नागढुङ्गा सुरुङमार्गका लागि जापान सँग सम्झौता, ४२ महिनामा निर्माण पुरा गर्ने

दूरबिन नेपाल     ६ आश्विन २०७६, सोमबार १३:५३    

 काठमाडौँ, ६ असोज : नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आज सम्झौता भएको छ । जापानको हाजमा आङ्दो कर्पाेरेशनले ४२ महिनामा सो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

 

मुआब्जा रकमसमेत गरेर सो सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ । सडक विभागको विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार सो रकममध्ये नेपाल सरकारले रु छ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म रु चार अर्ब मुआब्जावापतको रकम बाँडिसकिएको छ ।

 

सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडक समेत निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फ्लाइ ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ ।”

 

जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उहाँले जानकारी दिनुभयो । अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले माइतीघर–सूर्यविनायक सडक निर्माण गरेको थियो ।
रासस


६ आश्विन २०७६, सोमबार १३:५३ मा प्रकाशित