एनआरएनए प्रतिनिधि चयनमा हुँदैछ संग्राम प्रतिनिधि छनौट कार्यविधिको आडमा टाउकोमा हान्ने तयारी

दूरबिन नेपाल     २० भाद्र २०७६, शुक्रबार १९:५७    

टिप्पणी –

    अमेरिका ।

  गैह्र आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमांडौमा हुने विश्व सम्मेलनमा भाग लिन राष्ट्रिय समन्वय परिषद् अमेरिकाबाट जाने प्रतिनिधिको चयन प्रक्रिया सुरु भएको छ । कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकार, पूर्व कार्यसमितिका पदाधिकारी, सदस्य, आइसिसीका सदस्य सहित ९४ जनाको पहिलो चरणमा नाम सार्वजनिक गरिएको छ । दोस्रो र तेस्रो चरणको छनौट प्रक्रियाबाट बाकी ७४ जना टुङ्गो लाग्ने छन् । यसमा आफ्नो पक्षको पल्लाभारी बनाउन हानाथाप र आरोप प्रत्यारोप सुरु हुने लगभग निश्चित छ ।

केन्द्रको प्रतिस्पर्धामा दुई धुर्बमा टाँसिएका आरसी गौरि जोशी र निवर्तमान अध्यक्ष डाक्टर केशव पौडेल पक्ष बिच प्रतिनिधि चयनका लागि हुने मल्लयुद्धले यस पटक पनि केन्द्रलाई विवादमा तान्ने धेरैको अनुमान छ । पृष्ठभूमि तर्फ फर्कँदा यो अनुमानमा दम देखिन्छ । अमेरिकालाई सधैँ कमजोर बनाइराख्न लागिपरेको आइसिसीको रसियन ब्लक र कम्युनिस्ट पक्षधरको समूहले अमेरिकामा आफ्नो अनुकूल कार्यसमिति नआउने निश्चित भएपछि निर्वाचन नै गर्न नदिने रणनीति बनाएको थियो ।

एनआरएनए अमेरिकाको सम्बन्धन खारेजको गर्न आरसी गौरि जोशी मार्फत रिपोर्ट समेत केन्द्रमा प्रस्तुत गरिएको थियो । निर्वाचन प्रक्रियाको विषयलाई लिएर अमेरिकाको सम्बन्धन नै खारेज गर्ने प्रकारको रिपोर्ट आएपछि भने षडयन्त्र भइरहेको राम्रैसँग बुझे अध्यक्ष भवन भट्टले । भट्ट अमेरिकाको निर्वाचन नरोक्ने पक्षमा उभिए । जोशीलाई साथमा लिएर एनआरएनए अमेरिकालाई खारेज गर्दै डेमोक्रेटहरुको तेजोवध गरेर आरसी मार्फत एकलौटी प्रतिनिधि लाने योजना फेल खायो । परिस्थिति उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री के सी, आरसी गौरि जोशीले सोचेजस्तो भएन । त्यसपछि वर्तमान कार्यसमिति निर्वाचित भएर आएको हो ।

ढाडमा टेकेर टाउकोमा हान्ने

बाकी खेल प्रतिनिधि चयन तर्फ मोडिएको छ । रसियन ब्लक र कम्युनिस्ट पक्षधरले डेढ वर्ष अगाडि नै आवरणमा प्रजातान्त्रिक धारका हेमराज शर्मालाई विधान समितिका संयोजक बनाएर प्रतिनिधि छनौटको कार्यविधि आफूलाई अनुकूल हुने गरी बनाइसकेका छन् । आइसिसीको टाक्सफोर्समा बसेकालाई प्रतिनिधि बनाउनु पर्ने प्रावधान कार्यविधिमा समावेश गरिएको छ । कार्यविधिलाई बलियो बनाउन विधान भित्र राखिएको छ ।

हरेक एनसीसी भित्र नाम र भूमिकामा कहिकतै नदेखिएका अनगिन्ती टक्सफोर्स बनाएर आफ्नो पक्षमा लाग्ने व्यक्तिहरूलाई समेटिएको छ । शर्माको टाउकोमा राखेर रसियन ब्लक र कम्युनिस्ट पक्षधरले कार्यविधिका आडमा प्रतिनिधि चयन एकलौटी बनाउने र  कसैले तोड्न नसक्ने सिन्डिकेट बनाउन सफल भइसकेका छन् ।

विधान र कार्यविधि अध्ययन गर्ने जो कोहीले सहजै भेउ पाउन सक्छ आइसिसीको कार्यविधिले एनसीसीलाई प्रतिनिधि छनौटमा अधिकार विहीन बनाएको छ । आइसीसी कार्यविधिलाई अनुसरण गर्दा एनआरएनए अमेरिकाबाट वर्तमान कार्यसमितिले कार्यसमिति सदस्य सहित कुल ६० जनालाई मात्र प्रतिनिधिको रूपमा चयन गर्न सक्छ । बाकी १०८ जना आइसिसीको टाक्सफोर्सबाट समाबेस गरेर लानै पर्ने हुन्छ । एनआरएनए अमेरिकाको विधानले पनि प्रतिनिधि छनौटमा आइसिसीको कार्यविधिलाई अनुसरण गर्ने उल्लेख गरेको छ । कुमार पन्त र बद्रि केसी पक्ष यही विधान र कार्यविधिको आडमा प्रतिनिधि छनौटमा अर्को पक्षको ढाडमा टेकेर टाउकोमा हान्ने तयारीमा देखिनछन् ।

केन्द्रले चाहेका मात्र प्रतिनिधि बनेर जान सक्ने गरी बनाइएको कार्यविधिबाट तयार गरिएको सिन्डिकेट तोड्न सहज छैन । एनआरएनए अमेरिकाको निर्वाचन रोक्न र अनुकूल कार्यसमिति ल्याउन नसकेपछि गौरि जोशीले प्रतिनिधि चयनमा बलियो हुन नाम मात्रका टाक्सफोर्स बनाएर करिब डेढ सय जनाको नाम आइसिसीको वेबसाइटमा राख्न लगाइसकेका छन् । संस्थापन पक्षले निर्वाचनमा जान सहयोग नगरेको र उठेर पनि पराजित भइसकेका थुप्रैको नाम जोशीले आइसीसी टाक्सफोर्समा थपी सकेका छन् । पीडा र बदलाको भावमा उभिएकाहरूलाई टाक्सफोर्स मार्फत साथमा लिएर पौडेल पक्षलाई ठेगान लगाउने जोशी पक्षको रणनीति देखिन्छ । अमेरिका क्षेत्रमा मात्र होइन आफ्नो प्रभाव भएका सबै क्षेत्रमा उनीहरूले यस्तो गृहकार्य गरिसकेका छन् ।

अबको सम्भावना

एनआरएनए अमेरिकाको कार्यसमितिले प्रतिनिधि छनौटमा कार्यविधि फलो नगरेको रिर्पोट दिएर आरसी गौरी जोशीले टाक्सफोर्समा भएकालाई समेटेर प्रतिनिधिको अर्को सुची पेस गर्ने सम्भावना अधिक छ । किनकि अमेरिकाको निर्वाचन प्रक्रियाको विषयलाई लिएर संवन्धननै खारेज अर्थात् अमेरिकाको अस्तित्वलाई नै खरानी बनाएर प्रतिनिधि मात्र लाने गेम प्लानको हतियार बनेका जोशीले प्रतिनिधि चयनमा हस्तक्षेप गर्दैनन् भन्न सकिने आधार छैन । यस पछि आइसीसीमा अमेरिकाको प्रतिनिधि चयनको विषयमा पक्ष र विपक्षमा चर्को लबिङ हुने छ । प्रतिनिधि छनौटमा अमेरिका मात्र होइन अरू देशका एनसीसीहरु पनि केन्द्रको हस्तक्षेपको खिलाफमा गोलबद्ध हुने सम्भावना रहन्छ । यही विन्दुबाट विधानको आडमा नतिजाको पर्खाइमा बसेकाहरूको तानावानाको जालो फाट्ने र प्रतिस्पर्धाको रूप नै बदलिने सम्भावना रहन्छ ।

अक्टोबरमा काठमाडौँमा जोशी र पौडेललाई आपसमा लडाएर एनआरएनए अमेरिकालाई माथि उठ्नै नदिने योजनाकारहरूले आफ्नो सम्पूर्ण शक्ति लगाउने छन् । प्रतिनिधि चयनको लफडा र पक्ष विपक्षमा धेरै ऊर्जा सकिने हुँदा पौडेलको महासचिवको दौड र जोशीको सचिवको चाहाना सजिलै पुरा हुने देखिँदैन । बलियो पक्षले च्याप्दैमा नतिजा आइहाल्छ भन्ने पनि हुँदैन । एनआरएनए अमेरिकाबाट आइसीसीमा जान खुट्टा उचालिरहेका अरू उम्मेदवारहरू पनि प्रतिनिधि चयनको विषयमा हुने झगडाको सिकार हुने छन् । सबै पक्षले समयमा नै सुझबुझ पूर्ण कदम नचालेमा एनआरएनए अमेरिकाको आइसीसीमा दह्रो उपस्थिति भन्दा पनि थप बदनाम मात्र हुने सम्भावना रहन्छ ।


२० भाद्र २०७६, शुक्रबार १९:५७ मा प्रकाशित