीरको । त्यो तस्विरका बारेमा अनेक आँखाहरूले अनेक दृश्यको छायांकन गरे । कसैले त्यसमा श्रद्धा देखे, कसैले परम्परा देखे । कसैले यसलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडे भने कसैले परम्परादेखि चल्दै आएको दास मनोवृत्ति आधुनिक भनिने व्यक्तिहरूमा पनि संस्कारगत रूपले आएको र त्यो महसुस हुन नसक्ने गरी लुकेको दास मनोवृत्ति नै हो भने । यही तस्विरमा कसैले खुट्टा धोएको पानी खाएको, पिएको भनेर पनि भने ।
जसले जे भने पनि स्वयम् एलिजाले चाहिँ “मलाई सबैले आएर कुटे पनि, गाली गरे पनि यो मेरो मनभित्रैदेखि आत्मादेखि लागेर गरेको र यो तस्विर पनि मेरै अनुरोधमा खिचेर आफैंले पोस्ट गरेको” भनेर वयान दिएकी छन् ।
त्यो तस्विरमा एलिजाले एउटा लोहोटाले खुट्टाको छेउमा पानी खन्याउन लागेको दृश्य देखिन्छ । तस्विर एउटा छ तर हेर्ने आँखा र बुझ्ने चेतनाको दृष्टिकोण अलग अलग छ । मेरा लागि चाहिँ यहाँ एउटा लीला भएको छ । साहित्यकार कृष्ण धरावासी लीलाको बारेमा कुरा गर्दा कहिलेकाहीं महाभारतकालिन पात्र कृष्णको उदाहरण दिनुहुन्छ र भन्नुहुन्छ– मथुरामा मल्लयुद्धको निम्ति कृष्ण तयारी अवस्थामा थिए तर त्यहाँ उपस्थित हरेक व्यक्तिहरूले एउटा कृष्णलाई आ–आफ्नो परिस्थिति, उमेर, चेतना, संस्कार, प्रतिश्पर्धा र सुविधाअनुसार अनेक अनेक रूपमा देखे । उमेर पुगेका युवतीहरूले कृष्णलाई एउटा हलक्क बढेको युवक, प्रेमी देखे । हुर्किँदै गरेका सन्तानका बाआमाले एउटा बालक देखे, लडाकुहरूले लडाकु देखे, नागरिकहरूले उद्धारकर्ता देखे अनि स्वयम् कंशले एउटा भयंकर काल देख्यो । चित्रमा देखिएको एउटा कृष्ण हरेक व्यक्तिका चेतनामा आफ्नै आफ्नै बुझाइका कृष्णका अनेक  रूपमा देखिँदै थिए । एउटा कृष्णको हरेकका मस्तिष्कमा अनेक कृष्णबोधको लीला चल्दै थियो ।
एक्ज्याट्ली, यहाँ पनि हरेक व्यक्तिहरूले ढोगाइको विषयमा आ–आफ्नै सुविधा र स्वार्थअनुसार व्याख्या गरे । एउटा ढोगाइ कसैको निम्ति परम्परा भयो, कसैका निम्ति आश्था श्रद्धा भयो, कसैका लागि दास मनोवृत्ति । ढोगाइको यो प्रक्रियालाई कसैले बाहिर आधुनिक देखिए पनि मानसिक रूपमा अझै ढोंगी भएको भने । कसैका लागि एउटा कुरा संस्कार हुँदा कसैका लागि कुसंस्कार हुँदोरहेछ भने कसैका लागि सम्मान हुँदा कसैका लागि अपमान पनि हुँदोरहेछ । कसैका लागि व्यक्तिगत स्वतन्त्रता भएको कुरा कसैका लागि मुक्त हुन नसकेको बन्धन हुँदोरहेछ ।
भएन त खुट्टा ढोग्ने कुरामा विचार र चेतनाका अनेक लीला !

१९ भाद्र २०७६, बिहीबार ०३:१० मा प्रकाशित