न्युयोर्कमा गैर आवासिय नेपाली संघ अमेरिकाको भवन बन्ने एक दिनमा नै एक लाख डलर भन्दा बढिको कबोल

दूरबिन नेपाल     २१ भाद्र २०७६, शनिबार ०४:५८    

न्युयोर्कमा गैर आवासिय नेपाली संघ अमेरिकाको भवन बन्ने

दूरबिन नेपाल, न्युयोर्क

देश बाहिर सवै भन्दा बढि नेपालीको स्थायी बसोवास भएको देश अमेरिकामा गैर आवासिय नेपाली संघ अमेरिकाले आफ्नो सामुदायिक भवन निर्माण गर्ने भएको छ । यसका लागि न्युयोर्क च्याप्टरले गृहकार्य शुरु गरेको छ । शुक्रबार साँझ न्यूयोर्कमा आयोजित उत्तर पूर्व क्षेत्रको भेलामा च्याप्टर सभापति रामहरि अधिकारीले भवन निर्माणका लागि गरेको प्रस्तावको सह्राना गर्दै सहभागिले हलबाटै एक लाख डलर भन्दा बढिको प्रतिबद्धता जनाएका छन् ।

सामुदायिक भवन निर्माणको लागि एनआरएनए अमेरिकाका सभापति सुनिल साह, निवर्तमान सभापति डा केशव पौडेल र पूर्व सभापति खगेन्द्र जीशीले जनही २०–२० हजार डलर रकम सहयोग गर्ने घोषणा गरे । डा बिनोद थापाले २० हजार एक, बुद्धि सागर सुवेदीले १० हजार त्यस्तै डिआरसी नविन शेरचन, कृष्ण जिवी पन्त, श्री पराजुली, रामसी पोखरेल र रविना थापाले जनही पाँच– पाँच हजार सहयोगको घोषणा गरे ।

कार्यक्रमका प्रमुख अतिथि न्युयोर्कस्थित नेपाली बाणिज्य दुतावासका महावाणिज्यदुत पुष्पराज भट्टराईले सामुदायिक भवन निर्माणको लागि सबै समुदायलाई समेट्नु पर्ने तथा सर्वपक्षीय र विज्ञ सहितको समिति बनाउन सुझाव दिए । सामुदायिक भवनले समग्र नेपालको प्रतिनिधित्व झल्काउन सक्नुपर्नेमा जोड दिंदै महाबाणिज्यदुत भट्टराईले न्युयोर्क राज्यबाट पाउन सकिने सेवा सुविधाको बारेमापनि पहल गर्नुपर्ने बताए । सामुदायिक भवन निर्माणको लागि आफ्नो तर्फबाट सहयोग गर्ने जनसम्पर्क समितिका सभापति आनन्द बिष्ट र पुर्व संयोजक बिष्णु सुवेदीले प्रतिबद्धता जनाए । यसैगरि एनआरएनए अमेरिकाका निवर्तमान बोर्ड सदस्य सञ्जय थापाले सबैलाई समेटेर अघि बढेमा सामुदायिक भवन निर्माण कार्य छिट्टै सकिनेमा जोड दिए ।

मिलापका लागि अलाप

अमेरिकाको न्युयोर्कमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, नर्थइष्ट समिति र न्युयोर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा एनआरएनका अभियन्ताहरुले अमेरिकाबाट धेरै उमेदवार भएका कारण पहिलापनि चुनाव हारिएकोले यसपटक सुझबुझपुर्ण कदम चाल्नुपर्नेमा जोड दिएका छन ।


एनआरएनए अमेरिकाका निवर्तमान सभापति तथा आइसीसीमा महासचिवका उमेदवार डा. केशव पौडेलले अमेरिकाबाट आकांक्षी बन्नेहरुले एकआपसमा छफफल गरी सहमति पुग्न पर्नेमा जोड दिए । डा. पौडेलले सबैपक्षलाई समेटेर जान आफु तयार भएकोले सबैलाई सहयोग गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीशीले धेरै संख्यामा सदस्यहरु भएरपनि एनआरएनएको निर्वाचनमा अमेरिका रित्तो हात फर्किनु परेको तितो विगतलाई भुलाउन पनि अमेरिकाका उमेदवार हुनेहरुविचमा सहमति हुनुपर्नेमा जोड दिए । एनआरएनए अमेरिकाका नवनिर्वाचत सभापति शुनिल साहले एनआरएनएको विश्व सम्मेलनमा अमेरिकाले अविस्मरणीय छाप छोड्नुपर्ने भन्दै अबको आइसीसीमा अमेरिकाबाट उठने उमेदवारलाई जिताउनुपर्नेमा जोड दिए । कार्यक्रममा रामसी पोखरेल, नविन शेरचन तथा रुविना थापा लगायतले पनि आइसीसीमा आफ्नो उमेदवारीबारे जानकारी गराउंदै सहयोगको लागि आग्रह गरे ।
आगामी अक्टोबरमा काठमाडौमा गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलन हुंदैछ । सोही सम्मेलनमा आगामि दुई बर्षको लागि नयाँ कार्यसमितिको चयन गर्नेछ ।

कार्यक्रममा एनआरएनए न्युयोर्क च्याप्टरमा निवर्तमान पदाधिकारीहरुलाई बिदाइपनि गरिएको थियो । कार्यक्रम न्युयोर्कस्थित एल्महस्र्ट हसिपटलको हलमा भएको थियो ।


२१ भाद्र २०७६, शनिबार ०४:५८ मा प्रकाशित