मैले बुझेको बीपी : अंगराज तिमिल्सिना

दूरबिन नेपाल     २५ भाद्र २०७६, बुधबार ११:२४    

 

बीपीको जन्म जयन्तीको अबसर पारेर दुई किसिमका तर्क गर्ने गरिन्छ । पहिलो, बीपीको सपना साकार पार्नु पर्छ र बीपीले भनेको बाटोमा हिड्नु पर्छ किनकी उनको दर्शन अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

 

दोश्रो, बीपीले २०१५ साल तिर देखेको सपना अहिलेको २१ सौं सताब्दीमा असान्दर्भीक भैसकेकाले त्यसको समय सापेक्ष ब्याख्या हुनु पर्छ ।

 

यसै संबन्धमा तपाईहरु सामु बीपी बारे मैले लेख्दै गरेको एउटा किताबको ‘च्याप्टर’ बाट केही कुरा ‘सेयर’ गर्न मन लाग्यो । यो लामो पोष्ट पढ्ने कोशीस गर्नेलाई अग्रीम धन्यवाद !

 

बाद र दर्शन बारे पछी चर्चा गरौंला तर एउटा ब्यक्तित्वका हिसाबले उनका अनेक कमजोरीका बाबजुद बीपी जतीको उँचाई भएको राजनीतिक ब्यक्तित्व नेपालले अर्को पाएको छैन ।

 

उनको राजनीतीक दर्शनको ज्ञान, साहित्य र लेखनमा त्यत्तिकै दख्खल, बिदेश नीती र अंग्रेजीमा निपूर्ण, राजनीतीक ब्याख्यालाई एउटा साधारण मान्छे र परिबारको दैनीक जीबनसंग जोडेर ‘मास’ लाई ‘कमाण्ड’ गर्न सक्ने उनको अद्भूत क्षमता भएका अरु राजनीतीज्ञ देखिएका छैनन नेपालमा ।

 

बीपी सफल साहित्यकार बन्नुमा धेरैले उनले जेलको समय सदुपयोग गरेको भन्ठाछ्न तर उनका तीन घुम्ति, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा जस्ता प्रख्यात उपन्यास र दोषी चस्मा र श्वेतभैरबी जस्ता कथाहरूले पुस्टी गर्दछन कि बिपी सफल साहित्यकार मात्रै होईनन, उनले राजनीती र साहित्यलाई एक आपसमा लसपस हुन दिएनन ।

 

उनको साहित्यले उनलाई काल्पनीक संसारमा लगेर मन भित्र कुण्ठित भएको भाबना र चाहनालाई उन्मुक्ती दिने अबसर दिन्थ्यो भने उनको राजनीतीक दर्शनले विश्व र नेपालको यथार्ततलाई ब्याख्या गर्न सघाउथ्यो ।

 

उनी विश्वमा साहित्य र राजनीति दुबै क्षेत्रमा दख्खल राख्ने थोरै प्रख्यात राजनेताहरुमा पर्छन। तर एउटा राजनीतिज्ञ भएर पनि बिपी कसरी सफल साहित्यकार बन्न सके त भन्ने कुरा अझ बढी रोचक छ किनकी राजनीति सम्भाबनाको कला (‘आर्ट अफ पोसिबिलिटिज्’) र साहित्यलाई अर्काको मन छुएर राजी गराउने कला (‘आर्ट अफ पर्सुएसन’) भनेर भनिन्छ।

 

यो भन्दा पनि महत्वपूर्ण कुरा के भने बिश्वका प्रख्यात राजनीतिज्ञहरूले अक्सर आफ्नो साहित्यलाई राजनीतिको सिढीमा चढ्ने माध्यमका रुपमा सदुपयोग गरेको देखिन्छ।

 

बिपी मात्रै बिरलै यस्ता नेता हुन जसले राजनीति र साहित्यलाई अलग अलग राखेर अगाडी लान सके मानौकी फ्रान्सेली भाषा र अङ्ग्रेजी दुबैमा पोख्त भएको दोभासेले फ्रान्सेली बोल्दा अङ्ग्रेजीको र अङ्ग्रेजी बोल्दा फ्रान्सेली भाषाको रत्तिभर पनि छनक नदेखाएको जस्तो किनकी उनक साहित्यमा राजनीतीक लेखन (अर्थात ‘पोलिटिकल फिक्सन’) को कुनै छनक देखिदैन ।

 

नेपालको समाज अहिले पनि खुला छैन भने ६०-७० बर्ष पहिले नै यौनको मनोबैज्ञानीक बिधा रोजेका बीपीलाई उनका उपन्यास पढ्ने समकालीन साहित्यकारहरूले या त बिपीलाई समयलाई टक्कर दिने सशक्त लेखकका रुपमा लिन्थे या त उनलाई साहित्य कम तर छाडा र उत्ताउलोपन बढी भएको लेखक भनेर आरोप लगाउथे।

 

कर्नेलको घोडा भन्ने कथामा ४५ बर्षको कर्नेलसँग बिहे गरेकी १९ बर्षीया केटी कर्नेलबाट सन्तुष्ट नभएर कर्नेलको घोडासँग आकर्षीत भएको मनोबैज्ञानीक बिश्लेषणले बीपीलाई औ समकालिन साहित्यकार भन्दा भिन्न रुपले उभ्याउछ ।

 

उसो त अश्लिलता र कला बिचको भिन्नताका बारेमा अमेरिकी सर्बोच्च अदालतका न्यायाधीश पोटर स्टेवार्डले दिएको फैसलाको निम्न अङ्श विश्वभरी प्रख्यात छ, “जब मैले देख्छु, त्यतीखेर थाहा पाउछु।”

 

यौनको सामाजिक बहस लाई निषेध गरिएको हाम्रो समाजमा कथाको बिषय बस्तु र शब्दको संयोजनले सजिलै धेरैलाई स्विकार्य हुने कथा वा उपन्यास जन्माउन सक्ने खुबी राख्ने बिपी बास्तबमै साहित्यमा अराजकबादी नभएर प्रगतिशील हुन भन्नु बस्तुनिष्ठ बिश्लेषण ठहरिन्छ।

 

अब प्रश्न उठ्छ – बिपीले किन यौन मनोबैज्ञानीक बिधा नै रोजे त ? एउटा कारण बिपीले नेपाली साहित्यमा नयाँ बिधा प्रबेश गराउने अठोट गर्नु। दोर्सो, आफू भित्र दबिएर रहेको उत्कण्ठा वा द्वन्दात्मक मनोब्रितीलाई कथा र उपन्यासमा ढालेर मन हल्का पार्नु।

 

बिपीको जीबनी लेख्ने भोला चटर्जीलाई बिपीले भनेका छन, “मान्छे भित्र दुई प्रमुख द्वन्दहरू चलिरहेका हुन्छन्। एउटा बिद्रोही पाटो अर्को सामाजिक पाटो।” तसर्थ, बिपीले सामाजीक पाटोलाई राजनीति र बिद्रोही पाटोलाई साहित्यमा प्रयोग गरेका देखिन्छन्।

 

तेस्रो,उनले पढेका भारतीय र अन्तर्राष्ट्रीय साहित्यको प्रभाबका कारण बिपीले आफ्नो साहित्यमा मनोबैज्ञानिक विश्लेषण प्रयोग गरेका देखिन्छन। रुसी अन्टोन चेकोभ, भारतीय प्रेम चन्द्, फ्रान्सेली भिक्टोर ह्युगो र अस्ट्रियन सिग्मण्ड आदिले बिपीको साहित्यिक लेखाइलाई प्रभाब पारेको देखिन्छन् ।

 

बाद र दर्शन बारे चर्चा गर्दा कुनै पनि बाद अन्तिम सत्य हुँदैन भने हरेक बाद समय अनुसार गतिशील हुन्छ । दुनीयाँ “रोबोटिक साइन्स, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स” आदी को युगमा प्रबेश गरेको भए पनि खुशी, सुख र लामो आयु आदी कुराको बहसमा भौतीकबाद र अध्यात्मबाद बिच अहिले पनि द्वन्द चलिरहेको छ । “स्पृच्युअल हेल्थ्’, “मेन्टल हेल्थ्’ र फीजिकल् हेल्थ्’ तीन वटैको संयोजन नभए मान्छे को स्वास्थ्य सन्तुलित नहुने भने धेरै पैसा र भौतीक साधन भएर मात्रै सुख प्राप्त नहुने कुराको यहसास जापान लगायतका देशमा बढ्दै गएको आत्म-हत्याका घटनाले देखाउछन ।

 

मार्क्सबाद लाई सबै बादको जननी मानिन्छ तर पूँजीबाद नभएको भए मार्क्सबाद जन्मिने थिएन र त्यही पूंजीबादले कालान्तरमा मार्सबाद एउटा परिकल्पना मात्र हो भन्ने साबित गरिदियो। तर मार्क्सबाद बिश्वमा हजारौं बर्षसम्म पनि ठूलो दर्शनका रुपमा रहिरहने छ ।

 

तर सान्दर्भिकताको कुरा गर्दा दुनिँयामा पूर्ण साम्यबाद वा पूर्ण पूँजीबादको कल्पना सम्म गर्न सकिदैन । यी दुबै काल्पनीक र प्राप्तै गर्न नसकिने (‘युटोपिया’) बाद हुन । त्यही भएर बीपीले यी दुई बिचको समाजबादको बाटो रोज्नु पर्छ भन्ने कुरा अहिले पनि सान्दर्भिक हुन्छ ।

 

नीजी क्षेत्र र बजार बिनाको अर्थतन्त्र (पूर्ण राज्यले चलाउने अर्थतन्त्र) वा पूर्ण रुपमा निजी क्षेत्र वा बजारले चलाउने अर्थतन्त्र दुबै मानब बिकासका लागी तगाह्रो हुन । पूँजीबादी देशहरुमा बिद्दमान गरीबी, असमानता र खस्किदो पर्याबरण तथा पूर्ण राज्य केन्दृत पूर्ब सोभिय संघको अर्थतन्त्रको असफलताले राज्य पनि फेल हुने र बजार पनि फेल हुने भएकाले बिचको बाटो आबश्यक भएको देखिन्छ ।

 

अर्को कुरा, राष्ट्रीयता भूगोल नभएर भाबना हो भन्ने बीपीको दर्शन सायद हाम्रो संघियतालाई ब्याख्या गर्न सघाउछ भने बिकास गर्दा सधै मानिसलाई केन्द्र बिन्दुमा राख्नु पर्छ भन्ने बीपीको दर्शन अहिले संयुक्त राष्ट्र संघ र अरु संस्थाले अबलम्बन गरेको “मानब बिकास” को बादसंग मेल खान्छ ।

 

बीपीको राजनीतिक चिन्तन र सिद्दान्तका बारेमा चर्चा गर्दा बीपीलाई के मन पर्थ्यो वा के मन पर्दैनथ्यो भन्ने चर्चा गर्नु सान्दर्भिक ठहरिन्छ।

 

बीपी “कम्युनिजम” (साम्यबाद) का जननी मानिने मार्क्स र लेनिनदेखि अति प्रभाबित थिए भने उनका धेरै नजिकका साथीहरु भारतीय बामपन्थी आन्दोलनमा थिए तर उनलाई नेपाली कम्युनिष्ठहरु भने खासै मन पर्दैनथे।

 

बीपी माहात्मा गान्धी देखी धेरै प्रभाबीत थिए, तर गान्धीको केबल गाउलाई मात्रै केन्द्रीत गर्ने र पूँजी बिकासलाई खासै नहेर्ने नीतिसंग बीपीको सहमति थिएन।

 

धेरैले बीपीले त्यो बेला भनेको “एउटा गाई, एउटा घर, केटाकेटीलाई स्कूल आदीको कुरा” पुरानो भइसक्यो भन्छन । पक्कै पनी बीपी अहिले जीबितै भए सबैको आबास, सर्ब-सुलभ र गुण-स्तरीय शीक्षा र स्वास्थ्य, बिदेशमा न गएर स्वदेश मै रोजगारी, नेपालको कृषी क्षेत्रको आधुनिकरण र बजार ब्यबस्थापन अनि भारतका मोदीले भन्ने गरेको “हाइवे, रेलवे, बिजुली, र सूचना प्रबिधीको ‘कनेक्टिभिटी” को कुरा बीपीले पहिले नै गरिसकेका हुन्थे । बीपीलाई नेपालको गरीब र धनी, पूर्ब र पश्चीम अनी कथित उच्च र निम्न जातको असमानताले समेत घोज्थ्यो होला ।

अन्त्यमा, बीपी प्रती श्रद्दा सुमन !

 

(तिमिल्सिनाको फेसबुकबाट )


२५ भाद्र २०७६, बुधबार ११:२४ मा प्रकाशित