ह्युस्टनमा राजदूत डा. कार्कीसंग अन्तरक्रिया

दूरबिन नेपाल     २५ भाद्र २०७६, बुधबार ०४:३२    

टेक्सस, सेप्टेम्वर १०/ नेपाली राजदूतावास वाशिंगटन डिसीसंगको सहकार्य र ग्रेटर अस्टिन नेपाली सोसाइटी (जिएएनएस-ग्यान्स)को अग्रसरतामा अस्टिनमा हुन लागिरहेको नेपाली राहदानी लगाएतका दूतावासबाट प्रदान हुने सेवाका लागि आयोजित दुईदिने घुम्ति सेवा (स्याटलाइट सर्भिस) शुरुवातका लागि महामहिम नेपाली राजदूत डा. अर्जुन कार्की समेत सहभागी हुने आयोजकहरुले बताएका छन्। सोही सन्दर्भमा टेक्सस भ्रमणमा रहँदा महामहिम राजदूतले ह्युस्टनमा नेपाली समुदायसंग समेत भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको जानकारी एनएएचका पदाधिकारीहरुले जनाएका छन्।

नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को आयोजनामा यही सेप्टेम्वर १३ मा साँझ ७ देखि ८ बजेसम्म एनएएचको कार्यालय ह्युस्टनमा महामहिम राजदूत डा. कार्कीसंग एक सामुदायिक अन्तरक्रिया कार्यक्रम हुन गइरहेको एनएएचले जनाएको छ। कार्यक्रममा नेपाली दूतावासले दिने सेवा, राजदूतावास र स्थानीय नेपाली संघसंस्थाहरुबीचको समन्वयका बारेमा समुदायको चासोका बारेमा महामहिम राजदूतसंग अन्तरक्रिया गरिने एजेण्डा तय भएको एनएएचका अध्यक्ष डा. विष्णु नेपालले जानकारी गराएका छन्।


२५ भाद्र २०७६, बुधबार ०४:३२ मा प्रकाशित