चिलिमा जारी कराते सिरिजमा सुनिल दोस्रो चरणमा नै रोकिए 

दूरबिन नेपाल     ५ आश्विन २०७६, आईतवार १४:३१    

 

अमेरिका, सेप्टेम्वर २२ । चिलिको स्यान्टियागोकामा जारी डब्लु के एफ कराते वान सिरिज ए सुनिल लामा दोस्रो चरणमा रोकिएका छन् ।  विश्व कराते महास‌ंघद्वारा मान्यता प्राप्त विश्व च्याम्पियन सरहको प्रतियोगितामा सुनिल दोस्रो चरणमा साइप्रसका खेलाडी  सँग पराजित भए । पहिलो चरणमा वाई पाएका सुनिलले दोस्रो चरणको नजिता ६-०ले सुम्पिएका थिए ।

 

सुनिल ७५ केजी तौल समुहमा भीडेका थिए । तर उनी ६७ केजी तौल समुहमा भिड्नका लागि चिलि पुगेका थिए । ‘खेल शुरु हुनै लाग्दा मेरो तौल बढी देखियो, तौल घटाउनका लागि आधा घण्टाको समय दिएको थियो तर त्यो सम्भव नहुने भए पछि ७५ केजीमा भिड्न तयार भए ।’ टेलिफोन मार्फत दूरबिन नेपालको सम्पर्कमा आएका सुनिलले भने ।

 

आफु सँग खेलेको खेलाडी नयाँ भए पनि उचाईका कारण मार खाएको सुनिलको अनुभव छ । ‘मेरो प्रतिस्पर्धी त नयाँ नै हो, त्यस्तो चर्चित पनि होइन, मेरै र्याङ्ककै हो, तर उसलाई हाईट एड्भान्टेज भयो ।’

 

सुनिलले खेल हारे पनि आत्मबल बढेको बताए । ‘ चार बर्ष पछि यो लेवलको प्रतिस्पर्धामा फर्किएको हुँ, ग्याप धेरै भयो खेल्न सक्दिन कि भन्ने डर थियो तर अब त्यो डर हटेको छ ।’  उनले अब जनवरीमा हुने यसै प्रतियोगिमा फेरि भाग लिने बताए । सन् २०१४ मा जर्मनमा भएको विश्व च्याम्पियनसिप खेलेका सुनिन पछिल्लो केही बर्ष देखि अमेरिकामा नै बस्दै आएका छन् ।

 

सुनिल दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता हुन् । सन् २०११ मा बंगलादेशमा भएको सागमा सुनिलले स्वर्ण पदक जितेका थिए ।

 


५ आश्विन २०७६, आईतवार १४:३१ मा प्रकाशित