औपचारिकतामा अडेको संसार

बन्धु पोख्रेल     २४ भाद्र २०७६, मंगलवार १३:२७    

बन्धु पोख्रेल

 

   कसैसँग भेट भयो कि पहिलो बोली हुन जान्छ “ सन्चै हुनु हुन्छ अथवा आरामै अथवा के छ खबर यस्तै यस्तै । उत्तर के आउला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ “ठीकैछ “। उसलाई सन्चो नै नभए पनि प्रारम्भिक कुरा कानीमा उ व्यक्त  गर्दैन, जब भलाकुसारी अगाडी बढ्छ अनि बिस्तारै भन्छ हेरन मत सन्चो नभएर केही गर्न सकेको छैन, औषधि खाइरहेको छु आदि आदि ।कसै कसैले त प्वाक्क भनी पनि दिन्छ सन्चो नभएको भएँ यहॉसम्म आउथें त । के छ हाल खबर भन्ने सोधाइको उत्तर पनि पूर्ब निर्धारित छ “ठिकै छ ”  ।अत्यन्तै महत्त्वपूर्ण खबर नै भए पनि शुरुको जवाफ हुने गर्छ ठिकै छ । कुरा अगाडी बढ्दै गए पछि मात्र भन्ने गरिन्छ खबर । त्यस्तै अर्को सोधाई हुन जान्छ के गर्दै हुनु हुन्छ ? देखिकहेको छ खाना खाई रहेको छ अथवा सर सफाइ गरी रहेको छ अथवा अन्य कुनै काम गरिरहेको छ तर सोधिन्छ के गर्दै हुनु हुन्छ किनकि यो औपचारिकता हो ।

जब जन्म दिन आउँछ चीरायूको कामना गरिन्छ त्यस्तै बैबाहिक जीवनको शुरुआत होस वा  वार्षिकोत्सव अथवा अन्य कुनै शुभकामनाका बौछार हुन्छन् किनकि त्यो औपचारिकता हो । शुभ कामना नै आएन भने खिन्नता बढ्न सक्छ । अझै निकटका सँग त गुनासो नै व्यक्त गर्न पुगिन्छ र भनिन्छ खै तैँले त शुभ कामना पनि दिइनस त । कहिले कॉहीं त नभनेरै टेडिने पनि हुन्छ । कसलाई के थाहा मनले सकारात्मक सोचिरहेको छ कि नकारात्मक तर बौछार गर्नै पर्छ शुभ कामनाका मीठा शब्दहरूको किनकि यो औपचारिकता हो । शुभकामनाले अर्थ राख्ने भए सायद बेलायतका राजकुमारको डायनासँग विवाह हुँदा सब भन्दा बढी सफल  बैबाहिक जीवनको शुभ कामना व्यक्त गरिए होलान् तर ती शुभ कामनाले उनीहरूको पारपाचुके रोक्न सकेनन् । यदि पुकारेरै हुने भए के राजा वीरेन्द्रलाई मर्नु पर्थ्यो होला र ! उनी जन्मिँदा कति शुभकामना आए होलान् हरेक वर्ष जन्म दिनमा  लाखौँ नेपाली श्री पॉच वीरेन्द्र चिरायु रहुन भनेर चिच्याइएकै हो तर उनकै मरण वंश नै नास हुने गरी त्यो कहाली लाग्दो वातावरणमा हुन पुग्यो ।

कसैको मृत्यु भएमा श्रद्धाञ्जली व्यक्त गरिन्छ, वैकुण्ठवासको कामना गरिन्छ, आत्माको शान्तिको कामना गरिन्छ कसैलाई थाहा छैन हामीले गरेको कामनाले उसको आत्मालाई के असर गर्छ के फरक पार्छ । तर कामना गरिन्छ किनकि यो औपचारिकता हो । कसैको मृत्युको कारण वेदनामा रहेकाहरू प्रति समवेदना व्यक्त गरिन्छ मानौँ हामी वेदना बॉड फॉड गरेर केही हिस्सा आफूले लिइरहेका छौँ । हामीलाई यो मतलब हुन्न कि कतै हामीले समवेदना व्यक्त गरिरहँदा कतै बिर्सिरहेको अवस्थामा सम्झाइरहेका त छैनौँ । सन्चो हुनै लागेको घाउको खाटा उप्काई रहेका त छैनौँ ।

कुनै दुर्घटना जब घट्छ व्यक्ति संस्था वा सरकार सबैबाट वक्तव्यको बौछार हुन्छ  मानौँ वक्तव्यले नै उत्पन्न समस्याको समाधान गर्छ , मानौँ वक्तव्य नदिनेले गल्ती गरिरहेको छ, कमजोरी गरिरहेको छ  ठान्न पुगिन्छ वक्तव्य नदिने मान्छे वा संस्था कम स्तरको हो  किनकि यो औपचारिकता हो ।

कसैलाई स्वागत वा बिदाइ गर्नु पर्‍यो खादा लगाइन्छ । हामीलाई थाहा छ खादा एक पवित्र वस्तु हो । अत्यन्तै त्यागी र ज्ञानी विद्वानहरु मात्र खादाको लागि योग्य हुन्छन् जसले समाज उत्थानको लागि ठुलो योगदान गरेका छन् । तर हामी जसलाई पनि खादा लगाइ दिन्छौ चाहे त्यो भ्रष्ट होस, बलात्कारी होस, व्यभिचारी होस, आतङ्ककारी होस, हत्यारो होस । खादा लगाई दिएर सम्मान त गर्नै पर्छ किनकि यो औपचारिकता हो । हामीलाई मतलब छैन कि जस्तो सुकैलाई खादा लगाइ दिएर हामीले खादाको अपमान गरिरहेका छौँ भन्ने कुरा, खादामा लेखिएका मन्त्रको अपमान गरिरहेका छौँ भन्ने कुरा ।

यथार्थ र वास्तविकता जे सुकै होस त्यो आफ्नो ठाउँमा छ तर औपचारिकता पूरा गर्नै पर्छ । समय अनुसार चल्न जान्नै पर्ने हुन्छ त्यसैले खोज्दै गरौँ शुभकामना व्यक्त गर्नको लागि मीठा मीठा शब्दहरू, संयोजन गर्दै गरौँ वक्तब्यबाजीको लागि  सुमधुर शब्दहरूको किनकि आजै चालु सरकारको वर्षगाँठ होला, तपाईँको भतिजको जन्मदिन होला मामाको शालाका छोराको पास्नी होला, शालाका जेठानकी फुपूका नातिको वैवाहिक वर्षगाँठ होला, साथीको साथीका छोराले नयॉ योग्यता हासिल गरेको होला, नन्दका   भान्जाले खेल जितेको होला, घरबेटी साहूका छोराले सिनेमा बनाउँदै होला, यस्तै यस्तै केही न केही त पक्कै छ आजै । तयार रहनै पर्‍यो नि लेख्न औपचारिकताको लागि किनकि यो संसार यही औपचारिकतामा अडेको छ ।


२४ भाद्र २०७६, मंगलवार १३:२७ मा प्रकाशित