अस्टिनमा घुम्ति नेपाली राहदानी सेवा

दूरबिन नेपाल     २५ भाद्र २०७६, बुधबार ०४:३०    

टेक्सस, सेप्टेम्वर १०/ नेपाली राजदूतावास वाशिंगटन डिसीसंगको सहकार्य र ग्रेटर अस्टिन नेपाली सोसाइटी (जिएएनएस-ग्यान्स)को आयोजनामा अमेरिकाको दक्षिणी राज्य टेक्ससको राजधानी शहर अस्टिनमा नेपाली राजदूतावासबाट प्रदान गरिने मसिन रिडेवल पासपोर्ट(एमआरपी), वारेशनामा, अस्थायी यात्रा अनुमति पत्र (ट्राभल डकुमेण्ट) लगाएतका सेवाहरु दिनेगरि यही सेप्टेम्वर १४ र १५ मा दुईदिने घुम्तिसेवा (स्याटेलाइट सर्भिस) संचालन हुने भएको छ। स्थानीय सामाजिक संस्थाहरुसंगको सहकार्यमा नेपाली राजदूतावासको तर्फबाट हुन लागेको यस्तो स्थानीय स्तरको सेवा टेक्सस मै पहिलो पटक हुन लागेको स्थानीय आयोजक ग्यान्सका अध्यक्ष भोजराज भट्टले जानकारी गराएका छन्।

हस्तलिखित राहदानी मात्र भएका, राहदानीको म्याद सकिएर नयाँ एमआरपी बनाउन नपाएका, समयाभाव र आर्थिक कारणले वासिंगटन डिसीसम्म जान असमर्थ नेपालीहरुको लागि स्थानीय स्तरमा हु्न लागेको राजदूतावासको सेवाले सकारात्मक सन्देश दिएको अध्यक्ष भट्टले बताए। राहदानी लगाएतका दूतावासले दिने सेवाका अतिरिक्त शनिवार सेप्टेम्वर १४ मा सेडारपार्क स्थित रिक्रिएसन सेन्टरमा राजदूत डा.कार्कीसंग अन्तरक्रिया र भेटघाट कार्यक्रम समेत आयोजना गरिएको आयोजकहरुले बताएका छन्।

महामहिम राजदूत डा. अर्जुन कार्कीको समेत उपस्थितिमा हुन लागेको यस्तो स्याटलाइट प्रकृतिको सेवाले नेपाली समुदाय र राजदूतावासबीचको समन्वय र सहकार्यलाई समेत सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएका छन्- भर्खरै मात्र नेपाल सरकार पर्यटन बोर्डका लागि अवैतनिक पर्यटन दूत नियुक्त जगदीश काफ्लेले।

“नेपालीहरुको ठूलो घनत्व रहेको लस एन्जलस, डालास, स्यानफ्रान्सिस्को लगाएतका अमेरिकी शहरहरुमा नेपाली दूतावासको कन्सुलर कार्यालय नै स्थापना गर्न नेपाली समुदायका तर्फबाट बारम्बार अनुरोध हुँदै आएको थियो। यसै परिप्रेक्ष्यमा ‘स्याटलाइट सर्भिस’ कै रुपमा भएपनि स्थानीय स्तरमै आएर सेवा दिन नेपाली दूतावासले देखाएको अग्रसरतालाई स्थानीय नेपाली समुदायका अगुवाहरुले निकै प्रशंसा गरेका छन्।

स्थायी प्रकृतिको सेवा दिन तत्काल संभव नभएमा घुम्ति सेवाका रुपमा राजदूतावासले उपलब्ध गराउने सेवा स्थानीय स्तरमा दिने तर्फ आवश्यक व्यवस्थाका लागि राजदूत डा. कार्की सहित वर्तमान र पूर्व परराष्ट्रमन्त्रीहरुलाई समेत नेपाली समुदायका तर्फबाट अनुरोध हुँदै आएको थियो।

ह्युस्टनमा राजदूत डा. कार्कीसंग अन्तरक्रिया

यसैबीच नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को आयोजनामा यही सेप्टेम्वर १३ मा साँझ ७ देखि ८ बजेसम्म एनएएचको कार्यालय ह्युस्टनमा महामहिम राजदूत डा. अर्जुन कार्कीसंग एक सामुदायिक अन्तरक्रिया कार्यक्रम हुन गइरहेको एनएएचले जनाएको छ। कार्यक्रममा नेपाली दूतावासले दिने सेवा, राजदूतावास र स्थानीय नेपाली संघसंस्थाहरुबीचको समन्वयका बारेमा समुदायको चासोका बारेमा महामहिम राजदूतसंग अन्तरक्रिया गरिने एजेण्डा तय भएको एनएएचका अध्यक्ष डा. विष्णु नेपालले जानकारी गराएका छन्।


२५ भाद्र २०७६, बुधबार ०४:३० मा प्रकाशित