एनसीसी धरापमा छ, दुर्घटनाबाट जोगिए आफै उभिनसक्ने बनाउन सकिन्छ

राजेश थापा     ३० भाद्र २०७६, सोमबार २०:१९    

एनसीसी धरापमा छ, दुर्घटनाबाट जोगिए आफै उभिनसक्ने बनाउन  सकिन्छ

राजेश थापा

            एउटा विडम्बना नै भन्नु पर्छ जब सबैलाई आफ्नो महसुस हुने गरी एनसीसीलाई स्वायत्त र साझा संस्थाको रूपमा विकास गर्ने प्रसङ्ग चल्छ तब नियन्त्रणबाट बाहिर जान नदिन फ्याट्ट एम ओ यू का कागजी खोस्टाहरू बजारमा छ्यालब्याल पारिन्छ । काम हुँदै गरेको र भइसक्नै लागेको भ्रम छरिन्छ । मानौँ कुनै समस्या नै छैन । अन्तरबिरोध होइन भिन्न सोच, चिन्तन र भावनात्मक आवेगहरू मात्र बाहिर आएका हुन् भन्ने देखाउने प्रयास हुन्छ । यसको सिधा अर्थ हो न्यान्सको सर्वोपरिताको नाममा देखाइएको सङ्कीर्णता । न्यान्सको सर्वोच्चतालाई अपदस्त गर्न खोजेको भ्रममा उनीहरू छन् ।

यही दिग्भ्रमित भएको नेतृत्व र त्यसको वरपर बसेर लयो हाल्ने सानो जमात नै एनसीसीलाई सही मार्गमा लान नदिने कारक पक्ष हो ।अधीनमा हैन, सबै सँगै समकक्षमा बसेर सामुदायिक भवनको पवित्र कार्यलाई प्रस्ट खाका सहित अगाडि बढाउनु पर्छ भन्ने पक्षसँग तर्सिनुको कारण सहजै बुझ्न सकिन्छ । आफ्नो हालीमुहालीका लागि रचिएको चक्रव्यूहको भेदन होला भन्ने डरले नै एम ओ यू को प्रपञ्च भइरहेको छ ।

केही तथ्यहरूमा मन्थन गरौँ 

१      साझा सामुदायिक केन्द्र बनाउने भनेर प्रत्येक संस्थाबाट २५०० डलर संस्थागत फी समेत उठाइयो एनसीसीका लागि । तर राखियो न्यान्समा । क्रान्तिकारीहरूकै शब्द भण्डारबाट सापट लिएर भन्ने हो भने ’खसीको टाउको राखेर कुकुरको मासु बेच्ने काम’ भयो । चलन चल्तीको शब्दमा भन्ने हो भने ‘दिउसै रात पार्ने काम’ भयो ।

२        सहयोग सङ्कलन गर्दा १००० डलर बराबर एक भोट भन्दै सहयोग सँगै हिस्सेदारी र मतदानको सुनिश्चितताको पनि निर्क्योल गरिएको थियो । बस्तुत त्यसलाई व्यवहारिक रूपमा उतार्न संस्था अर्थात् न्यान्स स्थापनाको उद्देश्य अनुरूपको विधान, मुनाफारहित संस्थाको अर्थ सङ्कलन, परिचालन विधि र निर्वाचन प्रक्रियामा समायोजन गरेर अमेरिकाको सरोकारवाला निकायमा बुझाइएको छ की छैन भन्ने पनि सबै सदस्यलाई जानकारी गराइनु पर्छ । यी पक्षमा सबै सदस्यलाई सहजै बुझ्ने गरी जानकारी दिइनु पर्दछ । आपसमा बाझिने र नमिल्ने गरी जबरजस्त ढङ्गले काम गरेर यथार्थ लुकाउनु र जानकारी नदिनु भनेको नेतृत्वले संस्था भित्र रहँदा गर्ने अपराध हो ।

३      विधिवत् प्रक्रियाबाटै एनसीसी चलिरहेको छ भनेर देखाउने मात्र हो भने पनि निर्वाचनका लागि दर्ता शुल्क तिरेर आएका पदाधिकारी र सदस्यहरूलाई एनसीसीका नाममा भएका सबै कामको पूर्ण विवरणको दस्ताबेज र अधिकार हस्तान्तरण हुनुपर्दछ । त्यस्तो गरिएको छैन । अब आफै भन्नुस नाम मात्रको उपस्थितिमा अधिकार बिहन बनाएको एन सी सी को नयाँ कार्यसमितिले कसरी सामुदायिक भवन निर्माणलाई गति दिन सक्छ ? सबैको कामना र भनाइ यति मात्र हो काम गर्न कै लागि आएको समितिलाई हात खुट्टा नबाँधि काम गर्न देऊ ।

४         मुखले सबैको साझा संस्था बनाउने भन्दै व्यवहारमा एउटा संस्थाको अधीनमा राखेर एनसीसीको हुर्मत लिनेहरूले त्यस भित्र मन्दिर र गुम्बा जस्तो आस्था र विश्वासको धरोहरलाई स्थापित गर्न सक्छ भनेर कसले पो विश्वास गर्ला ? सामुदायिक भवनसँगै पशुपतिनाथ र बुद्धको मन्दिर बन्छ भनेर सहयोग गरेकाहरूको भावनामा खेलवाड कतिदिन गर्ने ? धर्म र संस्कृति विरोधीको षड्यन्त्रमा त यो काम भइरहेको छैन भन्ने प्रश्न पनि उब्जन्छ ।

५         आस्था अनुरूप काम भए कबुल गरेका दाताहरूले सहजै पैसा दिन्छन् । तर काम होइन इज्जत र सामाजिक प्रतिष्ठाको सवालमा धम्किपुर्ण मोलमोलाइ गर्दै अर्थ सङ्कलनको काम भइरहेको छ । दातालाई डुप्लिकेट बिल दिइन्छ । जुन बिल तपाइले आफ्नो ट्याक्स फाइल गर्दा खर्चमा देखाउन सक्नु हुन्न । दुखका साथ भन्नु पर्छ संस्थाको आर्थिक पारदर्शिता छैन । अव तपाईँ आफै भन्नुस नक्कली आवरणमा गरिएका कामबाट मेघा प्रोजेक्टलाई मूर्त रूप दिन सकिन्छ ?

६          आजको मितिसम्म एन सी सी नामको कुनै संस्था अस्तित्वमा छैन । यस क्षेत्रमा नेपाली समुदायले नै दर्ता गरेर चलाएको एनसीसी भेट्न सकिँदैन । न्यान्सको प्रोजेक्टको रूपमा चलाइएको प्रोपोगण्ड मात्र हो ।

७          हामी कानुनी राज्य भएको देश अमेरिकामा छौ । बाहुबल, लहड र रहरले मात्र काम गर्न सकिँदैन । एउटा सानो व्यवसाय गर्न त लाइसेन्स अर्थात् अनुमति पत्र लिनु पर्छ । त्यसमा पनि प्रस्ट किटान गरेर व्यवसायको अनुमति दिइन्छ । जस्तो की रेस्टुरेन्ट, मदिरा, सिगरेटको लागी छुट्टा छुटै अनुमति पत्र लिनु पर्छ । सिगरेटको मात्र अनुमति लिएर मदिरा राख्न पाईदैन । मानिसको आस्था र भावनासँग गाँसिएको संस्थाको हकमा त यो झनै प्रस्ट हुनु पर्दछ । जुन उद्देश्य लिएर संस्था खोलिन्छ सो भन्दा एक इन्च पनि तल माथि गर्न पाईदैन । त्यस्तो भेटिएमा कानुनी दण्डको भागेदारी हुनु पर्दछ ।

८           यहाँको एनसीसी प्रोजेक्ट यस्तै धरापमा छ । दुर्घटनाबाट जोगिए आफै उभिनसक्ने बनाउनु सकिन्छ । यसलाई जोगाउने एक मात्र विकल्प हो संस्था दर्ता गरेर प्रक्रियागत ढङ्गले सञ्चालन गर्नु । यसमा छलफलका नाममा छलछाम भइरहेका छन् । एम ओ यू का नाममा यसको दर्ता प्रक्रियालाई लम्ब्याउनु वा रोक्नु भनेको दुर्घटनालाई पर्खनु मात्र हो ।

एन सी सी बन्दैन की ? बन्छ ?

स्पष्ट छ एन सी सी बन्छ । दुई तरिकाबाट बन्न सक्छ । त्यो पनि अबको एक वर्ष भित्रै । सबैको भावना र निर्माणको उद्देश्यलाई मिलाएर विधिवत् ढङ्गले अधिकार सम्पन्न हुने गरी एनसीसी दर्ता गर्ने । प्रस्तावनामै श्री पशुपतिनाथ तथा बुद्ध भगवानको मन्दिर सहितको सामुदायिक भवन बन्नेछ भन्ने उल्लेख गर्ने ।

१००० डलर दिने सबैलाई कार्यसमिति चयनमा मताधिकार सहितको हिस्सेदारी प्रदान गर्ने । प्रत्येक दातालाई प्रतिहजार एक मतदानको अधिकार दिने व्यवस्था मिलाउने । यिनै सदस्य बिचबाट कार्यसमिति चयन गर्ने । संस्थाको आफ्नै खाता खोल्ने । कुनै संस्था तथा व्यक्तिले प्रभावमा हल्लाउन नसक्ने बनाउने । साझेदार सस्थाहरु र चन्दा दातालाई सम्झौता अनुसार योगदानको आधारमा समान अधिकार सुविधा दिने व्यवस्था गरिनु पर्छ ।

सानफ्रानसिस्को बे एरिया आसपासमा लगभग २५ हजारको हाराहारीमा नेपाली भएको अनुमान छ । यो समुदायलाई सामुदायिक भवन निर्माणको अभियानमा एकताबद्ध गर्दै शक्तिमा बदल्ने । पेसा, वर्ग र समूहको पहिचान गरी उद्देश्य प्राप्तिमा जोड्ने । इमान्दारी पूर्वक यो काम हुनसाथ सानफ्रानसिस्को बे एरियावासीको अधुरो सपनाले साकार रूप लिने छ । पशुपतिनाथ लगायतका देवीदेवताको भजन, कीर्तन, आरती सुन्दै बुद्धको शान्तिको धुनमा हुर्किएको यो नेपाली पुस्तामा त्यसका लागि तन, मन र धनले समर्पित हुने वातावरण बनाउनसाथ अपेक्षित सफलता हासिल गर्न सकिन्छ ।


३० भाद्र २०७६, सोमबार २०:१९ मा प्रकाशित